२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

घोरेपानी–पुनहिल क्षेत्रमा आन्तरिक पाहुनाको भीडभाड

पदयात्रा र सडक सञ्जालबाट पुग्न सकिने भएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रमुख पर्यटकीय गन्तव्य घोरेपानी र पुनहिल क्षेत्रमा पछिल्ला दिनमा विदेशी भन्दा स्वदेशी पाहुनाको भीड लाग्न थालेको छ।  

कोरोना महामारी पछि घोरेपानी र पुनहिल घुम्न जाने पर्यटकको ठूलो हिस्सा आन्तरिक पर्यटकले ओगटेको स्थानीय व्यावसायीले बताएका छन्। समुन्द्रि सतहदेखि २८ सय ७४ मिटर उचाइमा पर्ने घोरेपानीसम्म सडक सञ्जाल पुगेपछि अहिले बेनी–जोमसोम सडकखण्ड अन्तरगत पोखरेबगर–घारा–चित्रेबाट सवारीसाधन तथा कास्कीको घान्द्रुक लगायतका क्षेत्रबाट पर्यटक भित्रिने गरेका छन।

अन्नपूर्ण पदयात्राको सुन्दर गन्तब्य घोरेपानी, पुनहिल बाह्यसँगै आन्तरिक पर्यटकको समेत रोजाईमा परेपछि अहिले पर्यटन व्यावसायीको व्यस्तता बढाएको छ। सडक र पदमार्ग निर्माण, सुन्दर, शान्त र मनोरम वातावरणका बारेमा जानकारी पाएपछि समुह बनाएर पुनहिल भ्रमणमा निस्केको घुम्न आएकी लक्ष्मी सापकोटाले बताइन् । ‘पुनहिल सुने भन्दा पनि सुन्दर ठाउँ रहेछ । यहाँ आउँदा फरक अनुभुती भयो,’ सापकोटाले भनिन्। उनीसँगै सावित्री सापकोटा लगायत ३० जनाको समुह पुनहिल पुगेका थिए।  

विदेशी पर्यटक बाहेक देशका विभिन्न जिल्लाबाट सिजनमा दैनिक २ सयभन्दा बढी आन्तरिक पाहुना घुम्न आउने होटल ब्यवस्थापन समिति घोरेपानकी अध्यक्ष मिना पुनले बताइन्। ‘विदेशी पर्यटक नआउँदा स्वदेशीको आगमनले धानेको छ, कोरोना अगाडीको तुलनामा विदेशी कम आएका छन्,’ अध्यक्ष पुनले भनिन् ।

अघिल्लो दिन पैदलमार्ग र सवारीसाधनबाट गएका पाहुना घोरेपानी पुगेर बास बस्ने र बिहान मिर्मिरे उज्यालो नहुँदै पुनहिलबाट सूर्योदय, संसारको सातौं अग्लो चुचुरो धौलागिरि, दशौं अग्लो चुचुरो अन्नपूर्ण सहित माछापुच्छ्रे, नीलगिरी, मानपाथी लगायत दर्जन बढी हिमश्रृंखलाको मनोरम दृश्यावलोकन र गुराँस क्षेत्रसँग रमाउन पाउँदा पाहुना खुसी हुने गरेको उनले बताईन।  घोरेपानीबाट करिब एकघण्टाको पैदलयात्रा पछि ३ हजार २ सय १० मिटरको उचाइमा रहेको पुनहिलबाट गुराँस, हिमाल र सूर्योदय नियाल्दा थकाई नै बिर्सिने भएकोले पाहुना आकर्षण बढी रहेको उनले बताईन।

पुनहिल घुम्न पुगेका एमालेका केन्द्रीय सचिव समेत रहेका नेता गोर्कण विष्टले उदाउँदो सूर्योदय र आँखैअगाडी ठोकिने हिमश्रृंखला निकै लोभलाग्दो भएको बताए। ‘नेपालीले नै घुम्नुपर्ने धेरै गन्तब्य मध्येको एक पुनहिल पनि हो ।  बाह्य पर्यटनसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत राज्यले विशेष ध्यान दिनुपर्छ,’ सचिव विष्टले भने। पदमार्गको दुवैतर्फ फुलेका लालीगुँरास, फराकिला सिँढी, वनजंगल, मगर कला र संस्कृतिको मनोरम दृश्यले उत्साहित भएको उनले बताए। घोरेपानीमा पर्यटन व्यावसायीको आतिथ्यता पनि  झनै लोभलाग्दो रहेको उनले सुनाए।  

कोरोना भाइरसका कारण विदेशी पर्यटक आगमन घटेको र आन्तरिक पर्यटकको चाप बढेपछि पर्यटन व्यावसायीलाई समेत राहत महसुस भएको उनले बताए। धेरैजसो आन्तरिक पर्यटकले समेत बाह्य पर्यटक सहर खर्च गर्ने गरेका छन्। घोरेपानीका होटल व्यावसायीले आन्तरिक र बाह्य पर्यटक भनेर भिन्नता नदेखाउने गरेकाले पनि आन्तरिक पर्यटकबाट समेत घोरेपानी र पुनहिलका बारेमा सकारात्मक सन्देश प्रवाह भइरहेको स्थानीयको भनाई छ।

सिजनमा एकैदिन ४ देखि ६ सयसम्म पर्यटक घोरेपानी पुग्ने गरेका छन्। म्याग्दीको भ्रमण गर्न आउने अधिकांश पर्यटक पुनहिल र घोरेपानी पुग्छन्। बर्सेनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै जान थालेपछि घोरेपानीमा मात्रै २२ वटा साना तथा ठूला होटल संचालनमा आएका छन्।  

घोरेपानीबाट पैदलयात्राको क्रममा केही ठाउँमा सडक बत्ती नहुदाँ समेत पर्यटकलाई सास्ती हुने गरेको  छ। घोरेपानी भ्रमणमा आउने पर्यटकको सुरक्षाका लागि घोरेपानीमा पर्यटक प्रहरी चौकी पनि स्थापना गरिएकाले पर्यटकलाई सहज भएको छ। घोरेपानी र पुनहिलमा एकपटक आउनैपर्ने गरी आवश्यक पूर्वाधार तथा यस क्षेत्रको विकासका लागि तीनै तहको सरकारले उचित प्राथमिकता दिनुपर्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताए।

‘एकपटक पुगेका पर्यटकलाई पटकपटक बोलाई रहन्छ, लोभ्याइरहन्छ र पछ्याइरन्छ, यहाँ आवश्यक पर्ने पूर्वाधार बनाउन तीनै तहका सरकारले ध्यान दिनुपर्छ, हामीले आवश्यक समन्वय गछौं,’ जिसस प्रमुख थापाले भने। म्याग्दी जिल्लामा भित्रिने ६० हजारभन्दा बढी विदेशी पर्यटकको ६० प्रतिशतभन्दा बढी घोरेपानी र पुनहिलमा पुग्छन्।  

प्रकाशित: ३० चैत्र २०८० १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App