१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक

सौराहाका होटल व्यवसायी सुमन घिमिरेले गत आर्थिक वर्षमा पर्यटक आएनन् भनेर निराश हुनु परेन। भूकम्प, नाकाबन्दी, कोरोना भाइरस महामारीमा सुनसान बनेको होटल गत वर्ष भरिभराउ रह्यो। ‘सौराहामा कोभिडपछि स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्दै गएको देखिन्छ’, क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले भने, ‘अघिल्लो वर्ष होटल व्यवसायीलाई निराश हुनुपर्ने अवस्था आएन।’ नेपालको आर्थिक अवस्थामा सुधार आउने हो भने सौराहामा पर्यटकको संख्या अझै बढाउन सकिने उनी बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै सबैभन्दा धेरै पर्यटक आव २०८०/२०८१ मा भित्रिएका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्ष तीन लाख ६ हजार आठ सय ३७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका छन्।

निकुञ्जमा घुम्न आएका पर्यटकको संख्या हालसम्मकै धेरै रहेको उनले बताए। ‘निकुञ्जमा के कारणले पर्यटकको संख्या वृद्धि भएको थाहा भएन’, तिवारीले भने, ‘सम्भवतः निकुञ्ज घुम्ने पर्यटकको संख्या हालसम्मकै धेरै हो।’ निकुञ्ज भ्रमण गर्नेमा विदेशी पर्यटकको संख्या पनि उच्च छ। सो वर्ष एक लाख ३० हजार पाँच सय ५१ विदेशी पर्यटकले भ्रमण गरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। विदेशीमध्ये सार्क राष्ट्रका ३६ हजार चार ७१ र अन्य मुलुकका ९४ हजार ५० जना रहेका छन्।

निकुञ्जले सो वर्ष ३६ करोड ७२ लाख ९२ हजार ८ सय ७ रूपैयाँ राजस्व आम्दानी गरेको छ । अघिल्लो आव २०७९/०८० मा निकुञ्ज प्रवेश गर्ने पर्यटक संख्या दुई लाख ९९ हजार चार सय १२ थियो। यो आवभन्दा गएको आवमा विदेशी पर्यटकको संख्या वृद्धि भएको देखिन्छ। आव २०७९/०८० मा ९२ हजार आठ सय विदेशीले मात्र निकुञ्ज घुमेका थिए।

गत आवमा एक लाख ३० हजार बढीले घुमेका छन् तर आन्तरिक पर्यटकको संख्या भने निकुञ्जमा घटेको छ। अघिल्लो आव दुई लाख पाँच हजार पर्यटकले निकुञ्ज घुम्दा गएको वर्ष एक लाख ७६ हजार तीन सय १६ जनाले भ्रमण गरेका थिए। अघिल्लो आवमा २९ करोड ८९ लाख ६५ हजार चार सय ९५ रूपैयाँ राजस्व उठेको थियो।

गएको वर्ष नेपाली सबैभन्दा धेरै कात्तिकमा ३१ हजार दुई सय ३७ जनाले निकुञ्जको भ्रमण गरेका थिए। पछिल्लो १० वर्षमा सबैभन्दा कम आव २०७२/०७३ मा ८७ हजार तीन सय ९१ र कोरोना भाइरसको महामारी फैलिएको आव २०७७/०७८ मा ९८ हजार दुई सय २८ पर्यटकले निकुञ्ज घुमेको देखिन्छ। पछिल्ला वर्षहरूमा विदेशीभन्दा स्वदेशी पर्यटकले निकुञ्ज घुमेको कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। कोभिडपछि विदेशीको संख्या पनि क्रमशः बढ्दो छ।

सरकारले २०३० सम्म भ्रमण वर्ष दशक मनाइरहेको छ। यो अवधिमा २० लाख विदेशी पर्यटक भिœयाउने सरकारी लक्ष्य थियो। त्यसमध्ये चितवन निकुञ्जमा वार्षिक चार लाख पर्यटक आउनुपर्ने लक्ष्य यहाँका व्यवसायीको रहेको छ। यसका लागि यहाँका व्यवसायीले ‘घुमौं सौराहा’, ‘भरतपुर भ्रमण वर्ष’ लगायतका कार्यक्रम राखेका छन्। छिमेकी चीन र भारतमा पुगेर प्रचार–प्रसार गरेको व्यवसायीले बताएका छन्। चितवनमा १५ हजार पर्यटक राख्ने होटल छन्।

निकुञ्जमा पर्यटक बढेसँगै राजस्व संकलन पनि बढ्न थालेको छ। आव ३६ करोड ७२ लाख ९२ हजार ८०७ रूपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जका अनुसार सबैभन्दा धेरै पर्यापर्यटनबाट ३० करोड ५७ लाख १८ हजार चार सय रूपैयाँ र गैरकाठ तथा वनपैदावार बिक्रीबाट चार करोड ६५ लाख ३५ हजार चार सय रूपैयाँ राजस्व संकलन भएको छ। संकलित राजस्वको ५० प्रतिशत रकम निकुञ्जले मध्यवर्ती क्षेत्रमा उपलब्ध गराउँदै आएको छ। वन्यजन्तुले मानव तथा मानव बस्ती र खेतीबालीमा क्षति पु¥याएमा सोवापत राहत रकमसमेत निकुञ्जले उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: १३ श्रावण २०८१ १६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App