३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थतन्त्र सुधारको सरकारी दाबी असत्य

उद्योगहरूको मागमा ३६.९३ प्रतिशतले संकुचन

सरकारले मुलुकको अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहँदा निजी क्षेत्रले गरेको एक अध्ययनले अर्थतन्त्र अझै समस्यामा रहेको देखाएको छ। निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसंघ (सिएनआई) ले गरेको सर्वेक्षणले तीन वर्षको तुलना गर्दा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा उद्योगहरूको समग्र मागमा ३६.९३ प्रतिशतले संकुचन आएको देखाएको छ।  

सिएनआईले सोमबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार अर्थतन्त्र अझै मन्दीमा रहेको देखाउँछ। आव २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले संकुचन आएको छ।

विदेशी मुद्राको सञ्चिती, रेमिट्यान्स र पर्यटक आगमनमा वृद्धि भए पनि आन्तरिक बजारले अर्थतन्त्रका आन्तरिक सूचकमा अपेक्षित सुधार हुन नसकेको अध्ययनले देखाएको छ।

सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएकोमा चालु आवको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिन्छ। यसरी हेर्दा आव २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले संकुचन आएको हो।

अर्थतन्त्रका बाह्य सूचकमा सुधार आए पनि अर्थतन्त्र अझै समस्यामा रहेको सर्वेक्षणले देखाएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए। ‘अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार देखिएन,’ अग्रवालले भने, ‘बजारको मागको माग सुधार नआउँदा उत्पादनमा संकुचन आयो।’ परिसंघले आन्तरिक उत्पादनको अध्ययन गरेको हो। यहाँ प्रयोग हुने वस्तु स्वदेशी उत्पादन मात्र नभएर विदेशबाट पनि आयात हुन्छ। विदेशबाट आयात हुने वस्तुमा पनि गिरावट नै छ।

पोहोरको तुलनामा यो वर्षको मंसिरसम्म आयातमा ३.३९ प्रतिशतले गिरावट छ भने निर्यातमा पनि ६.०९ प्रतिशतले कमी आएको छ।

उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकामा चालु आवको सोही अवधिमा थप ७.४६ प्रतिशतले घटेको देखिन्छ। आव २०७८/७९ को तुलनामा कुल कारोबार ३०.५४ प्रतिशतले खुम्चिएको छ। अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण उद्योगी–व्यवसायीको मनोबल कमजोर बनेको अध्यक्ष अग्रवालले बताए।

‘उद्योगीहरूले लगानीका योजना पनि स्थगित गरेका छन्,’ अग्रवालले भने, ‘सरकारले दाबी गरे पनि आन्तरिक अर्थतन्त्रमा सुधार आएको छैन।’

अर्थतन्त्रको वास्तविकता आकलन गर्न परिसंघले उद्योग व्यवसाय स्तरमा गरेको सर्वेक्षणले चालु आवको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको देखिँदैन। समग्र बजारको माग खस्किएको छ। कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागेको छ। उद्योगको कच्चा पदार्थको आयातमा गिरावट आएको देखिन्छ।

सर्वेक्षणअनुसार अघिल्लो आवमा ६९.४४ प्रतिशतले उद्योगी–व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेकामा यो वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशतले योजनाहरू स्थगित गरेका छन्। क्षेत्रगत रूपमा हेर्दा सिमेन्ट उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले संकुचन आएको छ। 

आव २०७८/७९ सँगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कुल ४४.५७ प्रतिशले गिरावट आएको छ। यसैगरी, यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९ ले संकुचन आएकामा चालु आवको सोही अवधिमा थप ९.५४ प्रतिशतले कमी आएको छ। आव २०७८/७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कुल ४४.८२ प्रतिशतले संकुचन आएको परिसंघले जनाएको छ।

पुँजीगत खर्चमा वृद्धि नहुँदा त्यसको असर निर्माणजन्य उद्योगमा परेको हो। निर्माण व्यवसाय क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६.२० ले घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ४३.४३ प्रतिशतले घटेको थियो। आव २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२.५९ प्रतिशतले संकुचन आएको सर्वेक्षणले देखाएको छ।

अर्थ क्षेत्रका जानकारका अनुसार बाह्य क्षेत्रको सुधार क्षणिक भएकाले स्वदेशी उत्पादन वृद्धिसँगै खपत बढ्नुपर्ने हो। आन्तरिक माग बढ्न नसक्नुले अर्थतन्त्र समस्यामा रहेको संकेत गर्ने अर्थशास्त्री कल्पना खनाल बताउँछिन्। ‘बजारमा माग खस्किएको छ,’ खनालले भनिन्, ‘स्वदेशमा उत्पादन वृद्धि गरेर रोजगारी सिर्जना गर्नु आवश्यक छ।’ आयात र रेमिट्यान्समा आधारित अर्थतन्त्र जुनसुकै बेला अप्ठ्यारामा पर्नसक्ने उनले बताइन्। ‘आन्तरिक रूपमा अर्थतन्त्र सबल नहुँदासम्म स्थायित्व हुँदैन,’ खनालले भनिन्।

राजधानीमा परिसंघले सर्वेक्षण रिपोर्ट सार्वजनिक गरिरहँदा औद्योगिक नगर विराटनगरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार भएको दाबी गरे। मोरङ व्यापार संघ एक्स्पोमा सोमबार मन्त्री महतले सकारात्मक अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको बताए।

‘हाम्रो अर्थतन्त्र समस्यामा थियो, अझै पनि केही समस्या छ,’ महतले भने, ‘सकारात्मक संकेतहरू देखिएका छन्।’ सेयर कारोबार १८ सयमा झरेकामा बढ्दै गएको र जग्गा कारोबारले पनि केही गति समातेको बताए।

‘बैंकहरूले ब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको छ,’ महतले भने, ‘आउँदा दिनमा अझ वृद्धि हुनसक्छ। पर्यटक आगमन अहिलेसम्मकै उच्च भएको छ।’ उनले सबै सूचक सकारात्मक अवस्थामा भएकाले लक्ष्य गरेको आर्थिक वृद्धिमा पुग्ने दाबी गरे।

प्रकाशित: १७ पुस २०८० ०१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App