१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४  विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन्। कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर आठ लाख २३ हजार छ सय रुपैयाँ आम्दानी गरेको बताउँछन्। चार गाई पालेका उनी दैनिक ३० देखि ३५ लिटरसम्म दूध बेच्छन्। नेपाल संस्थाका सदस्यमध्ये सबैभन्दा बढी दूध बेच्ने कृषक हुन्।

अर्का कृषक ताराप्रसाद नेपालले पनि ११ हजार चार सय ५४ लिटर दूध बेचेर छ लाख ८२ हजार एक सय ९९ रुपैयाँ आम्दानी गरेका छन्।

त्यसैगरी तोयानाथ नेपालले ११ हजार लिटर दूध बेचेर छ लाख ३३ हजार तीन सय रुपैयाँ र रवीन्द्र नेपालले तीन हजार तीन सय २४ लिटर दूध बेचेर छ लाख २१ हजार दुई सय रुपैयाँ कमाउन सफल भएका छन्।

मेहेनत गर्ने हो भने घरमै बसेर मनग्य आम्दानी गर्न सकिने उदाहरण बित्तजेलका कृषकले देखाएका छन्। घरमै बसेर खेतीपाती र वस्तुभाउ दुवै पेसालाई सँगै लगेर लखपति बन्न सकेकोमा कृषक तोयानाथ खुसी छन्। उनी जस्तै दुई सय ८० कृषकले नियमित रूपमा दूध बेच्दै आइरहेका छन्।

उक्त संस्थाले गत आवमा मात्रै चार लाख ७७ हजार सात सय ७९ लिटर दूध सङ्कलन तथा बिक्री गरेको व्यवस्थापक द्वारिका नेपाल बताउँछन्। दूध बिक्रीबाट मात्रै संस्थाले एक वर्षमा दुई करोड एक लाख दस हजार रुपैयाँ आम्दानी गरेको छ।

उक्त संस्थाले एक वर्षमा सात करोड ५१ लाख २८ हजार पाँच सय २२ को कारोबार गर्नाका साथै दूध बिक्री, ढुटो पिना खरिद तथा बिक्री र रासायनिक मल खरिद तथा बिक्रीको कारोबार पनि गर्दै आएको छ।

संस्थाको शेयर सदस्य भने चार सय ३६ छन्। सबै सदस्य बचत कार्यक्रममा नियमित सहभागी रहँदै आएको संस्थाका सचिव मायानाथ नेपाल बताउँछन्।

प्रकाशित: १९ आश्विन २०८० ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App