२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

अर्थमन्त्रीको एक सूत्रीय अभियानः निजी क्षेत्रको परिचालन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारमा निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन्।

मुलुकका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समिकरणपछि केपी शर्मा ओली नेतृत्वका सरकारमा २०८१ साल असार ३१ गते उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सहयोग खोजेका हुन्।

अर्थ मन्त्रात्रलयको कार्यभार सम्हालेसँगै नयाँ आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयन गर्नुपर्ने चुनौती छ। नयाँ सत्ता समिकिरण बनेसँगै अर्थमन्त्रीमा पौडेलको चर्चासँगै दुई वर्ष सुस्त रहेको अर्थतन्त्रको ऐनको रुपमा हेरिएको पुँजीबजार एक्कासी माथि आयो।

राजनीतिक अस्थिरता र नीतिगत असहजताको कारण मुलुकको अर्थतन्त्र संकटमा छ। सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन नहुँदा समग्र निजी क्षेत्रको मनोबल घट्दै जाँदा व्यवसायीक वातावरण बिग्रदै गएको छ।  

अर्थमन्त्री पौडेललाई बिग्रेको अर्थतन्त्र, व्यवसायीक वातारण र खस्केको निजी क्षेत्रको मनोबल उकास्न चुनौती छ। मुलुकमा व्यवसायिक वातावरण बिग्रँदा माग र आपूर्ति समेतमा असन्तुलन देखिएको छ। आम नागरिकमा चरम निरासा छाएको अवस्था छ।

अर्थमन्त्री पौडेललाई बिग्रेको अर्थतन्त्रलाई सुधार गरी अर्थतन्त्रमा करिव ८१ प्रतिशत योगदान दिने निजी क्षेत्रको मनोबल उच्च बनाउनुपर्ने चुनौती छ। चुनौतीहरूका बीचमा मुलुकको ढुकुटीको साँचो हातमा लिएका अर्थमन्त्री पौडेलेले निजी क्षेत्रको भरोसा खोजेका छन्।

निजी क्षेत्रको मनोबल घटेपछि अर्थतन्त्र चलायमान हुन सकेको छैन। निजी क्षेत्रको मनोबल बढ्न नसकेपछि निजी क्षेत्र लगानी गर्न हच्किँदा नयाँ रोजगारी सिर्जना समेत हुन सकेको छैन।

अर्थमन्त्री पौडेललाई सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने चुनौती र अर्थतन्त्रका संरचनागत सुधार गर्ने दुई वटा चुनौती मुख्य छन्। त्यस्तै, निर्माण व्यवसायीको भुक्तानी समस्या, लघुवित्त र सहकारी समस्या समाधान गर्नु पनि चुनौतीको रुपमा छ।

विभिन्न चुनौतीकाबीच मौद्रिक नीतिमार्फत सरकारको वित्त नीतिअनुरुप ल्याउन सफल भएका छन्। वित्त नीतिको परिपूरकको रुपमा मौद्रिक नीति आउँदा सरकारले अर्थतन्त्रमा सुधार गर्ने भरोसामा निजी क्षेत्र परेको छ। सरकारले राष्ट्र बैंकमार्फत मौद्रिक नीतिले निजी क्षेत्रका माग सम्बोधन गर्नेगरी लचिलो मौद्रिक नीति ल्याएर सकारात्मक सन्देश दिन खाजेको देखिन्छ। राष्ट्र बैंक स्वायत्त संस्था भन्ने तर मौद्रिक नीति सरकारको कन्टोलमा राख्ने प्रवृत्ति भने रोकिएन।

ओली सरकारलाई गोलचक्रमा रहेको अर्थतन्त्र लयमा ल्याएर निजी क्षेत्रको आत्मबल बढाउनु मुख्य चुनौति भएको अवस्थामा मौद्रिक नीतिले साथ दिएको छ। यता अर्थमन्त्री पौडेलले मन्त्रालयको जिम्मेवारी लिएसँगै अर्थतन्त्र सुधार गरी व्यवसायी वातावरण बनाउने अठोट गरेका थिए।

