५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

डढुवाले आलुखेतीमा २५ प्रतिशत क्षति

कैलाली, कञ्चनपुरमा शीतलहर र हिउँदे वर्षाले आलुखेतीमा पुगेको क्षति। तस्बिरः पुष्पराज/नागरिक

कैलाली - एक महिना लामो शीतलहर र हिउँदे वर्षाले यसपालि कैलाली, कञ्चनपुरका किसानले लगाएको आलुखेतीमा क्षति पुगेको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कैलाली र कञ्चनपुरमा गरिएको आलुखेतीमा २५ प्रतिशत नोक्सानी पुगेको हो।  

आफूले गरेको आलुखेतीमा यसपालिको हिउँदे वर्षा र शीतलहरले क्षति पुगेको बताउँदै मसुरियाका बिमल जोगीले भने, ‘घरमा वर्षभरि खानका लागि दुई कट्ठा जमिनमा आलुखेती गरेको थिएँ, सबै डढुवाका कारण सखाप भयो।’ यसपालि आलु किनेर खानुपर्ने बाध्यता आइलागेको बताउँदै उनी भन्छन्, ‘डढुवाका कारण फल लाग्ने बेलामा सबै आलुका बोट कुहिए, एउटै पनि फल लागेन।’ उनीजस्तै गौरीगंगा नगरपालिका–७, मट्कौना गाउँका चन्द्रदेव जोशीले पनि दुई कट्ठा जमिनमा गरेको आलुेती सखाप भएको छ। ‘डढुवा रोगले लगाएको पूरै आलुखेती सखाप भयो,’ उनले भने, ‘रैथाने थारू जातको आलु लगाएको थिएँ, दुई कट्ठामा १० किलो आलु पनि निस्केन।’

पुस पहिलो सातासम्म आलुका बोट राम्रा र पोशिला रहे पनि लगातारको शीतलहर, बदली र वर्षाले डढुवा रोगले च्यापेर आलुखेती सखाप भएको उनले बताए। ‘आलु खन्दा साना दाना मात्रै निस्किए, त्यो पनि ७५ प्रतिशत बढी कुहिएकाले १० किलोभन्दा बढी आलु नै फलेन,’ उनले भने, ‘अब त आलु किनेरै खानुपर्ने भयो।’ डढुवाले आलुखेती मात्रै नभई टमाटर खेतीमा पनि क्षति पुगेको सोही गाउँका मानबहादुर जोगीले बताए। उनले भने, ‘लगाइएको टमाटर खेती पनि पूरै डढुवा रोगले नष्ट भयो।’   कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले डढुवाका कारण सुदूरपश्चिममा आलुको माग बढ्ने बताए। उनले भने, ‘त्यसैपनि सुदूरपश्चिममा आलुको माग बढी छ, त्यसमा पनि आलुखेतीमा २५ प्रतिशत नोक्सानी हुँदा माग बढ्ने निश्चित छ।’

प्रदेश कृषि निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीले यसपालि वर्षा र शीतलहरले गर्दा डढुवा रोगको प्रकोपले आलु र टमाटर खेतीमा क्षति पुगेको बताए। आलु र टमाटरमा लाग्ने डढुवा एक प्रकारको ढुसीजन्य कीट भएको बताउँदै उनले भने, ‘शीतलहर र पानी पर्ने समयको मौसम प्रतिकूल हुने भएकाले यो समयमा डढुवा हुने एक प्रकारको ढुसीजन्य कीट बढी सक्रिय भई नोक्सान गर्ने गर्छ।’ रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने अवस्थाको चिसो मौसममा सुषुप्त अवस्थामा रहेको ढुसी सक्रिय हुन गई डढुवाको संक्रमण देखिने गरेको बताउँदै उनले भने, ‘शीतलहर र हिउँदे वर्षातको समयमा डढुवाका रुपमा ढुसी सक्रिय हुन गई फैलने रोगले नै आलु र टमाटर खेती नष्ट हुने गर्छ।’ यस्तै समस्या यो पटक सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका किसानले लगाएको आलुखेतीमा देखा परेको उनले बताए।

आलुखेतीमा क्षति पुग्दा यसपालि आन्तरिक खपतमा कटौती हुन गई आलुमा उपभोक्ताले चर्को मूल्य ब्यहोर्नुपर्ने बाध्यता आइलाग्ने उनले बताए। ‘आलुखेती बढी हुने कैलाली र कञ्चनपुरमा किसानले क्षति बेहोर्नु परेको छ नै यसका साथै आलु आयात हुने भारतको उत्तर प्रदेशमा पनि किसानलाई क्षति पुगेकाले आलुको माग बढ्नेछ,’ उनले भने। सुदूरपश्चिम प्रदेशमा १५ हजार सात सय ४४ हेक्टर जमिनमा आलुखेती गरिँदै आएको छ। त्यसमध्ये कैलालीमा पाँच हजार ३८ हेक्टर र कञ्चनपुरमा एक हजार सात सय ५१ हेक्टर क्षेत्रफलमा गरिन्छ।

प्रकाशित: ४ फाल्गुन २०७६ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App