४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आयल निगमले मनायाे ५४ औं वार्षिकोत्सव

नेपाल आयल निगमले विविध कार्यक्रमसहित ५४औं वार्षिकोत्सव मनाएको छ। निगमले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएकोमा बिहीबार मूल समारोह सम्पन्न गरेको थियो।

वार्षिकोत्सवको अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउनुपर्ने बताए। आपूर्ति सुनिश्चित गरी व्यवस्थापन गर्न समयसापेक्ष पूर्वाधार विकास गर्न गर्नुपर्ने धारणा उनले राखे। मन्त्री रिजालले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गतको ड्रिलिङ कार्यलाई निरन्तरता दिन समन्वय गरिरहेको बताए।

उनले निगम भित्रका समस्या समाधान गर्ने आश्वासन दिए। मन्त्री रिजालले उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गर्नुका साथै निगमको ५४ औं वार्षिकोत्सवका अवसरमा प्रकाशित मुखपत्र ‘प्रभात’ विमोचन गरे।

कार्यक्रममा निगम सञ्चालक समितिका अध्यक्ष एवम् आपूर्तिसचिव नारायणप्रसाद शर्मा दुवाडीले निगमलाई सबल र सक्षम संस्थाकारूपमा विकास गर्न विभिन्न चुनौती रहेको औंल्याउँदै दायित्वमुक्त हुँदैमा वित्तीय अवस्था सुदृढ छ भनेर ढुक्क हुन नहुने बताए। उनले व्यावसायिक छवि उकास्न तथा नागरिकप्रतिको दायित्व पूरा गर्न नीतिगत सुधार आवश्यक रहेको बताए।

इन्धन आपूर्तिमा निगमले खेलेको भूमिकाको बारेमा निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी गराएका थिए। निगमले प्रभावकारी रूपमा सेवा दिँदै आएको निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले बताए।

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष वीरेन्द्रबहादुर चन्द, नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष विकास बखेतीले कर्मचारीका मागका बारेमा जानकारी गराएका थिए।

त्यसैगरी, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दासले निजीक्षेत्रलाई पनि सँगसँगै लिएर अघि बढ्न सुझाव दिए।

वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार, प्रमाणपत्र तथा पदक प्रदान गरिएको निगमका निर्देशक पूर्ण रिजालले बताए।

प्रकाशित: २७ पुस २०८० ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App