७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

डेरी उद्योगमा आगलागी, ७० लाखको क्षति

इलामको देउमाई नगरपालिका–४ स्थित दुग्ध डेरी उद्योगमा भएको आगलागी नियन्त्रणको प्रयास गरिँदै । तस्बिर : सामाजिक सञ्जाल

इलाम- देउमाई नगरपालिकाको एक दुग्ध डेरी उद्योगमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। देउमाई नपा–४ स्थित आशिष बुढाथोकीले सञ्चालन गरेको उद्योगमा शनिबार दिउँसो २ बजेतिर आगलागी भएको हो।

आगोले उद्योग रहेको भवन र २ मेसिन पूर्ण रूपमा तथा २ मेसिन आंशिक क्षति भएको मंगलबारेस्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजकिशोर शाहले बताए। ‘अहिलेसम्म अनुमान गर्दा आगोले करिब ७० लाख रुपैयाँको क्षति भएको पीडितले बताएका छन्,’ इन्स्पेक्टर शाहले भने, ‘विद्युत् सर्ट भएर आगो लागेको देखिन्छ।’

स्थानीय र प्रहरीको सहयोगमा केहीबेरपछि आगो नियन्त्रणमा आएको थियो। आगो नियन्त्रणका लागि बोलाइएको इलाम नगरपालिकाको वारुणयन्त्र पुवाखोला पुग्दा आगो नियन्त्रण भइसकेको उनले जनाए। आगोले घरनजिकै टाँगिएको टेलिफोनको तारसमेत जलेर क्षति भएको छ। उद्योगमा रहेका कामदार खाजा खान निस्केका बेला आगलागी भएको प्रहरीले जनाएको छ।     
    
 

 

प्रकाशित: १ चैत्र २०७६ ११:५७ शनिबार

डेरी_उद्योग आगलागी