१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटक आगमन उकालो

पर्यटक आकर्षित गर्न सिँगारिएको इलाम चियाबारी। तस्बिर : भीम/नागरिक

इलाम – नेपाल भ्रमण वर्ष सन् २०२० नजिकिँदै जाँदा जिल्ला घुम्न आउने पर्यटक थपिँदैछन्। प्रचारप्रसारमा तीव्रता र पूर्वाधार सहजताले जिल्लामा पछिल्लो वर्ष पर्यटकको संख्या बढेको हो।

इलामको प्राकृतिक सौन्दर्य, जैविक विविधता र हावापानीमा रमाउन आउने पर्यटकले व्यवसायीलाई नै हर्षित बनाउँदैछ। भर्खरै बितेको आर्थिक वर्ष ०७५/७६ मा झापाको बाटो भएर आउने पर्यटकको संख्या ४२.६ प्रतिशतले बढेको छ। इलाम–झापाको सीमा जोरकलशमा रहेको पर्यटन सूचना केन्द्रका अनुसार त्यस आव इलाममा एक लाख ३४ हजार ७७ पर्यटक इलाम आएका छन्।

अघिल्लो वर्षभन्दा ४० हजार हाराहारीले पर्यटकको संख्या बढेको केन्द्रका गगन घिमिरेले बताए। ‘यहाँ पनि सबै पर्यटकको तथ्यांक चाहिँ रहँदैन,’ उनले भने, ‘गाडी रिजर्भ गरेर आएर हामी घुम्न आएका छौं भनी केन्द्रमा सूचना टिपाउनेको मात्रै तथ्यांक हो यो।’ केन्द्रमा सूचना नै नटिपाइ पनि धेरै पर्यटक यही बाटो भएर इलाम भित्रिने गरेको उनले बताए।

आउनेमध्ये आन्तरिक पर्यटककै संख्या धेरै छ। त्यो वर्ष ६३ हजार ६ सय १० महिला र ७१ हजार चार सय ६७ पुरुष इलाम आएकामा पाँच सय ८० विदेशी र बाँकी आन्तरिक पर्यटक छन्। इलाममा यो मार्गबाट मात्र नभई पशुपतिनगर, सन्दकपुर र पाँचथरतिरबाट पनि पर्यटक आउँछन्। तर, अन्य सडकबाट आउने पर्यटकको तथ्यांक भने कतै राख्ने गरिएको छैन। स्थानीय तह गठन भएपछि जनप्रतिनिधिले सडक निर्माण र मर्मतलाई प्राथमिकता दिएका छन्। यसले पनि पर्यटकलाई गाउँ–गाउँ जान सहज हुँदैछ। हिउँदमा मात्र गाडी चल्ने केही गाउँमा बर्खामा पनि पुग्ने सडक बनेपछि पर्यटक थपिएका हुन्।

गत असोजपछि चैतसम्म जिल्लाका पर्यटकीयस्थलमा पर्यटक आउनेक्रम अत्यन्त बाक्लो थियो। सन्दकपुर, माइपोखरी, कन्याम, इलाम बजारमात्र होइन, होमस्टे रहेका ग्रामीण भेगसम्म पनि पुग्न पर्यटकलाई केही सजिलो भएको व्यवसायी बताउँछन्। इलामकै प्रमुख पर्यटकीस्थल सन्दकपुर (तीन हजार ६ सय ३६ मिटर उचाइ)मा गत वर्षदेखि नेपाली भू–भागबाटै सवारीसाधन पुग्न थालेका थिए। बर्खामा पुग्न नसकेपछि हिउँदभर यही बाटो भएर धेरै संख्याका पर्यटक सन्दकपुर पुगेको सन्दकपुरस्थित शेर्पा च्यालेट होटलले जनाएको छ।

सडक नहुँदा इलाम सदरमुकाम हुँदै नेपाली बाटो भएर त्यहाँ पुग्न चार किलोमिटरभन्दा बढी भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो। जिल्लाको माइमझुवा र माबु गाउँबाट सडक पु-याइएपछि नेपाली सवारीसाधन पर्यटक बोकेर सन्दकपुर पुग्न थालेपछि पर्यटक थपिएको होटलका पेमाडन्डु शेर्पाले बताए। नेपाल, भारत र भुटानका हिमाल एकै स्थानबाट नजिकै देखिने सन्दकपुरमा बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्छ। ‘गत फागुनमा ढकमक्क हिउँ परेकाले पर्यटक धेरै आए,’ उनले भने, ‘बर्खामा चाहिँ यहाँ आइपुग्न अलि समस्या छ। सडक राम्रो बन्ने हो भने बर्खामा पनि यहाँ पर्यटकको भीड लाग्ने सम्भावना छ।’

