४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

त्रियुगाले थाल्यो सामाजिक सुरक्षा भत्ता वितरण

त्रियुगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा झन्डै महिना दिनदेखि रोकिएको सामाजिक सुरक्षा (सासु) भत्ता वितरण कार्य सुरु भएको छ। हरेक ३–३ महिनामा दिइने भत्ता चैत दोस्रो साताभित्र पाइसक्ने गरेका लाभग्राहीले यसपटक हाकिम नहुँदा वैशाख पहिलो सातासम्म कुर्नुपरेको हो।

माघ २७ गते साविक प्रमुख प्रशासकीय अधिकृतको सरुवा भए पनि नयाँ हाकिम व्यवस्थापन नहुँदा भत्ता रोकिन पुगेपछि लक्षित वर्गका ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ तथा बालबालिका, अपांगता भएका व्यक्ति र सीमान्तकृत तथा अल्पसंख्यक समुदायले अहिलेसम्म भत्ता पाउन सकेका थिएनन्। चैत पहिलो सातादेखि वितरण हुने गरेको भत्ता सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपछि वितरणको तयारी भएको हो। नयाँ हाकिम आएपछि नगरपालिकाको अवरुद्ध सबै कामकारबाही सुचारु भएसँगै सासु भत्ता पनि निकासा दिइएको पञ्जीकरण शाखाका कर्मचारी शिरोमणि खतिवडाले बताए।

उनका अनुसार पहिलाका हाकिम सरुवा भए पनि नयाँ नआएपछि रोकिएको आर्थिक कारोबारसँगै सासु भत्तालगायत थुप्रै कामकारबाही सुचारु भएको छ। प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव विष्णुभक्त सिग्देल आएपछि अन्य भुक्तानीसँगै नगरपालिकाका १६ वटै वडाका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीका लागि रकम निकासा दिइएको छ। सम्बन्धित लाभग्राहीले पाउने गरी तोकिएको बैंकमा सासु भत्तावापतको रकम बिहीबारै निकासा दिइएको र शुक्रबारभित्र आआफ्नो बैंक खातामा जम्मा हुने खतिवडाले बताए। उनका अनुसार नगरले माघ, फागुन र चैत (३ महिना) को भत्ता वितरणका लागि ८ करोड २८ लाख ९४ हजार ९ सय ९२ रूपैयाँ निकासा दिएको छ।

नगरपालिकाले वडा नंं १ का लाभग्राहीका लागि कृषि विकास बैंकमा ४६ लाख ८६ हजार ५ सय ५७ रूपैयाँ निकासा पठाएको छ भने २ नंं वडाका लागि ५६ लाख ६९ हजार ९८ रूपैयाँ सिटिजन बैंकमा पठाएको छ। त्यसैगरी वडा नं ३ र १३ का लागि लक्ष्मी बैंकमा १ करोड २० लाख २७ हजार ५ सय ३७, वडा नंं ४ का लागि एनआईसी एसिया बैंकमा ५५ लाख ९४ हजार ४ सय ३५, वडा नं. ६ र ७ का लागि सनराइज बैंकमा १ करोड ३६ लाख ७० हजार ७ सय ३२ रूपैयाँ निकासा पठाइएको खतिवडाले बताए।

त्यसैगरी ८ र ९ नं वडावासी लाभग्राहीका लागि हिमालयन बैंकमा १ करोड २० लाखा ६ हजार ९ सय ९८, वडा नं १० का लागि कुमारी बैंकलाई ६३ लाख ४० हजार ९ सय १५, वडा नं ११ र १२ का लाभग्राहीले पाउने गरी ग्लोबल आईएमई बैंकमा १ करोड १ लाख ९९ हजार २ सय १२ तथा १४, १५ र १६ नंं वडाका लागि माछापुच्छ«े बैंकमा ९१ लाख २ सय ६८ रूपैयाँ निकासा पठाइएको खतिवडाले बताएका छन्।त्रियुगामा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको संख्या ८ हजार ७ सय १० जना रहेका छन्; जसमा अन्य ज्येष्ठ नागरिक संख्या ४ हजार ७ सय २९ जना छन् भने ज्येष्ठ नागरिक ४ सय ५४, ज्येष्ठ नागरिक एकल महिला ६ सय ६५, एकल महिला १ हजार २ सय १, क वर्गका अपांगता ३ सय ४३, ख वर्गका ४ सय ५३ जना छन्। त्यसैगरी दलित बालबालिका ८ सय ५५ र लोपोन्मुख जाति १० जना रहेका छन्।

प्रकाशित: ९ वैशाख २०८० ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App