४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनदेखि नुनसम्म किनमेल गर्नेको भीडभाड

काठमाडौं – बहुसंख्यक नेपालीको प्रमुख चाड बडादसैं सुरु भएको छ। दसैं भित्रिएसँगै बजारमा किनमेल गर्नेको भीड छ। खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलमा किनमेल गर्नेको घुइँचो देखिन्छ।

राजधानीका मुुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीडले बाटो हिँड्नेदेखि यातायात सञ्चालनमा समेत कठिनाइ ल्याएको छ। अचेल राजधानीका सपिङ सेन्टर, मल तथा फुटपाथमा कपडा किन्ने सर्वसाधारणको तँछाडमछाड देखिन्छ।

दसैं किनमेल गर्नेको भीडमा आइतबार न्युरोडमा एउटा भिन्न दृश्य देखियो। हेर्दा ११ वर्षको जस्तो देखिने बालक आमाको हात तान्दै रोइरहेका छन्। आमा उसलाई सम्झाउने प्रयासमा छिन्। तर, उनले आमाको कुरा सुन्दै नसुनी एकोहोरो ढिपी गरिहे।

दोलखा घर भई हाल काठमाडौंको बौद्धमा श्रीमान र एक छोरासँगै बस्दै आएकी लक्ष्मी सिवाकोटी किनमेलको भीडमा छोरा सम्झाउन व्यस्त थिइन्। ‘छोरालाई एउटा ज्याकेट औधी मन प-यो तर अचाक्ली महँगो,’ लक्ष्मीले भनिन्।

ज्याकेटको मूल्यबाट आत्तिएकी आमाले अर्काे पसलमा हेरौं भन्दा छोरा रुन/कराउन थालेको रहेछ। केही समय आमाले छोरालाई त्यस्तै ज्याकेट किनिदिने बताएपछि बल्ल उनले रुन छाडे। वास्तवमा उक्त ज्याकेटको मूल्य बच्चाको उमेरभन्दा चार गुणा बढी अथवा ४२ सय रुपैयाँ रहेकाले आमाले किन्न नचाहेको जानकारी गराइन्। ‘एउटा बच्चाको लुगालाई त्यत्रो मूल्य कसरी राख्छन् व्यापारी,’ उनले भनिन् ‘त्यही लुगालाई फुटपाथमा किन्दा ६ सयदेखि आठ सय रुपैयाँमै आउँछ। व्यापारीले लुट्नसम्म लुट्न खोजेका छन्।’

बजारमा नुनदेखि सुनसम्म किनमेल गर्नेको बाक्लो चहलपहल

यो त एक प्रतिनिधि घटना मात्रै हो। बडादसैंको किनमेल गर्नेकोे चहलपहल अहिले राजधानीको मुख्य व्यापारिक केन्द्रमा निकै बढेको छ। बजारमा नुनदेखि सुनसम्म किनमेल गर्नेको बाक्लो चहलपहल देखिन्छ। राजधानीको न्युरोड, असन, खिचापोखरी, दरबारमार्ग, बानेश्वर, कोटेश्वर, लगनखेल, कलंकीलगायत क्षेत्रमा किनमेल गर्नेको भीडभाड छ।

व्यापारी पनि आम्दानीको मुख्य समय भएकाले व्यापारी पसल सिंगार्न र ग्राहकलाई समान देखाउन व्यस्त देखिन्छन्। खोटाङ घर भई हाल न्युरोडमा कपडा तथा जुत्ता पसल सञ्चालन गरिरहेका बलराम बुढाथोकी पनि व्यापारीले वर्ष दिन लगाएर यही पर्वको प्रतीक्षा गरिरहेकाले व्यापार राम्रैै भइरहेको बताउँछन्।

