३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सिँचाइ कुलो भत्किँदा जग्गा बाँझियो

खोटाङ – पञ्चायतकालीन कुलो मर्मत नहुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा खेतीयोग्य जमिन बाँझिएको छ। तत्कालीन खाल्ले गाउँ पञ्चायतले २०३५ सालमा निर्माण गरेको दिखुवाखोला–सिमखर्क सिँचाइ योजना बाढी र पहिरोले अवरुद्ध हुँदा खाल्लेको खाम्खुवास्थित तीन हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझिएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा र खाल्लेकोबीचमा रहेको दिखुवा खोला मुहान भएको सिँचाइ कुलो २० वर्षअघि बाढी तथा पहिरोले बिग्रिएको हो। सुरुमा सामान्य मात्रामा बिग्रिएको कुलो तत्काल मर्मत नगर्दा प्रत्येक वर्ष क्रमशः बिग्रँदै जाँदा पूर्णरुपमा ठप्प बनेको हो। नगरपालिकाभित्रै राम्रो धान उत्पादन हुने क्षेत्रमा विस्तार गरिएको सिँचाइ योजना बिग्रेको लामो समय बित्दा समेत मर्मतमा कसैको ध्यान नपुगेको स्थानीय कृष्ण राईले गुनासो गरे।

पाँच किलोमिटर लम्बाइ रहेको कुलो अवरुद्ध भएपछि सिँचाइको अभावमा किसानले सो स्थानमा बालीनाली लगाउन छाडेका छन्। वर्षाको बाढी र पहिरोले सिँचाइ कुलोको विभिन्न खण्ड पुरेको छ। कतिपय ठाउँमा तलबाट पहिरोले तानेको छ भने ठाउँ–ठाउँको खहरे खोल्साले कुलो बगाएको छ। लामो समयसम्म मर्मत नहुँदा हाल कुलोमा रुखबिरुवा उम्रेको र कुलोको नाम निसानै हराउँदै गएको स्थानीय बताउँछन्।

कुलो मर्मतका लागि चार वर्षअघि सिँचाइ कार्यालय समक्ष माग राखेको भए पनि सुनुवाइ नभएको राईले बताए। मर्मत उपभोक्ता समिति गठन गरेर बैंकमा खाता खोल्न लगाइए पनि बजेट प्राप्त नभएको स्थानीयको गुनासो छ। बिग्रेको कुलो मर्मतका लागि पञ्चायतकालीनदेखि हालसम्मका नेतालाई गुहारे पनि सुनुवाई नभएको राईले बताए। स्थानीयले केही समयअघि प्रदेशसभा सांसद रामकुमार राईलाई पनि अवरुद्ध सडक मर्मतका लागि अनुरोध गरेका छन्।
 

प्रकाशित: २ मंसिर २०७६ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App