१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

घोराही-तुलसीपुर चारलेन सडक निर्माण : मौन भारतीय ठेकेदार कम्पनी, जवाफ कुर्दै सरकार

भारतीय निर्माण कम्पनीले निर्माण अधुरै छोडेपछि घोराही-तुलसीपुर सडक खण्डलाई चार लेनमा बिस्तार गर्ने योजनाको ठेक्का भंग भएको छ । भारतीय एक्जिम बैंकको लगानीमा भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले निर्माणको जिम्मा पाएको थियो । यो निर्माण कम्पनीले स्थानीय पेटी ठेकेदार मार्फत काम गर्न खोज्यो तर काम अधुरै रह्यो । ३० महिना भित्रमा काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको कम्पनीबाट काम नभएपछि सरकारले २०८० जेष्ठमा ठेक्का तोडेको थियो । चार लेन सडक निर्माणको ठेक्का तोकेको सरकारले सडक निर्माणका क्रममा खनिएका खाल्डा पुर्नका लागि सरकारले पुनः ठेक्का लगाएको थियो ।  

पहिलो ठेक्का रद्द गरेको सरकारले पुनः यो सडक निर्माणका लागि ठेक्का प्रकृयाको सुुरुवात गरेको छ । सरकारले यो सडकका लागि डिपिआर गरेर पुनः भारतीय एक्जिम बैंकलाई लगानीका लागि फाईल पठाएको छ । तर भारतीय एक्जिम बैंक नेपाल सरकारले पठाएको यो डिपिआर अनुसार काम गर्न अनिच्छुक देखिएको छ । सडक आयोजना स्रोतका अनुसार चार लेन सडक निर्माणमा सरकारले बनाएको डिपिआरप्रति भारतीय बैंक अनिच्छुक जस्तै देखिएको छ । गत साउन पहिलो साता सरकारले डिपिआरको प्रतिवेदन भारतीय एक्जिम बैंकलाई पठाएको थियो । तर हालसम्म उक्त बैंकले सडक निर्माणका लागि लगानी गर्ने योजनाका बिषयमा कुनैै प्रतिकृया दिएको छैन ।

‘सरकारका तर्फबाट चार लेन सडकका लागि डिपिआर तयार गरेर भारतीय एक्जिम बैंकलाई लगानीका लागि आग्रह सहित पठाईएको हो,’ सडक सुधार तथा विकास आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर अर्जुनप्रसाद अर्यालले भने ‘हामीले साउन १ गते भारतीय दुतावासमा डिपिआर बुझाएका हौँ, तर अहिलेसम्म कुनै रेस्पोन्स आएको छैन ।’  

यसअघि भारतीय एक्जिम बैंकको करिब एक अर्ब २३ करोडको लागतमा सडक विस्तारको काम सुरु भएको थियो । यसअघि घोराही–तुलसीपुर सडकखण्डको करिब २९ किलोमिटर सडकमध्ये १४ दशमलब ४६ किलोमिटर चारलेन र १३ दशमलब ७६ किलोमिटर दुईलेनको बनाउने गरी ठेक्का सम्झौता भएको थियो । सडक सुधार तथा विकास आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर अर्यालका अनुसार अहिलेसम्म भारतीय पक्षबाट कुनै जानकारी नआएका कारण सरकारले बुझाएको डिपिआर अनुसार काम हुने वा नहुने भन्ने अन्यौलै रहेको छ ।  

‘भारतले अहिलेसम्म कुनै रेस्पोन्स नदेखाएकाले पनि सरकारले बुझाएको डिपिआर स्वीकृतहुने वा नहुने एकिन भन्न सकिने अवस्था अहिले छैन,’ अर्यालले भने ‘भारतबाट रेस्पोन्स आए मात्रै के हुने भन्न सकिने अवस्था रहन्छ ।’

यता डिपिआर बुझाएको एक महिनाभन्दा बढि समय हुँदासम्म पनि भारतले कुनै प्रतिकृया नदेखाएका कारण सरकारले आफ्नै लगानीमा समेत चार लेन सडक निर्माणको उपाय खोजी सुरु गरेको छ । सरकारले आफ्नै लगानीमा यो सडक निर्माणका लागि प्रयास थालेको सडक सुधार तथा विकास आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर अर्यालले जानकारी दिए ।

आयोजनाले घोराहीस्थित तुलसीपुरसम्मको सडक चार लेन निर्माणका लागि डिपिआर तयार गरेर सडक विभागलाई बुझाइसकेको छ । ‘भारतीय सरकारबाट काम नहुने परिस्थतीमा नेपाल सरकारले नै सडक निर्माण गर्न सक्ने सम्भावनाको खोजी पनि गरिएको छ,’ अर्यालले भने ‘सो अनुसारको डिपिआर हामीले सडक विभागलाई समेत बुझाएका छौँ ।’  

सडक विभागमा पेश भएको फाईल अनुसार काम हुने वा नहुने भन्ने बारेमा भने आयोजनालाई थाहा नहुने समेत बताए । यो सडकका कारण आम नागरिकले सास्ती पाइरहेको भन्दै जिल्लाका जनप्रतिनिधिहरुले केहि दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण समेत गराएका छन् । उनिहरुले भारतीय एक्जिम बैंक मार्फत सडक निर्माणको काम हुन नसकेपनि सरकारले नै आफै यो सडक निर्माणको पहल थाल्नका लागि उनिहरुले प्रधानमन्त्री ओली समक्ष आग्रह गरेका थिए । 

प्रकाशित: १० भाद्र २०८१ १८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App