‘अन्य समयभन्दा बढी किनमेल हुने भएकाले अहिले प्रायः व्यापारीलाई पानी पिउने फुर्सद पनि छैन,’ उनले नागरिकसँग भने, ‘काठमाडौंलाई कर्मथलो बनाएकाहरु घर पर्कने भएकाले आफ्नो तथा आफन्तका लागि किनमेल गर्न आउनेको चलहपहल बढेको छ।’ बढ्दै गएको आफ्नो व्यवसायप्रति उनी सन्तुष्ट देखिए।

पहिलेभन्दा अहिलेका ग्राहकले आफूलाई मन परेको वस्तुमा भनेकै मूल्य खर्चन गाह्रो नमान्ने उनको बुझाइ छ। उनले भने, ‘हामीले पनि केही प्रतिशत मात्र नाफा राखेर बिक्री गर्ने भएकाले ग्राहकले मन परेको लुगामा पैसा हाल्न नडराउने अवस्था छ।’

बडादसैंको किनमेल गर्नेकोे चहलपहल अहिले राजधानीको मुख्य व्यापारिक केन्द्रमा निकै बढेको छ। बजारमा नुनदेखि सुनसम्म किनमेल गर्नेको बाक्लो चहलपहल देखिन्छ। राजधानीको न्युरोड, असन, खिचापोखरी, दरबारमार्ग, बानेश्वर, कोटेश्वर, लगनखेल, कलंकीलगायत क्षेत्रमा किनमेल गर्नेको भीडभाड छ।

केही वर्षयता लुगाकपडाको व्यापारमा कमी आएको न्युरोडमा कपडा पसल चलाएका भारतीय मूलका व्यापारी अशोक जैनको भनाइ छ। ‘अहिले महिलाले प्रयोग गर्ने कपडामा मात्रै हाम्रो व्यापार टिकिरहेको छ। प्रायः महिलाले आधुनिक पहिरन मन पराउन थालेपछि साडी, धोतीलगायत कपडाको बिक्रीमा कमी आएको छ,’ उनले भने, ‘अब साडीलगायत सामग्रीको बिक्री तिहार तथा तिज र विवाहको सिजनमा मात्रै हुन थालेको छ।’ तयारी पोसाकको बढ्दो प्रयोगले आफ्नो व्यापारमा खासै दसैं नलागेको उनले बताए।

झापा घर भई हाल माछापोखरीमा खुद्रा व्यापार गर्ने गंगा चौहान बजारमा दुई–तीन महिनायता निकै महँगी बढेको बताउँछन्। ‘अहिले व्यापारीबीच निकै प्रतिस्पर्धा बढेको छ,’ उनले भनिन्, ‘दुई सय रुपैयाँ नाफा राखेर बेच्नुपर्ने सामानलाई प्रतिशतका आधारमा बेचिरहेका छन्।’

बच्चाको स्कुल बिदा भएपछि किनमेल गर्न निस्केको तर बजारमा मूल्यभन्दा पनि समान छुट्याउनै गाह्रो भएको चापाँगाउँकी अमृता आचार्यको भनाइ छ। ‘व्यापारीले पुरानो स्टकमा रहेको कपडा पनि नयाँसँगै पसलमा राख्दा छुट्याउन नै गाह्रो छ,’ उनले भनिन्।

सपिङ सेन्टर, डिपार्टमेन्टल स्टोरलगायत स्थानमा बढी झिलिमिली पारेर आँखाले छुट्याउनै गाह्रो परेको उनको भनाइ छ। ‘बच्चाको लुगा, जुत्ता निकै महँगो छ। यो सिजनमा किनमेल गर्न पैसाको खोलो बगाउनु पर्ने भयो,’ उनले भनिन्।

त्यस्तै, असन बजारमा भेटिएकी हात्तिगौंडा घर भएकी ममता महर्जनले केही सस्तोमा खाद्यान्न सामग्री पाइन्छ कि भनेर असन आएको बताइन्। बजारमा हेर्दा जुनसुकै खाद्य सामग्रीको पनि मूल्य अकासिएको उनको भनाइ छ। ‘केही महिनायता भान्सा निकै मंहगो बनेको छ। तरकारीको भाउ अकासिएको छ। दसैं त व्यापारीलाई मात्रै लागेको हो कि,? उनले प्रश्न गरिन्। भाडामा बसेर गुजरा चलाउनेलाई निकै अप्ठेरो पर्ने उनको भनाइ छ।

