३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

नारायणगढ–मुग्लिन सडक खण्डमा सञ्चालनमा आए ११ वटा पुल

नारायणगढ–मुग्लिन सडक खण्डका ११ वटा पुल सञ्चालनमा आएका छन्।​ मुग्लिन बजारनजिकैको खहरे, नाम्चे, कालीखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन्।

निर्माण भइरहेका चार पुलमा तीन वटाको पहुँच सडक निर्माणको काम जारी छ। नाम्चे, कालीखोला र खहरे खोलामा निर्माण भएका पुलको पहुँच सडक निर्माणको काम भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले बताए।

इन्जिनियर आचार्यका अनुसार पहुँच सडक निर्माण भइरहेका पुलमध्ये नाम्चे र कालीखोलाको पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी काम गरिएको छ।

खहरे खोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले केही समय लाग्ने उनको भनाइ छ।

तुइन खोलाको पुल निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए। उनले भने- तुइन खोलाको पुल निर्माण कामअन्तर्गत जग उठाउने काम सम्पन्न भएको छ।

तुइन खोला र खहरे खोलाको पुल निर्माणको काम कात्तिक मसान्तभित्र सक्ने गरी भइरहेको उनले बताए। यस सडक खण्डमा १९ वटा पुल छन्, जसमध्ये विसं २०७६ चैत १० गते १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।

विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन्। सडक चौडा भएपछि पुलको काम थालिएको हो। यो सडक ९ देखि ११ मिटरसम्म फराकिलो बनाइएको छ। -रासस

प्रकाशित: ३० चैत्र २०८० ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App