२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ठुला सहर झिलिमिली पार्दै सरकार

सरकारले काठमाडौँ उपत्यकासहित देशका मुख्य सहरमा ‘झिलिमिली’ पार्ने योजना अघि सारेको छ। 

योजना अन्तर्गत मुख्य सहरका सडकहरूमा आधुनिक बत्तीहरू जडान गर्ने तयारी सुरु गरेको छ। योसँगै व्यस्त सडकहरूमा आधुनिक ट्राफिक लाइटहरू पनि जडान गरिनेछ।

बिद्युत्को खपत वृद्धि गर्ने र सहरलाई २४ सैं घण्टा उज्यालो तथा चलायमान बनाउने उद्देश्यले सरकारले पहिलो पटक आधुनिक बत्तीहरू जडान गर्ने योजना बनाएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले योजना कार्यान्वयनको नेतृत्व लिने भएको छ। मुख्य सहरका सडकहरूमा आधुनिक र व्यवस्थित बत्तीहरू जडान हुनेछन्।

अहिले मन्त्रालय कुन–कुन सहरमा र कति सङ्ख्यामा लाइट राख्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापनमा जुटेको छ।

नेपालमा पहिलो पटक आगामी असार मसान्तदेखि काठमाडौँ उपत्यकासहित मुख्य सहरमा आधुनिक ट्राफिक लाइट राख्ने गरी योजना बनाएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिए।

असार मसान्तपूर्व आधुनिक ट्राफिक लाइट कहाँ, कति र कसरी राख्ने लगायतका विवरणहरू सडक विभाग र ट्राफिक प्रहरीमार्फत लिएर योजना बनाउन लागिएको उनले जानकारी दिए।

‘सबै प्रक्रिया मिलाएर आगामी असार मसान्तदेखि हामीले आधुनिक लाइटिङको व्यवस्था गर्न गइरहेका छौँ। पहिलो चरणमा काठमाडौँ, ललितपुर र भक्तपुरमा पाइलट प्रोजेक्टका रूपमा सुरु गर्छौ,’ उनले भने, ‘त्यसपछि उपत्यकाबाहिर पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगन्ज लगायतका सहरमा विस्तार गर्दै लैजाने योजना बनाएका छौँ।’

त्यसका लागि सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ देखि नै बजेट व्यवस्थापन समेत गर्ने जनाएको छ। ‘आधुनिक ट्राफिक लाइटलाई पाइलट प्रोजेक्टका रूपमा अघि बढाउँदैछौं। त्यसका लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ’, मन्त्रालयका स्रोत भन्छ। स्रोतका अनुसार, मुख्य सहरहरूमा आधुनिक लाइटिङको व्यवस्था गर्न १० करोडभन्दा बढी रकम लाग्ने अनुमान छ। 

प्रकाशित: २८ चैत्र २०८० १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App