५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

भक्तपुरको बजेट एक अर्ब ८२ करोड

भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब ८२ करोड ४० लाखको बजेट पेश गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको सातौं नगरसभा बैठकमा नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी उक्त रकम बराबरको बजेट पेश गरेको हो ।  

विनियोजित बजेटको चालु खर्चतर्फ ३९ करोड ८९ लाख ७६ हजार रुपैयाँ र पुँजीगततर्फ ७९ करोड ७३ लाख ११ हजार विनियोजन गरेको छ । कोभिड १९ रोगको महामारीको विषम परिस्थितिका कारण यो वर्ष ठूलो आकारको बजेट खर्च हुने र बहुवर्षीय योजनाहरूभन्दा एकै वर्षमा सम्पन्न हुने र छिटो प्रतिफल प्राप्त गर्न सकिने नयाँ योजनाहरूलाई प्राथमिकता क्रममा राखिएको नगरपालिकाको बजेट वक्तव्यमा उल्लेख छ । बजेट वक्तव्यमा नगरपालिकाका जनप्रतिनिधिहरूले यो आर्थिक वर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने र देशभित्रका विभिन्न जिल्लामा भ्रमण गरिँदाको भ्रमण भत्ता तथा समितिको बैठक भत्ता आधाआधा घटाउने उल्लेख छ ।  

साथै नपामा कार्यरत कर्मचारीहरूलाई चालू आ.व.सम्म दिइँदै आएको खाजा भत्ता र पोशाक भत्ताबापतको रकम वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गरी नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नपा एकाइ समितिकोतर्फबाट यो वर्ष नलिने उल्लेख छ ।

वडास्तरका योजनाहरू सञ्चालन गर्न विगत वर्षझैं यो वर्ष पनि  ५० लाखका दरले जम्मा पाँच करोड रुपैयाँ र सडक बोर्ड अन्तर्गतका योजनाहरू सञ्चालन गर्न  एक करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै नगरपालिकाले सञ्चालन गर्ने ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्टुडियो निर्माणको लागि  ५० लाख रुपैयाँ, खानेपानी फिल्ट्रेसन तथा पाइप सुधार कार्य, खेला तथा घाट सुधार, पर्ती जग्गा संरक्षण तथा सीमांकन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययनको लागि एक करोड ५४ लाख २१ हजार रुपैयाँ र भक्तपुरको कला संस्कृति, इतिहासलगायतका विषयमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसीपसँगै अध्ययन अनुसन्धानको लागि अनुदान र विश्वविद्यालय तहमा इतिहास, भूगोल, नेपालभाषा, संस्कृति पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको  व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

भक्तपुर नगरपालिकाले शैक्षिक ऋण वितरणको लागि तीन करोड, पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा र काठमा लाग्ने खर्च र झिंगटी छाना निर्माणमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत अनुदान दिने कार्यलाई निरन्तरता दिएको छ । विनियोजित बजेटमा शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको २०.९० प्रतिशत छ्ट्याएको छ । 

त्यस्तै स्वास्थ्य क्षेत्रमा ७.६९ प्रतिशत, सम्पदासंरक्षण तथा विकास निर्माणमा २३.१५ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.५० प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १३.५७ प्रतिशत, युवा तथा खेलकुदको क्षेत्रमा १.८४ प्रतिशत, कृषि क्षेत्रमा ०.४५ प्रतिशत र खानेपानी क्षेत्रमा ०.९८ प्रतिशत विनियोजन गरिएको छ । 

साथै नगरभित्रका सामुदायिक विद्यालयहरूमा बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को कार्य मूल्यांकन गरी प्रति व्यक्ति प्रति महिना रु.चार हजारका दरले तथा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत पूर्व प्रावि तहका विद्यार्थीहरूलाई दिवा खाजाबापत अनुदान रकम नगरपालिकाले आफ्नै स्रोतबाट व्यहोर्ने बन्दोबस्त बजेटमा उल्लेख छ ।

आ.व. २०७७÷७८ को अनुमानित बजेट भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले प्रस्तुत गरकी थिइन् । नगरसभाको अर्को बैठक असार १२ गते शुक्रबार दिउँसो १ बजे गते बस्ने गरी स्थगित भएको जनाएको छ ।

प्रकाशित: १० असार २०७७ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App