३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

चित्रे–घोडेपानी सडक स्तरोन्नतिको काम अघि बढ्यो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम अघि बढेको छ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने चित्रे–घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्ने तयारी थालेको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले मन्त्रालयको निर्देशनअनुसार सडक स्तरोन्नति गर्न प्राविधिक टोलीले सर्वेक्षण गरेको जानकारी दिए। विसं २०७६ मा प्रदेश सरकारको लगानीमा मार्ग खुलेको थियो।

सडक विस्तार, ग्रेड, घुम्ती तथा मोड सुधार गरेर बाह्रै महिना सहजरूपमा नियमित यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारले प्राथमिकता र चासो देखाएको हो।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा तीस लाख बजेट विनियोजन भएको यो सडक योजनाका लागि थप तीस लाख बजेट थप गर्ने र त्यसलाई २० प्रतिशत मानेर तीन करोड बजेट बराबरको बहुवर्षीय ठेक्का लगाउन लागेको छ।

गत मंसिर दोस्रो हप्ता घोडेपानीमा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रथम चौमासिक समीक्षामा सहभागी हुन आएका प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चित्रे–घोडेपानी सडक स्तरोन्नति गर्न यसै वर्ष बहुवर्षीय ठेक्का प्रक्रिया सुरु गर्ने घोषणा गरेको थियो।

घोडेपानीबाट कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यस वर्ष तीस लाख बजेट विनियोजन भएको छ। गाउँपालिकाको केन्द्र पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको छ।

कास्कीको नयापुुल, तिखेढुुङ्गा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना छ।

सडक सहज भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगमन बढ्ने, स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृश्य अवलोकनका लागि प्रसिद्ध छ। यहाँ वार्षिक ३० हजारभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउने गरेका छन्। –रासस

प्रकाशित: ६ माघ २०८० ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App