७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

भारतबाट बिजुली आयात करिब ५० प्रतिशत घट्ने

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट गर्ने बिजुली आयातमा ५० प्रतिशत कमी  आउने भएको छ । पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा भारतबाट करिब १२ अर्ब रुपैयाँभन्दा धेरै रकमको बिजुली आयात गर्न नपर्ने बताउँछन् । ‘अहिले पिक आवरमा बाहेक अन्य समयमा भारतबाट बिजुली आयात गरिँदैन । त्यसैले बर्खा सुरु भएसँगै बिजुली छेलोखेलो पुग्छ । त्यसैले, बिजुली आयात घट्दै आइरहेको छ,’ उनले भने, ‘बिजुली माग घटेसँगै बिजुली आयात घटाउँदै आएका छौं ।’ नेपाल विद्युत् प्राधिकरणले भारतको विभिन्न ११ वटा  प्रसारण लाइनबाट बिजुली आयात गरिरहेको छ ।  

प्राधिकरणले गत आर्थिक वर्षमा भारत र निजी क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धकबाट ३८ अर्ब रुपैयाँको बिजुली खरिद गरेको थियो । ३८ अर्ब ९६ करोड रुपैयाँमध्ये करिब २२ अर्बको भारत र निजी क्षेत्रका जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनीबाट खरिद गरेको थियो । प्राधिकरणले चालु आर्थिक वर्षको अन्त्यसम्म ३९ अर्ब १९ करोड रुपैयाँ बराबरको बिजुली खरिद गर्ने प्रक्षेपण गरेको छ ।

प्रबन्ध निर्देशक घिसिङले अहिले १२ अर्ब भारतीय बजारबाहेक अन्य स्वदेशी जलविद्युत् प्रवद्र्धक कम्पनीबाट खरिद हुने बताए । प्राधिकरणले पिक आवरमा भारतबाट करिब एक सय मेगावाट बिजुली आयात गरिरहेको छ । प्राधिकरणका अनुसार रातको समयमा बिजुली खेर गइरहेको छ ।  

प्रबन्ध निर्देशक घिसिङले बिजुली आयात क्रमशः घटिरहेको बताए । ‘हामी बिजुलीमा विस्तारै आत्मनिर्भर हुँदैछौं, त्यसैले आयात घटिरहेको छ,’ घिसिङले भने, ‘माग घटेसँगै भारतबाट आयात हुने विद्युत्को परिणाम पनि घटेको छ ।’  

कोरोना भाइरस संक्रमणको कारणले उद्योग कलकारखाना ठप्पजस्तै रहेकोले बिजुलीको माग क्रमशः घटेको छ । यसअघि प्राधिकरणले११ वटा भारतीय अन्तरदेशीय प्रसारण लाइनबाट चार सय ५० मेगावाटसम्म बिजुली आयात गथ्र्याे ।

प्राधिकरणका अनुसार लकडाउन नहुँदासम्म दैनिक पिक आवरमा एक हजार दुई सय मेगावाट माग थियो । अहिले बिजुलीको माग घटेर अघिल्लो मंगलबार नौ सयदेखि एक हजार मेगावाटमा सीमित भएको प्राधिकरणले जनायो ।  अहिले दैनिक २० हजार मेगावाट आवर बिजुली माग छ ।

सरकारले गत आर्थिक वर्षको तुलनामा विद्युत् उत्पादन ८.३ प्रतिशतले बढेको जनाएको छ । हाल कुल जडित क्षमता १३ सय ५५ मेगावाट छ । नेपाल विद्युत् प्राधिकरण मातहत ६ सय ३५ मेगावाट र निजी क्षेत्रबाट ६ सय ६१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ ।

चालु आवको आठ महिनामा प्राधिकरण र निजी क्षेत्रबाट एक सय ९२.९ मेगावाट बिजुली उत्पादन भएको छ । चालु आर्थिक वर्षमा भारतबाट बिजुली आयात स्वात्तै घटेको छ । गत आर्थिक वर्षमा २८ सय १३ गिगावाट आवर बिजुली आयात भएकोमा चालु आवको फागुनसम्म १४ सय ६८ गिगावाट आवर आयात भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।  

आर्थिक वर्ष  बिजुली आयात  

०७१/७२                     ९ अर्ब ६६ करोड

०७२/७३                     १३ अर्ब १२ करोड

०७३/७४                     १६ अर्ब ५८ करोड

०७४/७५                     १४ अर्ब ६७ करोड

०७५/७६                     २१ अर्ब ३१ करोड

०७६/७७                     १२ अर्ब (अनुमानित प्रक्षेपण)

स्रोत :  नेपाल विद्युत् प्राधिकरण

प्रकाशित: २५ जेष्ठ २०७७ ०१:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App