निजी क्षेत्रले विश्वास गरेका अर्थमन्त्री पौडेले उद्योगी व्यवसायीहरूकै साथ लिएर अर्थतन्त्र सकारत्मक अवस्थामा छ भन्ने सन्देश प्रवाह गर्न कोशिस गरिरहेका छन्। अर्थमन्त्री भएपश्चात अर्थ मन्त्रालयमा विभिन्न माग राख्दै जाने सम्पूर्ण निजी क्षेत्रका छाता संगठनहरुलाई एउटै बोली र आश्वासन दिएका थिए। अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रको आत्मवल जगाउनु पहिलो प्राथमिकता देखिएको छ।

अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासङ्घ,नेपाल उद्योग परिसंघ,नेपाल चेम्बर अफ कमर्स,नेपाल निर्माण व्यवसायी महासंघ,नेपाल बैंकर्स संघ,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था लगायतका संस्थाहरूलाई एउटै आश्वासन र आशा जगाउने वचन दिएका छन्। उनीले सरकार निजी क्षेत्रको अभिभावक भएकाले सबैका समस्या सम्बोधन गर्ने धारणा राखेको छन्।

अर्थमन्त्री पौडेलले सबै निजी क्षेत्रका छाता सङ्गठनसँग मुलुकको अर्थतन्त्र सुधार हुने र सरकारले सुधार गरी लगानीको वातावरण सिर्जना गर्ने भन्दै सकारात्मक हुन आग्रह गरेका छन्।

पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्यामा आगो बाल्न नभई आगो निभाउन बनेको भन्दै निजी क्षेत्रलाई विश्वासमा लिने कोशिस गरे। सरकारको नीति नै निरासा चिर्दै भरोसा जगाउने भएको भन्दै ढुक्क भएर काम गर्न उत्प्रेरित गरेका छन्।

निजी क्षेत्रमा आशाको दियो बाल्ने अर्थमन्त्रीको अठोट

उपप्रधान तथा अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमान बनाउँदै निजी क्षेत्रको मनोवल उच्च बनाउनु पर्ने चुनौती पूर्ण अवस्थामा जिम्मेवारी लिएको बताउँदै आएका छन्।

पौडेलले अर्थतन्त्रमा देखिएको सुस्तता, सरकारप्रति टुटेको मनोबललाई उकास्दै सबैको निरासा चिर्दै भरोसा जगाउँने निजी क्षेत्रको साथ र सहयोग औंल्याए।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रका करिव ८ भन्दा बढी छाता सङ्गठनहरूसँगको भेटमा एककै बोली बोलेर निजी क्षेत्रलाई सरकारप्रति आशावादी हुन आग्रह गरे। पौडेलले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आम मानिसहरूमा सकारात्मक सन्देश दिने प्रयास गरे।

निजी क्षेत्रलाई विश्वासमा लिन सिपालु अर्थमन्त्री यो पटक पनि निजी क्षेत्रको विश्वास लिन सफल भएको देखिन्छ। अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोवल कमजोर हुन दिनको लागि मौद्रिक नीतिमार्फत निजी क्षेत्रका मागलाई सम्बोधन गरी पहिलो आशा जगाउन सफल भएको देखिन्छ।

अर्थमन्त्री भएर पहिलो पटक बैंकका सिइओहरूको संस्था नेपाल बैंकर्स सङ्घका पदाधिकारीहरूसँग जनाएको प्रतिवद्धता मौद्रिक नीतिपछि भेट्न गएको स्वतन्त्र ऊर्जा उत्पादकहरूलाई समेत एउटै प्रतिवद्धता जनाए। एक सूत्रीय वचन दिएर अर्थमन्त्रीले पौडेले निजी क्षेत्रलाई विश्वासमा लिने प्रयास गरे।

उनले दुई ठूला राजनीतिक दलहरू बीचको समिकरण नै स्थायी सरकार बनाएको उल्लेख गरेका थिए। उनले सबै व्यवसायीहरूलाई सरकार प्रति भरोसा गर्न बारम्बार आग्रह गरे।

निजी क्षेत्रका ६ संस्थाहरूसँग अर्थमन्त्रीको एउटै आग्रहः आशावादी भइदिनुस्

अर्थमन्त्री पौडेलले बैंकका सिइओहरूलाई बैंक तथा वित्तीय संस्थाका समस्या समाधान गर्न तयार रहेको भन्दै बजारमा सरकारप्रतिको सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे। उनले सरकार सबैको अभिभावक भएकाले अभिभावकको भुमिका निभाउने आश्वासन दिए।

