सरकारले राजस्व चुहावटमा कडाइ गर्दै गएको छ। राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी, झुटा तथा नक्कली मूल्य अभिवृद्धिकर बिल प्रयोग गरी राजस्व छली गर्नेविरुद्ध पौने अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। पाँचवटा मुद्दामा विभिन्न फर्म र व्यक्तिविरुद्ध ७७ करोड चार लाख १३ हजार बिगो कामय गरी छलीमा संलग्नबाट बिगो असुल उपर र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको हो।
झुटा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजस्व छल्ने न्यू कोइराला ब्रदर्स इन्टरप्राइजेजविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा एक करोड ७० लाख १९ हजार आठ सय बिगो कायम गरी बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। बिगो असुलउपर गराई जरिवाना र कैद सजाय माग दाबी गरेको विभागले जनाएको छ। न्यू कोइरालाले वास्तविक मालवस्तु तथा सेवा खरिद नगरी झुटा तथा नकक्ली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरेको अनुसन्धानमा भेटिएको हो।
सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र आयकर छलेको पाइएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम मुद्दा दायर गरिएको विभागले जनाएको छ। उक्त कम्पनीले मूल्य अभिवृद्धिकरतर्फ ५१ लाख दुई हजार र आयकरतर्फ एक करोड १९ लाख राजस्व चुहावट गरेको भेटिएको छ।
काठमाडौं, महाबौद्धको समर ट्रेडर्सविरुद्ध चार करोड ५८ लाख बिगो दाबी गर्दै विभागले मुद्दा दायर गरेको छ। समरले आयात गरेका सबै वस्तुको बिक्री नदेखाएको, केही सामान आयातभन्दा बढी बिक्री गरेको देखिएको अनुसन्धानमा भेटिएको छ। उक्त कम्पनीको दर्ता र कारोबार गर्ने व्यक्ति फरकफरक भएको, फर्म दर्ता भएको ठेगानामा फर्म नराखी भन्सार नाकाबाटै कारोबार गरी राजस्व चुहावट गरेको विभागले जनाएको छ। समरले मूल्य अभिवृद्धिकरतर्फ ७४ लाख ७० हजार रुपैयाँ, आयकरतर्फ ९६ लाख ७५ हजार, भन्सार चोरी पैठारी गरी बिक्री गरेको भन्सारतर्फ दुई करोड ८६ लाख ५७ हजार रुपैयाँ गरी चार करोड ५८ लाख राजस्व चुहावट गरेको भेटिएको छ। विभागले समर ट्रेडर्सका सञ्चालक गौतम सर्राफ र बैंक खाता संचालन गर्ने राधाकृण्ण प्रसाद तुराहालाई बिगो रकम जरिवाना र ब्याजसमेत असुलउपर गर्न माग दाबी गरिएको छ।
त्यसैगरी, विदेशबाट मोबाइल लगायत इलेक्ट्रोनिक्स सामान चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ को मयूर मालाकार सहित ६ जनाविरुद्ध ४३ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ। विभागले बिगो असुलउपर गरी जरिवाना र कैद सजायको मागदाबी गरेको छ। मालाकारको समूहले अवैधानिक कारोबार गर्दै मिलेमतोमा राजस्व छली गर्ने उद्देश्यले प्रचलित भन्सार, मूल्य अभिवृद्धिकर तथा आयकर छली गरेको भेटिएको छ।
विभागका अनुसार काठमाडौं महानगरपालिका वडा नं ४ को जिमी ग्रुप प्रालिले झुटा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजस्व छलेको छ। जिमीविरुद्ध १८ करोड ३३ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले बिगो असुल गरी जरिवाना र कैद सजायसमेत मागदाबी गरेको छ। जिमीले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धिकर बिल र आयकर समेत छलेको पाइएको छ। उसले मूल्य अभिवृद्धिकरतर्फ पाँच करोड ९७ लाख, आयकरतर्फ १० करोड ७९ लाख र लाभांश करतर्फ एक करोड ५६ लाख राजस्व चुहावट गरेको भेटिएको हो।
त्यसैगरी, नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजस्व छल्ने तीन कम्पनीविरुद्ध नौ करोड २३ लाख बिगो असुल गरी जरिवाना र कैद मागदाबी गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ। ललितपुर महानगरपालिका वडा नम्बर ३ को न्यू क्रियसन इम्पेक्स प्रालि, बंगलामुखी ट्रेड एन्ड सप्लाई र काठमाडौं महानगरपालिका वडा नं. २८ को बिएस ट्रेड इन्टरनेसनलविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर भएको विभागले जनाएको छ।
विभागले अघिल्लो साता राजस्व छली, सुन तस्करी, विदेशी विनिमय अपचलन गरेको आरोपमा साढे ४६ करोड रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। यो साता नै एक अर्ब २३ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले राजस्व चुहावट, चोरी पैठारी, विदेशी मुद्रा तथा हुन्डी कसुरमा संलग्नलाई अनुसन्धान गर्दै आएको छ। अधिकांश मुद्दा राजस्व छली र भन्सार चुहावटका छन्।
प्रकाशित: २५ असार २०७७ ०५:३८ बिहीबार