२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

विश्वकर्मा र देवी मूर्ति बनाउन तीन महिना खट्छन् कालिगढ

भरतपुरमा नवदुर्गा पूजाका लागि मूर्ति तयार गर्दै श्याम र भुवनकुमार (दायाँ) । तस्बिरः सविता/नागरिक

चितवन – तीन महिनादेखि मूर्ति बनाउन जुटेका २५ वर्षिय भुवनकुमार पण्डित फुर्सदिलो भएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ राधेमाईका उनी पछिल्लो तीन महिना मूर्ति बनाउनकै लागि काठमाडौं र चितवनमा बसे । विश्वकर्मा बाबा र नवदुर्गा पूजाका लागि मूर्ति बनाउन खटिए । घटस्थापनाको दिनसम्म मूर्ति बिक्री गरेपछि उनको काम सकियो।

‘दिनरात काम गर्ने समय नै यही थियो,’ उनी भन्छन्, ‘बल्ल फुर्सद भयो ।’ ११ वर्षको उमेरमा सिकेको मूर्ति बनाउने कामलाई पेसा बनाएको पनि १० वर्ष पुगिसक्यो । मूर्ति बनाउन र त्यसलाई पूरा तयार गर्न सिक्न भुवनकुमारलाई तीन वर्ष लागेको थियो । सानोमा दाइको साथ लागेर भारतको कलकत्ता पुग्दा उनले त्यही यो कला सिकेका थिए । उनी अहिले माटो र सिमेन्टका मूर्ति बनाउँछन् । साइनबोर्ड लेख्ने पनि काम गर्छन्।

विश्वकर्मा पूजा र दसैंको नवदुर्गा पूजाका लागि मूर्ति बनाउँदा नेपालमा तीन महिना काम हुने उनले बताए । यस समयमा उनको पाँच जनाको समूहले करिब एक सय ५० वटा मूर्ति बनाएका थिए । नवदुर्गाका लागि भन्दा पनि विश्वकर्मा पूजामा मूर्तिको धेरै माग हुने उनी बताउँछन् । ‘६ वर्ष भयो नारायणगढ आएर काम गरेको,’ उनी भन्छन्, ‘पहिले भन्दा अहिले धेरै मूर्ति बनाउनुपर्छ।’

पर्वका लागि लक्षित गरेर उनी माटो र पराल मिसाएर मूर्ति बनाउँछन् । पराल र माटोमा पानीको मिश्रण गरेको मूर्तिमा रङरोगन गर्ने र सजावट गर्ने काम गर्छन् । मूर्ति बनाउँदा बाँस, काठ, सुतरी र जुटको बोराको पनि प्रयोग गर्छन् । खटेर लाग्दा एउटा मूर्ति बनाउन तीन दिन लाग्ने भुवनकुमारले बताए । पर्वमा बनाउने मूर्ति पर्वको अवधिभर स्थापना गरेर पूजा गरिन्छ । पर्व सकिएपछि नदीमा लगेर विसर्जन गरिने भएकाले हेर्दा आकर्षक र हल्का मूर्ति बनाइने प्रचलन रहेको उनी बताउँछन्।

नवदुर्गा पूजाका लागि तयार गरिएका मूर्तिको कारोबार सकिएकाले उनी दसैं मान्न घर जाने तयारीमा छन् । दसैं मनाएपछि भने कामको लागि अहिले खटिएको टोलीसँगै गोरखपुर पुग्ने योजना उनको छ । लक्ष्मी पूजा, सरस्वती पूजा र यज्ञमा राखिने मूर्ति बनाउने काम गर्ने उनले बताए । भारतमा लक्ष्मी, सरस्वती पूजा पनि मूर्तिको माग धेरै हुने गरेको उनी बताउँछन्।

भारत रक्सौलको भवानीपुरका ३३ वर्षिय श्याम पटेल पनि यो तीन महिना नेपाल आएर काम गर्छन् । १० वर्ष अघिदेखि नेपाल आएर मूर्ति बनाउने काम गर्न थालेको उनले बताए । उनले चितवनसँगै काठमाडौं, गोरखा, रुपन्देही, पाल्पामा पनि मूर्ति बनाउने काम गरेका छन् । पर्वलक्षित मूर्तिबाहेक अर्डर आएअनुसार पनि उनी मूर्ति बनाउँछन्। मन्दिरमा राख्ने देवी देवतासँगै मानिस र वन्यजन्तुको मूर्ति बनाउन पनि अर्डर आउने गरेको उनले बताए।

यस पटक उनीहरुको टीममा तीनजना नेपाली र दुईजना भारतीय कालिगढ थिए । ‘सधै समूहमा आएर काम गर्छन्,’ उनी भन्छन्, ‘साहुलाई अर्डर आएको मूर्ति बनाउँछ ।’ पछिल्लो समय इलेक्ट्रोनिक मूर्ति स्थापना गरेर पूजा गर्ने चलन सुरु भएको उनी बताउँछन् । थर्मोकल र माटोको मिश्रणबाट बनाइने मूर्तिमा मोटर जडान गरेर विद्युत्बाट चलाइन्छ । यस्तो मूर्तिले आँखा घुमाउने, हात, टाउको चलाउने, गुड्ने हुन्छ । नेपालमा केही स्थानमा इलेक्ट्रोनिक मूर्ति राखेर पूजा गर्न थालिएको छ । ‘यहाँ धेरै छैन, उता (भारतमा) धेरै हुन्छ,’ श्यामले भने। 

विश्वकर्मा र नवदुर्गा पूजामा भुवनकुमार र श्यामले न्यू भवानी मूर्ति स्टोर्सका लागि काम गर्न थालेको ६ वर्ष भयो । स्टोर्स सञ्चालक तथा मूर्तिकार रंगलाल पण्डित पर्वअगाडि अर्डर दिएर मूर्ति बनाउने प्रचलन बढेको उनले बताए । दसैंमा देवी र बाघको मूर्ति तथा देवी, बाघ र राक्षस भएको मूर्तिको कारोबार हुने उनले बताए।

यसबाहेक दुर्गा, बाघ, राक्षस, कुमार, गणेश, सरस्वती र लक्ष्मीको मूर्तिको सेटको पनि कारोबार हुन्छ । यस वर्ष रंगलालले पाँच हजारदेखि ५० हजार रुपैयाँसम्मका मूर्तिको बिक्री गरे । मूर्ति बनाउन चाहिने माटो उनले वीरगञ्जबाटै ल्याएका थिए । मूर्ति सजाउन प्रयोग गरिने, मुकुट, कपडा, गरगहना लगायत सजावटका सामग्री र रङरोगनका सामान भारतबाट ल्याएका थिए।


 

प्रकाशित: ३० आश्विन २०७५ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App