११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुइरोको प्रतिकिलोे १५ सय

इलामको जस्बिरे अर्गानिक चिया उद्योगमा प्रशोधनका लागि ट्रफमा राखिएको हरियो चियापत्तीको सुइरो। सुइरोबाट उत्पादित चिया सबैभन्दा गुणस्तरीय र महँगो मानिन्छ। तस्बिर : भीम/नागरिक

इलाम – हरियो चियापत्तीको मूल्य कतिसम्म पर्ला ? प्रतिकिलो २० रुपैयाँ, ४० रुपैयाँ, सय वा तीन सय रुपैयाँ। तर, इलाममा यस्ता पनि चिया किसान छन्, जसले हरियो चिया नै प्रतिकिलो १५ सय रुपैयाँसम्ममा बेचिरहेका छन्।

हरियो चियापत्ती सामान्यतः दुई पात एक सुइरोको हुन्छ। तर, यही पत्तीको सबैभन्दा गुणस्तरीय मानिने सुइरोमात्रैको मूल्य चाहिँ उद्योगले हजारदेखि १५ सय रुपैयाँ प्रतिकिलोसम्म दिँदैछन्। यस्तो सुइरो टिपेको ज्यालामात्रै पनि प्रतिकिलो साढे पाँच सय रुपैयाँसम्म दिइन्छ।

जिल्लाको जस्बिरेस्थित जस्बिरे अर्गानिक चिया उद्योगले हरियोपत्तीको एक सुइरोमात्रै ल्याउने किसानलाई प्रतिकिलो १५ सय रुपैयाँ दिँदैछ। उद्योगका शरद सुब्बा भन्छन्, ‘यो गुणस्तरको पत्ती सबैभन्दा उच्च मूल्यको हो, यसको तयारी चिया पनि सबैभन्दा बढी मूल्यमा बिक्छ।’ उद्योगमा अहिले दैनिक आठ सय किलोसम्म हरियोपत्ती प्रशोधन भइरहेको छ। तर, एक सुइरोमात्रै भएको यो पत्ती चाहिँ दैनिक सातदेखि आठ किलोमात्रै हुने गरेको छ। ‘करिब पाँच किलो हरियोपत्तीबाट एक किलो तयारी चिया उत्पादन हुन्छ,’ शरद भन्छन्, ‘सुइरोमात्रै भेला गरेर चिया बनाउन निकै गाह्रो छ।’

किसानले उद्योगमा सुइरो र पातसहितको हरियोपत्ती प्रशोधनका लागि ल्याउँछन्। उद्योगले त्यही पत्तीको ग्रेडिङ गरी सुइरोमात्रै छुट्ट्याउँछ। यसरी टिपेको एक किलो सुइरोको ज्याला पाँच सय रुपैयाँ दिने गरिएको छ। ‘उद्योगमा प्रशोधनका लागि ल्याइएको हरियोपत्ती किनेर फेरि सुइरो टिप्न किसानलाई नै पठाउँछौं,’ सुब्बा भन्छन्, ‘टिपेर ल्याएको सुइरो उद्योगमा प्रशोधन हुन्छ।’

चिया प्राविधिकसमेत रहेका सुब्बाका अनुसार यस्तो सुइरोबाट विशेषगरी चार प्रकारको तयारी चिया बन्छ, गोल्डेन निडल्स, गोल्डेन रिङ, ह्वाइट निडल्स र ह्वाइट रिङ। ‘यस्तो तयारी चियाको माग उत्पादन हुनुभन्दा अघिल्लो साल नै आउँछ,’ सुब्बाले भने, ‘नेपालका उद्योगमा उत्पादन हुने तयारी चियामध्ये पहिलो नम्बरको चिया यही भएकाले यसको माग बर्सेनि बढ्दो छ।’ सुइरो मात्रबाट बनेको चिया विशेषगरी चीनमा बढी खपत हुने गरेको र त्यहाँबाट बर्सेनि पु¥याउनै नसकिने गरी माग आउने गरेको सुब्बाले बताए। गत वर्ष आठ सय किलो यस्तो चिया उत्पादन गरेको उद्योगमा यो वर्ष हजार किलो पु¥याउने लक्ष्य रहेको पनि उनले जनाए।

नेपालमा साना–ठूला गरी डेढ सय हाराहारी चिया प्रशोधन उद्योग छन्। तर, सुइरोको सर्वाेत्कृष्ट गुणस्तर उत्पादन गर्ने उद्योगको संख्या चाहिँ दर्जनभन्दा कम छ। ‘सुइरोमात्रैको चियाको माग विश्वमा धेरै छ तर उत्पादन गर्न अत्यन्त कठिन र महँगो हुन्छ,’ केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई भन्छन्, ‘बढी मेहनत गर्नुपर्ने भएकाले यस्तो चिया उत्पादन गर्ने उद्योग नेपालमै नगन्य छन्।’ उनले आफूहरूको सहकारी संस्थाले इलाम नगरपालिका–१, साखेजुङमा सञ्चालन गरेको उच्च पहाडी चिया प्रशोधन उद्योगमा वर्षमा १५ किलो जति सुइरोको तयारी चिया उत्पादन हुने गरेको बताए।