भर्खरै बितेको आव ०७५/७६ मा झापाको बाटो भएर आउने पर्यटकको संख्या ४२.६ प्रतिशतले बढेको छ। इलाम–झापाको सीमा जोरकलशमा रहेको पर्यटन सूचना केन्द्रका अनुसार त्यस आव इलाममा एक लाख ३४ हजार ७७ पर्यटक इलाम आएका छन्।

अहिले बिखेदेखि सन्दकपुरसम्मको करिब चार किलोमिटर कच्ची सडक बनेपछि पर्यटकलाई सहज भएको छ। त्यसअघि इलामबाट माबु हुँदै करिब ३५ किलोमिटरको बिखेभञ्ज्याङसम्म पुगेर भारतीय भूमि प्रवेश गरेपछि मात्रै सन्दकपुर पुग्न सकिन्थ्यो। सधैं ठण्डा र चिसो हावापानी हुने भारतीय सीमावर्ती सन्दकपुरमा भारतको बाटो भएर बर्सेनि लाखौं पर्यटक आउँछन्। भारतको बाटो भएर तेस्रो मुलुकका पर्यटकसमेत सन्दकपुरमा आउँछन्। स्थानीय भारतीय होटल व्यवसायीका अनुसार भारतबाट विश्वको सर्वाेच्च शिखर सगरमाथा देखिने एउटामात्रै स्थल सन्दकपुर भएकाले पनि भारतभरका पर्यटक यहाँ आउन रुचाउँछन्। भारतको जुनसुकै स्थानमा घुम्न आएका तेस्रो मुलुकका पर्यटक पनि सन्दकपुरको महत्व बुझेपछि यहाँ आउने चाहने गरेको व्यवसायीको भनाइ छ।

गएको असोज–कात्तिकमा मौसम अत्यन्त राम्रो भएकाले सुरुमै पर्यटकको संख्या बढेको थियो। मंसिर र पुसको दोस्रो सातासम्म इलामका पर्यटकीयस्थल छ्यांग खुलेका थिए। ‘यो वर्ष अन्तुडाँडाबाट सूर्याेदय र सूर्यास्त निकै लामो अवधिसम्म राम्रो देखिएको थियो,’ अन्तुडाँडाका होमस्टे व्यवसायी रुद्र घिमिरेले भने, ‘कात्तिकका एकै दिन तीन हजारभन्दा बढी पर्यटक अन्तु आएका थिए।’ बिदाको अवसर पारेर प्रायः शुक्रबार र शनिबार अन्तुमा तराईका जिल्लाबाट पर्यटक आउँछन्। यहाँ भारतको पश्चिमबंगालबाट पनि बर्सेनि हजारौं पर्यटक आउँछन्।

अन्तुडाँडाबाट झुल्केघाम हेर्न, यहाँको चियाबारीमा रमाउन, चियाबारीको बीचमा रहेको सुन्दर अन्तुपोखरीमा डुंगा सयर गर्न र स्थानीय लोपोन्मुख लेप्चा जातिको संस्कृति अवलोकन गर्न अन्तुमा हरेक वर्ष पर्यटक थुप्रिन्छन्।  तराईमा गर्मी भएका बेला यहाँ आएर चिसोमा एक रात बिताउन पर्यटकको घुइँचो लाग्छ। सूर्याेदय, सूर्यास्त मात्र होइन, उत्तरतर्फ देखिने मनमोहक हिमशृंखलाको दृश्य अवलोकन गर्न पनि यहाँ पर्यटक आकर्षित हुन्छन्। झापा, काठमाडौं, विराटनगर, सुनसरीलगायत जिल्लाबाट इलाममा आन्तरिक पर्यटक बढी आउँछन्। अन्तु, कन्याम, पशुपतिनगर, सन्दकपुर र माइपोखरीमा भारतको पश्चिम बंगालबाट हजारौं पर्यटक आउने गरेको व्यवसायीले बताए।    

सूर्याेदय–सूर्यास्त दृश्यावलोकनमा उत्कृष्ट अन्तुडाँडा र चियाबारीले ढाकेको कन्यामसमेत रहेको सूर्याेदय नगरपालिका गएको वर्ष ‘पर्यटकीय नगरी’समेत घोषित भएको थियो। अहिले सूर्याेदय नगरपालिकाको लेटरप्याडको सबैभन्दा माथि ‘पर्यटकीय नगरी’ लेखिएको छ।