विभिन्न स्थानमा टोलैपिच्छे पसल खुलेकाले पहिलेजस्तो शृंगारको पनि व्यापार राम्रो नभएको न्यू प्रकाश स्टोरका सञ्चालक प्रकाश जाजोदिमाको भनाइ छ। ‘पहिले दसैंको समयमा शृंगारको सामान निकै बिक्री हुने गरेको भए पनि अहिले ठाउँ–ठाउँमा पसल खुलेकाले व्यापार शून्य रहेको छ।’ उनले पहिले शृंगारको सामान किन्न न्युरोड आउनेहरु आफ्नै घर छेउमा सामान पाउने भएपछि आफ्ना पुराना ग्राहक आउन छाडेको उनले बताए।

त्यस्तै दसैंको अफरअन्तर्गत ४० प्रतिशत ज्यालामा छुट दिएकाले व्यापारमा हौसला थपिएको श्री रिद्धिसिद्धि ज्वेलर्स प्रालिका सञ्चालक राजनप्रसाद अधिकारीले बताए। आज सुनको मूल्य ७० हजार दुई सय रुपैयाँ रहेको भन्दै उनले घटस्थापनादेखि नै व्यापारमा रौनकता थपिएको उनको भनाइ छ।

‘नवरात्री सुरु भएदेखि फूलपातीसम्म नै व्यापारमा फुर्सद नहुने मौसम हो,’ उनले भने, ‘अहिले महिला–पुरुष दुवैका लागि सुनका गहना किनमेल हुने भए पनि महिलाका शृंगारका लागि प्रयोग हुने गरगहना बढी बिक्री भइरहेका छन्।’ अहिले झुम्का, माइली तिलहरी, सिक्री, नौगेडीको बजारमा उच्च माग रहेको उनले सुनाए।

सोही पसलमा भेटिएकी चितवन घर भई हाल काठमाडौंमा बस्ने पुष्पा दाहालले आफूले घटस्थापनाको शुभ दिन पारेर गहना किन्न आएको बताइन्। ‘गहना किन्न छोरोसँगै आएकी थिएँ। चार तोलाको झुम्का निकै मन प-यो। फेरि सधैं किन्न सकिने पनि होइन एकपटकलाई किन्ने गहनामा सानो मन गरिँन,’ उनले सुनाइन्।

विशाल बजारस्थित सिल्भर प्यालेसमा पनि चाँदीका भाँडा किन्ने ग्राहकको निकै भीड रहेको छ। दसैंमा चाहिने टिकादानी, चाँदीको थाली, करुवा, पञ्चपात्रको राम्रो व्यापार भइरहेको सञ्चालिका सनिता श्रेष्टको भनाइ छ। ‘आज चाँदी तोलामा ४५ रुपैयाँ घटेको पनि छ, अनि घटस्थापनको दिन परेकाले बिहानैदेखि पसलमा ग्राहकको निकै भीड बढेको छ,’ उनले भनिन्, ‘१० तोलादेखि मागअनुसार ६० तोलासम्मका कुरुवालगायत चाँदीका सामग्री उपलब्ध छन्।’

जीवनमा एकचोटी जोड्ने चिज भएकाले ग्राहकले दुई–चार हजार रुपैयाँको लोभ नगर्ने उनको अनुभव छ। फूलपातीसम्म निकै भीडभाड हुने भए पनि वर्षमा सबैभन्दा बढी काग तिहारको दिन बिक्री हुने पनि उनले जानकारी गराइन्। आजको दिनमा मात्रै दुई सयभन्दा बढी ग्राहकलाई करुवालगायत सामग्री बिक्री भइसकेकोे उनको भनाइ छ।

प्रकाशित: १३ आश्विन २०७६ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App