८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखराका पर्यटन व्यावसायीको गुनासो: कुनैबेला कोठाको लागि भनसुन चल्थ्यो, अहिले सुनसान

रेस्टुरेन्टको ब्यापारमा ४० प्रतिशतसम्म गिरावट

कोरोना भाइरस संक्रमण सुरु हुनुअघिका वर्ष पोखरामा यतिबेला पाहुनालाई होटलमा कोठा पाउन हम्मेहम्मे हुन्थ्यो। आन्तरिक र बाह्य पाहुनाको चाप यति धेरै हुन्थ्यो की व्यावसायीलाई पाहुना व्यवस्थापनमा समेत सकस पर्दथ्यो। व्यावसायीलाई यतिसम्मको दवाव पर्दथ्यो की पाहुनालाई आफ्नो होटलमा कोठा नपुगेपछि अन्यत्र राख्नुपर्दथ्यो।  

तर, अहिले त्यही सिजनमा पोखराका होटल व्यावसायीलाई फुर्सदिलो बनाएको छ। दसैंअघिको बाढीपहिरोले गर्दा आन्तरिक पाहुना आउन नसकेको र विदेशी पाहुना पनि प्रभावित हुँदा व्यावसाय सुस्ताएको व्यावसायीले बताएका छन्। पर्यटन व्यावसायी भन्छन्, ‘कोरोना संक्रमण सुरु हुनु अघिको यो बेलाको तुलनामा यो वर्ष आधा पनि आम्दानी छैन। यस्तै अवस्था हो भने व्यावसाय धान्न मुस्किल हुनेछ।’ व्यावसायीका अनुसार रेस्टुरेन्टको ब्यापारमा त यो सिजनमा ४० प्रतिशतसम्म गिरावट आएको छ।  

पर्यटन व्यावसायीका अनुसार पर्यटन क्षेत्रमा अक्टोवर र नोभेम्बर सबैभन्दा बढी विदेशी पाहुना आउने सिजन हो। यो बेला पदयात्राका लागि विदेशी पाहुना नेपाल भित्रिन्छन्। त्यसबाहेक यो बेला पर्ने चाँडबाँडका कारण आन्तरिक पाहुना पनि घुमफिरमा निस्कने गरेका थिए। तर, अहिले भने प्राकृतिक विपद्ले गर्दा आन्तरिक पाहुनाको आउजाउ कम भएको र विदेशी पाहुना पनि प्रभावित हुँदा पोखराको पर्यटन क्षेत्र सुस्ताएको उनीहरुको भनाई छ।  

माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई भन्छन, ‘दसैं–तिहारको यो बेला आन्तरिक पर्यटकले नै होटलको ३०–४० प्रतिशत अकुपेन्सीमा हिस्सा ओगटेका हुन्थे। तर, अहिले त्यो अवस्था रहेन। विदेशी पनि आएनन, आन्तरिक पनि घुमफिरमा निस्केनन्।’ दसैं–तिहारको बेलाको घुमफिरलाई असर पर्नेगरि प्राकृृतिक विपद् आइपरेकोले आन्तरिक पाहुनाको यात्रा प्रभावित भएको र त्यसको मारमा आफुहरु परेको उनले बताए। ‘व्यावसाय कमजोर भयो भनेर सुख पाईएन, बैंकको ऋण तिर्नैपर्यो, कर्मचारीलाई तलब दिनैपर्यो,’ उनले भने।

‘कोरोना संक्रमण अघि यो सिजनमा यतिसम्मको व्यस्तता हुन्थ्यो की पाहुनालाई कोठा पुर्याउनै सकस पर्दथ्यो। कोठा अभावमा एउटै कोठामा ३/४ जना सुताएको अनुभव पनि हामीसँग छ,’ उनले भने, ‘समूहमा आएका सबै पाहुनालाई कोठा अभाव भएपछि बाँडेर सुताउनुपरेको थियो। तर, अहिले त्यो अवस्था छैन।’ 

यो सिजनमा होटलको अकुपेन्सी ९० प्रतिशत हाराहारीमा हुने भएपनि अहिले त्यो अकुपेन्सी आधा मात्र रहेको उनले बताए। ‘नत आन्तरिक न विदेशी कुनैपनि खालका पाहुना छैनन। यसले व्यावसाय धान्न पनि मुस्किल हुने अवस्था छ,’ उनले भने।  