प्रदेश १ सरकारले बजेट, नीति तथा कार्यक्रममा सूर्याेदयलाई प्रदेशभरकै पर्यटकीय नगरीका रूपमा विकास गर्ने घोषणा गरेको थियो। कृषि र पर्यटनमा नेपालकै पहिलो सम्भावनायुक्त सूर्याेदयलाई पर्यटकीय घोषणा गरिएपछि पर्यटकको संख्या थपिएको नगरपालिकाका मेयर रणबहादुर राईले बताए। सूर्याेदय प्राकृतिक सौन्दर्य, तराईसँग निकट, छिमेकी मुलुकसँग सीमा जोडिएको नगर पनि हो।    

मनमोहक कन्याम चियाबारी, अन्तुडाँडा, पशुपतिनगर, फिक्कललगायत दर्जनौं पर्यटकीय क्षेत्र रहेको सूर्याेदय नगरपालिकामा बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक आउँछन्। झापाबाट इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने पर्यटक सूर्याेदय नगरपालिका भएरै आउने भएकाले यो नगरपालिका पर्यटनको केन्द्र नै हुने गर्छ। कन्याम चियाबारी र फिक्कल बजार मेची राजमार्गमै पर्ने भएकाले पर्यटक यी क्षेत्रमा कम्तीमा गाडी रोकेर केहीबेर भुल्लिने गर्छन्।

इलामलाई प्रचारप्रसार गर्न अहिले स्थानीय तहले तस्बिर तथा वृत्तचित्रसमेत निर्माण गरिरहेका छन्। यसले गर्दा जिल्लाका पर्यटकीयस्थलको प्रचारमा टेवा पुगेको छ। इलामका पर्यटकीयस्थलको भिडियो छायांकन गरी वृत्तचित्र बनाएर भारतसहित तेस्रो मुलुकसम्म पु-याउने उद्देश्यले पश्चिम बंगालका पर्यटनकर्मीको टोली पनि गत वर्ष इलाम आएको थियो। टोलीले इलामबाट पर्यटकीयस्थल दोबाटे, सन्दकपुर, माइमझुवा, माइपोखरी, पाँचथर फिदिम, अमरपुर, -याफ्टिङ क्षेत्र, ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुगेर स्थानीय पर्यटकीयस्थलको वृत्तचित्र निर्माण गर्दैछ।

मेची पहाडी क्षेत्र पर्यटन पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले इलाम, पाँचथर, ताप्लेजुङलगायत पूर्वी क्षेत्र र सीमा जोडिएको भारतका सिक्किम, दार्जिलिङ, सिलिगुडीलगायत क्षेत्रको कला, संस्कृति, भौगोलिक, प्राकृतिक सबै अवस्था समान रहेकाले पर्यटन विकासमा दुवै देशले सहकार्य गरिरहेको बताए। पर्यटकीय पदमार्ग निर्माणदेखि पर्यटकलाई दिने प्याकेज सुविधासम्ममा दुवैतर्फका व्यवसायी सामूहिक रूपमा अघि बढ्ने प्रयास भइरहेको उनको भनाइ छ।

मेचीका पहाडी जिल्लामा हरेक वर्ष भारतको पश्चिमबंगाल र सिक्किम, बिहार, उत्तरप्रदेशलगायत राज्यका हजारौं पर्यटक घुम्न आउँछन्। नेपाल र भारत आउ–जाउ गर्न कुनै समस्या नभएकाले पनि पर्यटनमा सहकार्य गर्न सजिलो छ। असोज, कात्तिक, मंसिर, फागुन, चैत र वैशाख मेची पहाड मात्र नभई भारतको दार्जिलिङ, मिरिक, सिक्कमलगायत क्षेत्रको मुख्य पर्यटकीय सिजन हो।

जिल्ला सदरमुकाममा पर्यटक आकर्षित गर्नकै लागि अत्याधुनिक बसपार्कसमेत बन्दैछ। नजिकै सुकिलुम्बा डाँडामा निर्माणाधीन विमानस्थल कालोपत्रे गर्ने ठेक्का लागिसकेको छ। ‘पूर्वाधार विकास गर्दै जाने हो भने केही वर्षपछि इलाम पर्यटकले खचाखच हुने देखिन्छ,’ धौरालीले भने।

प्रकाशित: ५ भाद्र २०७६ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App