१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरा सडक महोत्सवः पाँचदिनमा पाँचलाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य

पोखरा सडक महोत्सवबारे जानकारी दिँदै आयोजक। तस्बिरः उमेश पुन/नागरिक

२५ औं पोखरा सडक महोत्सवमा कम्तिमा पाँचलाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य आयोजकले लिएका छन्। महोत्सवको २५ औं संस्करण विहीबारदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु हुँदैछ। पाँचदिनसम्म चल्ने महोत्सव रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले आयोजना गरेको हो।

अघिल्ला वर्षसम्म कोरोना भाइरस संक्रमणको त्रास हुँदा चाहेर पनि पाहुना पोखरा आउन नपाएको र अहिले भने अवस्था सहज भएकाले अघिल्ला संस्करणमा भन्दा योपटक बढी पाहुना आउने अपेक्षा रहेको रेवान अध्यक्ष नरेश भट्टराईले जानकारी दिए। महोत्सवको तयारी पूरा भएको र पाहुनाको आगमन तथा बुकिङ सुरु भईसकेको उनले बताए।

‘क्रिसमस देखि नै यो पटक केही दिन बिदा परेकोले पोखरामा आगामि केहीदिन अघिल्ला साता भन्दा बढी पाहुना आउने अपेक्षा हो। होटलको बुकिङ सुरु भईसकेको छ। आन्तरिक पाहुनाको चलहपहलले हामी उत्साही भएका छौं,’ मेला तयारीबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा अध्यक्ष भट्टराईले भने, ‘आन्तरिक पाहुना पोखरा भित्र्याउने यो नै सबैभन्दा महत्वपूर्ण र भव्य इभेन्ट बनेको छ।’ पोखरामा भित्रिने आन्तरिक पाहुनाका कारण अबका केहीदिन पोखरा र आसपासका पर्यटकीय क्षेत्रले लाभ पाउनेछन्। पाँचदिन चल्ने महोत्सवमा बढी भन्दा बढी पाहुना भित्र्याउने गरि विभिन्न भागमा प्रवद्र्धनात्मक कार्यक्रम गरेको पनि उनले बताए।  

अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँवर्ष स्वागतार्थ आयोजना गरिने पोखरा सडक महोत्सव लेकसाइडको तीनकिलोमिटर क्षेत्रमा संचालन हुनेछ। हरेक वर्ष एकै समय र अवधिका लागि मेला चल्छ। महोत्सव अवसरमा व्यावसायीले सडकमै रेस्टुरेन्ट राखेर पाहुनाका लागि खाना पस्किनेछन्। रेवान महासचिव विकास भट्टराइले अघिल्ला वर्ष भन्दा भव्य बनाउने गरि महोत्सवको तयारी गरेको बताए। विभिन्न संस्कृति, खाना र म्यूजिकलाई प्राथमिकता दिएर मेला आयोजना गरिरहेको र यसले पोखरामा सबैखाले पाहुना आकर्षित हुने उनले बताए। ‘सबैखाले र उमेर समूहका पाहुनाका लागि मेलाले कुनै न कुनै रुपमा मनोरञ्जन दिलाउनेछन,’ उनले भने।  

पोखरा सडक महोत्सवका लागि लेकसाइडमा तयार पारिएको स्वागतद्वार 

पोखरालाई आन्तरिक र बाह्य पर्यटकको अंग्रेजी नयाँवर्षको गन्तव्यस्थल बनाउने उद्देश्य सहित रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले हरेक वर्ष यो महोत्सव आयोजना गर्दै आएको छ। महोत्सव संयोजक विश्वराज पौडेलले एकैसमय र अवधिका लागि हुने महोत्सवले पोखरालाई पाँचदिनको अवधिमा पर्यटनमय बनाउने बताए।  

महोत्सव संयोजक पौडेलका अनुसार पोखराको लेकसाइड क्षेत्रको तीनकिलोमिटर क्षेत्रमा महोत्सव हुनेछ। ‘सडकमै खाउ, सडकमै रमाउँ र सडकमै नाँचौं,’ भन्ने नाराका साथ हुने महोत्सव नेपालकै पर्यटकीय गतिविधि बढाउने सबैभन्दा ठूलो गतिविधि रहेको उनले बताए। ‘रेबानको यही कार्यक्रमका कारण पोखराको पर्यटन क्षेत्र चलायमान हुने गरेको छ,’ महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा संयोजक पौडेलले भने, ‘पछिल्लो समय यो महोत्सव पोखरालाई मात्र नभई सिंगो नेपाल चिनाउने माध्यम बनेको छ। किनकी महोत्सव भनेरै घुम्नका लागि विदेशी पाहुना समेत पोखरा आउने गर्छन।’

उनका अनुसार यो पटक पनि महोत्सव अवधिमा सडकमा विभिन्न गतिविधि संचालन हुनेछन्। रेस्टुरेन्ट, ह्याण्डिक्राफ्ट सहित साहसिक पर्यटकीय गतिविधि दिलाउने संस्थाले पनि स्टल राख्नेछन्। ‘पोखरा र आसपासको पर्यटनलाई प्रवद्र्धन गर्ने पनि यो महोत्सवको उद्देश्य हो,’ उनले भने, ‘बढी भन्दा बढी पर्यटक भित्र्याउनका लागि पहल गर्नेछौ।’ व्यावसायीका अनुसार महोत्सव अवधिमा पोखराको पर्यटन क्षेत्र पाँचदिनसम्म निकै नै चलायमान बन्नेछ।  

पोखराका पर्यटन व्यावसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पाँचलाख भन्दा बढी पर्यटक भित्र्याएर पोखराले यो बेला आन्तरिक पर्यटनबाट लाभ लिने बताए। यो मेला अब पोखराको मात्र नभई अन्तर्राष्ट्रिय जगतमाझ पनि परिचित बनिसकेको बताए। पर्यटन बोर्ड पोखराका निमित्त प्रमुख नबीन पोखरेलले सन् २०१९ पछि नेपालमा यो वर्ष सबैभन्दा बढी विदेशी पाहुना आउने बताए। सरकारले यो वर्ष १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। विदेशी पाहुनाको आगमन बढेजस्तै योवर्ष आन्तरिक पाहुनाको चलायमान पनि उत्तिकै बढने पोखरेलले बताए।  

प्रकाशित: १० पुस २०८० १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App