५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

वीरगञ्जस्थित सुक्खा बन्दरगाहको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन

पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा रहेको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन अवस्थामा छ। यसको सञ्चालनका लागि सम्बन्धित विभाग र मन्त्रालय थाहा नपाएझैैं गरेर बसेका छन्।

विभागका तत्कालीन महानिर्देशक कृष्णहरि बास्कोटाले चीनसँग गरेको सम्झौता अनुसार बर्सेनि चीनबाट प्राविधिक टोली झिकाइ मर्मत सम्भार गरिँदै आएको थियो। त्यो सम्झौता केही वर्षदेखि नवीकरण नै हुन सकेको छैन। अहिले सो मेसिन प्रयोगविहीन अवस्थामा रहेको हुँदा रकम खर्चेर प्राविधिक टोली चीनबाट बोलाउनुको औचित्य देखिँदैन।

एक्स-रे मेसिन मरम्मत गरी पथलैया र त्यसको आसपास मुख्य राजमार्गमा राख्ने हो भने ट्रक वा कन्टेनर सहज तवरले चेक जाँच गरी राजस्व वृद्धि गर्न सघाउने छ।

न्यूनतम २५ करोड मूल्य पर्ने एक्स–रे मेसिन करिब १९ वर्षअघि मित्र राष्ट्र चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो। भन्सारले आफ्ना ६ जना कर्मचारीलाई मेसिन सम्बन्धी तालिम पनि दिएको थियो।

भन्सार कार्यालय, वीरगञ्जका सूर्य नेपाल, विनोद पौडेल, श्याम श्रेष्ठ, आत्माराम फुँयाल, हरि बस्नेत र विजय शाहीलाई मेसिन सञ्चालन सम्बन्धी तालिम दिए लगत्तै भन्सार विभागले सूर्य नेपालबाहेक अन्य सबैलाई अचानक अन्यत्रै सरुवा गरेपछि मेसिन प्रयोगविहीन हुन पुगेको हो।

नेपालभरिको भन्सारमा एक्स-रे मेसिन राख्नुपर्ने र मेसिनले गर्दा कामको चाप ७५ प्रतिशत कम हुनुका साथै कार्यप्रक्रिया पनि सजिलो हुने गर्दछ। यो मेसिन सञ्चालन भएपश्चात् व्यापारीको माल वस्तु छिटो छुट्ने र खर्च पनि सीमित हुने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए। यो एक्स-रे मेसिन ठूला नाकामा मात्र नभई स–साना नाकामा पनि राख्नुपर्ने माग व्यापारीहरूले गरेकोे उनको भनाइ छ।

मित्र राष्ट्रले दिएको एउटा महत्वपूर्ण र राजस्व संकलनमा उल्लेख्य सुधार ल्याउन सकिने अत्याधुनिक एक्स-रे मेसिनको उपयोग गर्नबाट भन्सार बञ्चित हुन पुगेको छ।

मेसिन सञ्चालनमा आँउदा काम छिटो छरितो हुनुका साथै श्रम र समय दुबै बचत हुने भन्सार एजेन्ट संघका सुदिप उपाध्यायले बताए।

उपयोगविहीन अवस्थामा थन्किएको मेसिनको उचित संरक्षण नभएको हुँदा मेसिन जीर्ण बन्दै गइरहेको छ। मेसिन सञ्चालन गर्दा मेसिनबाट निस्कने विकिरणले हानी पुग्ने हुँदा मेसिन सञ्चालन गर्दा ‘रेडियेसन रे’ कति दूरीसम्म फैलाउने र सञ्चालन गर्दा सुरक्षित कसरी हुनेबारे थाहा पाउन तालिम प्राप्त कर्मचारीको आवश्यकता पर्दछ।  

प्रकाशित: २ कार्तिक २०८० ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App