इलामकै सन्दकफु टी प्रोड्युसर्स प्रालिमा पनि सुइरोको चिया उत्पादन हुन्छ। उद्योगले सुइरोको मूल्य प्रतिकिलो हजार रुपैयाँ र सुइरो टिपेको ज्याला प्रतिकिलो साढे पाँच सय रुपैयाँ दिइरहेको छ। ‘सुइरोमात्रै भएको पत्ती महिनामा अढाइ सय किलो जति प्रशोधन गर्दैछौं,’ प्रबन्धक सन्तोष घलेले भने, ‘अरू पत्तीको चाहिँ प्रतिकिलो ७० देखि साढे तीन सय रुपैयाँसम्म दिन्छौं।’ उद्योग सञ्चालक चन्द्रभूषण सुब्बा आफूहरूले करिब चार वर्षदेखि यस्तो चिया उत्पादन गरिरहेको बताउँछन्। काठमाडौंमा बसेर चियाको मार्केटिङसमेत गरिरहेका सुब्बा भन्छन्, ‘राम्रो चिया देखेपछि सबैले त्यही खोज्छन्। युरोप, अमेरिकातिर भन्दा चीनमा यसको माग धेरै छ।’

साखेजुङस्थित कञ्चनजंघा अर्गानिक चिया प्रशोधन उद्योगमा पनि यस्तो चिया उत्पादन हुन्छ। तर, क्रेताको अर्डरमा मात्रै यो गुणस्तरको चिया उत्पादन गर्ने गरेको उद्योग सञ्चालिका मिलनकुमारी खत्री बताउँछिन्। ‘सुइरोमात्रैको चिया उत्पादन गर्न निकै खर्चिलो छ तर माग धेरै छ,’ उनले भनिन्, ‘अर्डरअनुसार र उद्योगले धान्न सक्ने गरी मात्रै उत्पादन गर्छाैं।’

आफैंले उत्पादन गरेको पत्ती बेचेरमात्र होइन, आफैंले उद्योगलाई बेचेको पत्ती पुनः ल्याई सुइरो टिपेर पनि किसानलाई राम्रो आम्दानी हुने गरेको छ। जस्बिरेका बालकी गुरुङ, विष्णु सुब्बा र निरा राईलगायतका किसान हरियो पत्तीको सुइरोमात्रै टिपेर महिनामा २० हजार हाराहारी रुपैयाँ कमाउँछन्। ‘पत्ती लगेर उद्योगलाई बेच्दा एकपटक मूल्य पाइन्छ, त्यही पत्ती घर ल्याएर सुइरो टिप्दा फेरि ज्याला आउँछ,’ बालकी भन्छिन्, ‘तर, सुइरो टिपेर एक दिनमा डेढ–दुई किलोभन्दा बढी बनाउन सकिँदैन।’

देउमाई नगरपालिकास्थित तीनजुरे चिया प्रशोधन उद्योगले पनि एक सुइरोमात्रैको मूल्य प्रतिकिलो एक हजार र टिपेको ज्याला प्रतिकिलो पाँच सय रुपैयाँ दिन्छ। ‘सुइरोको मात्रै चिया उत्पादन गर्न निकै झन्झटिलो भएकाले ज्यादै कम उत्पादन गर्छाैं,’ उद्योगका सोम शर्माले भने, ‘यस्तो चियाको माग त अत्यधिक हुन्छ तर उत्पादन गर्न ज्यादै गाह्रो।’

उद्योगीका अनुसार एक सुइरोमात्रैबाट बनेको तयारी चिया नेपालमा खपत हुँदैन। काठमाडौंलगायत ठूला सहरमा खपत भए पनि ज्यादै नगन्य रहेको चिया व्यापारी बताउँछन्। व्यापारीका अनुसार काठमाडौंबाट यस्तो तयारी चिया प्रतिकिलो ४० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। जिल्लाका अर्गानिक चिया उद्योगले गुणस्तर हेरी हरियो चियाको मूल्य किसानलाई प्रतिकिलो ५० देखि साढे ५ सय रुपैयाँसम्म दिइरहेका छन्। यस्तो पत्तीबाट सुइरो छुट्ट्याएपछि बाँकी रहेको पात र डाँठबाट अर्काे गुणस्तरको चिया उत्पादन हुन्छ। ‘एक पात एक सुइरो भएको पत्तीको मूल्य प्रतिकिलो पाँच सय २५ रुपैयाँ दिँदैछौं,’ साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिका सञ्चालक कमल मैनाली भन्छन्, ‘यस्तो तयारी चियाको मूल्य पनि विश्व बजारमा राम्रो छ।’

किसानलाई अर्गानिक प्रमाणित नभएको, एक सुइरोसहित २–३ पातसम्म रहेको हरियो पत्तीको मूल्य चाहिँ उद्योगहरूले आफूखुसी दिने गरेका छन्। सूर्याेदय नगरपालिकाले हरियो चियाको मूल्य न्यूनतम् ४० रुपैयाँ कायम गरेकाले यहाँका किसान त्यहीअनुसार मूल्य पाउँछन्। तर, अन्य ठाउँका किसानले चाहिँ उद्योगीको ‘निगाह’मा हरियो पत्तीको मूल्य पाउने गरेका छन्। ‘ननअर्गानिक’ हरियो पत्तीको मूल्य किसानले प्रतिकिलो २० देखि ४५ रुपैयाँसम्ममात्र पाइरहेका छन्।

प्रकाशित: २ आश्विन २०७६ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App