उनले यो नै स्थिर सरकार भएकाले सरकारप्रति आशावादी हुन आग्रह गर्दै यो सरकारले समस्याको निकासा दिन्छ भन्ने सन्देश संप्रेषण गरी सरकारलाई साथ दिन आग्रह गरे।

अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासहरूसँग दोस्रो भेट गर्दै बैंकर्स संघलाई जस्तै वर्तमान सरकारप्रति आशावादी हुन आग्रह गरे। उनले सरकारप्रति निजी क्षेत्रले गरेको भरोसा र विश्वास छुट्न नदिने प्रतिवद्धता जनाए।

अर्थमन्त्री पौडेलले महासंघलाई सरकारले निजी क्षेत्रका समस्या सुनेर समाधान दिन्छ भन्ने विश्वासको साथमा आफ्ना पेशा व्यवसायमा लाग्न आग्रह गरे। उनले सरकारले टुटेको मनोबललाई उठाउने काममा निजी क्षेत्रको साथ आवश्यक रहेको उल्लेख गरे।

उनले भने,‘सरकारप्रति निजी क्षेत्रले गरेको भरोसा र विश्वास छुट्न दिने छैनौं। तपाईंहरू सरकार छ। अभिभावकको भुमिकामा छ। सरकार छ निजी क्षेत्रका समस्या सुन्छ। समाधान दिन्छ भन्ने विश्वासको साथमा आफ्ना पेशा व्यवसायमा लाग्नुुस्। पेशा व्यवसायको माध्यमबाट राज्यलाई योगदान दिनु्स्। निजी क्षेत्रमा रहेका समस्या बोकेर हिँडिराख्नुपर्ने अवस्थाको अन्त्य गर्दै महासंघले राखेका मागलाई सरकारले सुनुवाई गर्छ। लगानी, उत्पादन, रोजगारी सिर्जनाका लागि सरकारले काम गर्छ। मुख्य रुपले टुटेको मनोवललाई उठाउने काममा विशेष पहलकदमी रहोस्। सरकार निजी क्षेत्रसँगै हुनेछ।’

अर्थमन्त्री पौडेलले नेपाल उद्योग परिसंघसँगको भेटमा पनि सरकार प्रति विश्वास जागृत नभए आत्मबल नबढ्ने भन्दै सरकारप्रति विश्वास गर्न माग गरे। उनले निरासा चिर्ने र आशा जगाउने सरकारको मुख्य नीति रहेको उल्लेख गरे। उनले निजी क्षेत्रको मनमा आशाको दियो बाल्ने अपेक्षाका साथ काम गर्ने प्रतिवद्धता जनाए।

नेपाल निर्माण व्यवसायी महासङ्घसँगको भेटमा पनि वर्तमान सरकार व्यवसायीहरुका समस्यामा आगो बोल्न नभई निभाउन आएको उल्लेख गरेर व्यवसायीलाई आशावादी बनाउने काम गरे। उनले निर्माण व्यवसायीहरूले पनि सरकारप्रति आशा विश्वास र भरोसा गर्नु जरुरी रहेको उल्लेख गरे।

अर्थमन्त्री पौडेलले चेम्बर अफ कमर्ससँगको भेटमा पनि अन्य संस्थाहरूलाई भने जस्तै सरकारप्रति आशावादी हुन आग्रह गरे। उनले निजी क्षेत्रलाई सरकारले निरासा र दुःख नदिने गरी काम गर्ने प्रतिवद्धता जनाए।

उनले स्थायित्व र राजनीतिक स्थिरताका निम्ति वर्तमान संसदमा बन्ने सरकार यही मात्रै भएको दाबी गर्ने अहिलेकै सरकारले स्थायित्व र स्थिरता दिनसक्ने विश्वास दिलाए।

अर्थमन्त्रीसँग पुँजीबजार लगायत अन्य निजी क्षेत्र सकारात्मक रहेका छन्। निजी क्षेत्रले वर्तमान सरकार बनेसँगै अर्थतन्त्रमा सुधार हुने धारणा राख्दै आएका छन्। तर, अर्थमन्त्री पौडेलले निश्चित व्यापारिक घराना हेरेर होइन, समग्र निजी क्षेत्रलाई नै प्रतिष्पर्धी बनाउने नीति ल्याएर आर्थिक गतिविधि चलायमान बनाउनु पर्ने वर्तमान आवश्यकता छ।

प्रकाशित: २१ श्रावण २०८१ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App