२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

होमस्टेले बदलियो दराई गाउँ

चितवन – होमस्टे सञ्चालन गरेपछि कुमरोजको घोग्रेला गाउँ फेरिएको छ। दराई समुदायको बसोबास रहेको खैरेहनी नगरपालिका–१२ को घोग्रेलामा २०७१ पुस १२ गतेबाट होमस्टे सञ्चालन गरिएपछि गाउँमा परिवर्तन देखिएको हो।

जिविकोपार्जनका लागि खेतिपातीमा मात्र निर्भर दराई समुदायको घरमै बसेर आर्थिक आम्दानी गर्ने बाटो होमस्टे बनेको छ। पाँच घरबाट होमस्टेको सेवा दिन सुरु गरिएको गाउँमा अहिले ११ घरले होमस्टे चलाउन पाहुना घर बनाएका छन्। 
प्रत्येक घरले आफ्नो घर आडमा पाहुनाका लागि एक कोठे घर बनाएका छन्। टीनले छाएको कंक्रिटको एक कोठे घरको भित्ता माटोले लिपिएको छ। भित्तामा वन्यजन्तु, कलश, पक्षीका चित्र कोरिएका छन्। अहिलेसम्म आठ घरका होमस्टे पाहुनाका लागि सञ्चालनमा ल्याइएको कुमरोज दराई होमस्टेकी अध्यक्ष प्रतिमा दराईले जानकारी दिइन् । दराई समुदायको सांस्कृतिक कार्यक्रम देखाउन, छलफल तथा मिटिङ कार्यक्रम गर्न मिल्ने सांस्कृतिक घर पनि बनाउन सुरु गरिएको छ। 

नवलपरासीमा जनजाति समुदायले होमस्टे चलाएर आयआर्जन गरेको देखेकाले दराई समुदायमा पनि होमस्टे चलाएर आर्थिक आम्दानी गर्न होमस्टे सुरु गरेको उनले बताइन्। ‘गाउँमा होमस्टे बनाउन त बनाइयो चल्दैन कि भन्ने थियो,’ उनले भनिन्, ‘बिस्तारै चल्दै गएको छ, अब २० वटा घरमा चलाउने लक्ष्य छ।’

होमस्टे सुरु गरिएको केही महिनामै गएको भूकम्पका कारण नेपालमा पर्यटक आगमन कम भयो । यसले पनि दराई होमस्टेसम्म पुग्ने पाहुनाको संख्या घटायो। चितवनका पर्यटन व्यवसायीसँग सहकार्य र होमस्टेको प्रचारप्रसार गरेपछि भने होमस्टेमा पाहुना बढ्न थालेको अध्यक्ष प्रतिमा बताउँछिन्। सौराहामा रहेका होटेल व्यवसायीले पनि होमस्टेमा बस्न चाहने पर्यटकलाई घोग्रेला पठाई दिन्छन्। यस्तै, अध्ययन अनुसन्धान गर्ने विद्यार्थी पनि पाहुना बनेर आइपुग्छन्। 

होमस्टेमा आउने पाहुना अधिकांश नेपाली नै छन्। परिवार तथा साथीभाईसँग समूहमा मनोरञ्जन गर्न आउने धेरै रहेको होमस्टे सञ्चालक गोविन्द दराई बताउँछन्। होमस्टे भरतपुरबाट २५ किमि तथा सौराहाबाट सात किमि दूरीमा रहेको छ। उनका अनुसार अहिलेसम्म होमस्टेमा करिब दुई हजार पाहुना आएका छन्।
होमस्टे चलाउन साढे तीन लाख खर्च गरेर पाहुनाका लागि घर तयार गरिएको छ। मध्यवर्ती क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, प्रकृति संरक्षण कोष तथा सरकारी कार्यालय लगायतबाट पाएको सहयोगका कारण प्रत्येक घरले करिब एक लाख रुपैयाँ खर्चेर पाहुना घर बनाउन सके।

होमस्टेमा बसेर स्थानीय दराई समुदायको रहनसहन, संस्कृति र जीविकोपार्जनसँगै कृषिबारे पनि जानकारी लिन सकिन्छ। कुमरोज मध्यवर्ती सामुदायिक वन नजिक रहेकाले जिप सफारी, हात्ती सफारी, हिँडेर जंगल घुम्न र वन्यजन्तु अवलोकन गर्न सकिने होमस्टेका सचिवसमेत रहेका गोविन्द बताउँछन्। यसबाहेक राप्ती नदिमा डुंगा सयर गर्न पाइन्छ। सबै होमस्टे सञ्चालक परिवार जीविकोपार्जनका लागि कृषिमा निर्भर छन्। 

त्यसैले होमस्टेमा बस्ने पाहुनाका लागि पनि घरकै चामल, दाल, तरकारी प्रयोग गरिन्छ। हाँस, कुखुरा पनि प्रायःजसो घरमा पालिएको छ। पाहुनाको रोजाइअनुसार माछा, घाेंगी पनि दिइन्छ। पाहुनाको स्वागत तथा सत्कारमा सबै होमस्टे सञ्चालक खटिन्छन्। होमस्टेमा आउने पाहुनाको इच्छाअनुसार समूहमा एकै ठाउँमा तथा पाहुना बस्ने घरमै खाना खाने व्यवस्था गरिएको अध्यक्ष प्रतिमाले बताइन्। 

सबै होमस्टे सञ्चालकलाई आम्दानी होस् भनेर होमस्टे आउने पाहुनालाई पालो गरेर बसोबासको व्यवस्था गरिएको छ। होमस्टे सञ्चालक कमली दराई घरमै बसेर आम्दानी गर्न सकिने भएकाले होमस्टे चलाएको बताउँछिन्। खेतीपाती र ज्याला मजदुरी गरेर पाँचजनाको परिवार पालिएको बताउँदै उनले भनिन्, ‘प्रचारप्रसार भएर पाहुना धेरै आए आम्दानी पनि धेरै हुन्थ्यो।’ होमस्टेले गर्दा नयाँ मानिससँग भेटघाट हुने, गाउँलाई सबैले चिन्ने भएकाले खुसी लागेको उनले बताइन्। 

दराई जातिको मात्र बसोबास रहेको घोग्रेलामा होमस्टे सञ्चालन गरेपछि धेरै परिवर्तन भएको छ। ‘पहिले गाउँ यस्तो थिएन,’ प्रतिमा भन्छिन्, ‘गाउँको मुहार नै फेरिएको छ।’ साँघुरो बाटोलाई फराकिलो बनाएर ६ मिटरको बनाइएको छ। साताको एकपटक सामूहिक रुपमा गाउँ सफा गरिन्छ। पहिले मेलापात तथा रमाइलोको लागि मात्र भेला हुने समुदाय अहिले गाउँको विकासबारे छलफल गर्न पनि भेला हुन्छन् । नयाँ मान्छे देख्दा बोल्न लजाउने, अफ्ठ्यारो मान्ने दराई महिला नै अहिले पर्यटकको बसाइँ आरामदायी बनाउन खटिन्छन्। ‘जानेको कुरा एकअर्कालाई सिकाउँदै सिक्दैछौं,’ उनले भनिन्, ‘पाहुनको स्वागत, सत्कारका तौरतरिका पनि जान्ने प्रयास गरिरहेका छौं।’

प्रकाशित: १४ चैत्र २०७४ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App