टेम्पल ट्रि रिसोर्टका संचालक बसन्त गौतम पनि आन्तरिक पाहुना भित्रिन नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताउँछन्। ‘विदेशी पाहुना भित्र्याउन सक्ने हो मुलुकले पनि आम्दानी गर्दथ्यो। तर, अहिले विदेशी पनि आएनन्। आन्तरिक पनि घुमघाममा निस्केनन,’ उनले भने, ‘आन्तरिक पाहुना आएको खण्डमा आन्तरिक अर्थतन्त्र चलायमान हुन्थ्यो। तर, अहिले नत विदेशी न स्वदेशी कोही पाहुना पनि आएनन।’  

त्यसैमाथि सिजनको बेला विदेशी पाहुना भित्रिने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधारको कामले उडान र अवतरण प्रभावित हुने भएकोले पनि यो सिजनमा विदेशी पाहुना आउनेमा आशावादी हुन नसकेको उनले बताए। ‘कुन काम कतिबेला गर्ने भन्ने सरकारले सोच्न सकेन। यहीबेला विपद्ले सबैतिर सकस थपिदियो। अत्यावश्यक कामले हिड्नुपर्ने अवस्थामा मात्र मान्छेले घर छाडेका छन,नत्र आन्तरिकले घरै छाडेनन,’ उनले भने।

अर्काे दोर्जेज रिसोर्टका संचालक दोर्जे लामा पनि पर्यटन क्षेत्र निकै सकसमा रहेको बताउँछन्। ‘विपद्का कारण आन्तरिक पाहुनाको आउजाउ रोकियो। विदेशी पाहुना भित्रिने समयमा विमानस्थलमा अवरोध पुग्ने अवस्था छ,’ उनले भने, ‘कुनैपनि तवरबाट पाहुना आउजाउमा सहजीकरण नभएपछि पर्यटन क्षेत्र अप्ठेरोमा परेको छ।’

व्यावसायीका अनुसार अहिले पोखरालाई ठुला सहरसँग जोड्ने मुख्य राजमार्गको अवस्था निकै नै सकसपूर्ण छ। सामान्य अवस्थामा ६ घण्टामा पोखरा–काठमाडौं यात्रा पुरा हुनेमा अहिले त्यो समय बढेर १० घण्टासम्म पुग्ने गरेको छ । हवाईजहाजको यात्रा पनि तोकिएको बेला भएको छैन। यसले पर्यटन क्षेत्रलाई थप अन्योलतामा धकेलेको उनले सुनाए।  

‘जबसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदैन। तबसम्म पोखराको पर्यटन क्षेत्र उकासिन हम्मेहम्मे पर्ने देखिन्छ,’ लामा भन्छन, ‘आउजाउमा सहज नहुँदा आन्तरिक पाहुना घुम्न निस्केनन्। नेपालको विपद्ले विदेशी पाहुना पनि तर्सेका छन्।’

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडेल पनि यो सिजन पर्यटनका लागि सोचे अनुकुल नभएको बताउँछन्। ‘कोरोना संक्रमण अघिका वर्ष यो सिजनमा होटलमा कोठा पाउन भनसुन गर्नुपर्दथ्यो। होटलमा कोठा मिलाइदिनुपर्यो भन्ने दवाव आउँथ्यो,’ उनले भने, ‘तर, यो पटक कोठा पाउनको भनसुन त परैको कुरा हो। पाहुना खोजिखोजि राख्नुपर्ने अवस्था आएको छ। आन्तरिक र बाह्य कुनैपनि पाहुना आएनन्।’

पौडेलका अनुसार भारतीय पाहुना पनि यो पटक सोचेजति आएनन्। आन्तरिक पाहुना विपद्का कारण निस्कनै सकेनन्। भारतीयहरु पनि सवारी दुर्घटना र विपद्का कारण त्रसित बने। अरु तेश्रो मुलुकका पाहुनालाई पनि विपद्ले असर पारेको छ,’ उनले भने। उनका अनुसार यो बेला रेस्टुरेन्टको ब्यापारमा ४० प्रतिशतसम्म गिरावट भएको छ।

‘यो सिजनसँग निकै नै नै अपेक्षा थियो। तर, अघिल्लो सिजनमा भन्दा यो पटक करिब ४० प्रतिशत ब्यापार कम भएको छ,’ अध्यक्ष पौडेलले भने, ‘पाहुना नै आउन सक्ने अवस्था नभएपछि के गर्ने? काठमाडौंका पाहुना त यो पटक पटक्कै घरबाट बाहिर निस्केनन्।’ अप्ठेरोमा परेको पर्यटन क्षेत्र चलायमान बनाउनका लागि राज्यले यो बेला फरक तरिकाले सोच्नुपर्ने उनले बताए।  

प्रकाशित: १० कार्तिक २०८१ १५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App