२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं – सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गरे पनि अपेक्षित रुपमा विदेशी लगानी वृद्धि हुन नसकिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्।

राजधानीमा आइतबार आयोजित ‘इन्डिया नेपाल लजिस्टिक समिट’मा ओलीले सरकारले लगानीमैत्री वातावरण तयार गरेकाले ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्।

ओलीले कृषि, पर्यटन, भौतिक पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे। नेपालमा लगानी गर्नका लागि कानुनी झन्झट हटाएको बताए। ‘कानुनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका अल्झन हटाएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘लगानीका लागि आवश्यक नयाँ कानुन बनाएकाछौं।’

ओलीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन,  सार्वजनिक–निजी साझेदारी बनाएको बताए। उद्योग सञ्चालनको अनुमति प्रक्रिया झन्झटिलो नहोस् भनेर एकल बिन्दु सेवा केन्द्र पनि सञ्चालन गरिसकेको बताए। भारतसँगको व्यापार सुदृढ पार्नुपर्ने ओलीको तर्क थियो। ‘दुई देशबीचको व्यापार तथा सम्बन्धलाई सहज र सुदृढ बनाउन वर्तमान सरकार लागिपरेको छ,’ उनले भने।

सरकारले आर्थिक विकास र समृद्धिलाई प्रमुख एजेन्डा बनाएकाले लगानी गर्ने उपयुक्त वातावरण रहेको बताए। राजनीतिक अस्थिरता अन्त्य भएर मुलुक स्थिरताको बाटोमा हिँडेको र अहिले लगानीको भरपर्दो वातावरण सिर्जना गरिएको बताए। ‘आर्थिक विकास र समृद्धि नै सबैको साझा लक्ष्य हो,’ प्रधानमन्त्री ओलीले भने। सरकार पूर्वाधार विकास निर्माणमा पनि लागि परेको बताउँदै सडकसहित रेलमार्ग, जल यातायातका लागि काम भएको दाबी गरे। मुलुकको व्यापार घाटा बढिरहेकोमा उनले चिन्ता व्यक्त गरे।

भन्सार प्रणालीलाई व्यवस्थित र सहज बनाउन विभिन्न काम भइरहेको बताए। ‘आयात निर्यातलाई सहज बनाउन विद्युतीय प्रणाली लागू गरिएको छ,’ उनले भने, ‘व्यापार तथा वाणिज्यका लागि मार्ग प्रशस्त गरिएको छ।’ प्रधानमन्त्री ओलीले नेपाललाई सन् २०३० सम्म मध्यमस्तरीय आय भएको मुलुकका रुपमा विकास गर्ने नीति तथा कार्यक्रमसमेत अगाडि बढेको प्रस्ट पारे।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले व्यावसायिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए। अधिकारीले कार्गो तथा लजिस्टिकका क्षेत्रमा देखिएका समस्या समाधान गर्न नेपाल र भारतले संयुक्त रुपमा काम गरिरहेको बताए।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतको वाणिज्य सम्बन्ध सकारात्मक रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यापारमा सहजीकरण गर्नुपर्ने बताइन्। ‘आयात–निर्यातका लागि भन्सार परीक्षण तथा अन्य प्रणालीको विकास गर्नुपर्छ,’ उनले भनिन्, ‘पारवहनसम्बन्धी समस्या समाधान गर्नुपर्छ।’ सम्मेलनमा नेपाल र भारतका उद्योगी, व्यवसायी, कार्गो तथा लजिस्टिकको क्षेत्रमा काम गर्ने निजी क्षेत्रका प्रतिनिधिको सहभागिता छ।

प्रकाशित: १३ श्रावण २०७६ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App