५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

'देश कुखुरापालनमा आत्मनिर्भर'

चितवन- नेपालमा आधुनिक कुखुरापालन (पोल्ट्री) व्यवसाय सुरु भएको ५६ वर्ष हुँदै छ। यो व्यवसायले कुखुराको मासु, अन्डा उत्पादनमा देश आत्मनिर्भर हुनुका साथै ठूलो मात्रामा रोजगारीको अवसर सिर्जना गरेको पोल्ट्री व्यवसायीले बताएका छन्। शुक्रबार भरतपुरमा आयोजित कार्यक्रममा नेपाल पोल्ट्री व्यवसायी मञ्च केन्द्रीय अध्यक्ष शंकर कँडेलले भने, 'यस क्षेत्रमा एक लाख २० हजार कामदारले प्रत्यक्ष रोजगारी पाएका छन्।'

नेपालमा २०१७ पुस १७ गते आधुनिक कुखुरापालन व्यवसाय सुरुवात भएको हो। सो दिन बारा परवानीपुरमा सेन्ट्रल ह्याचरी उद्घाटन भएको थियो। त्यसैलाई आधार मानेर ०७० पुस १७ देखि सरकारले राष्ट्रिय पोल्ट्री दिवस मनाउन थालेको हो। यसपटक पोल्ट्री दिवस चितवनमा विशेष कार्यक्रम आयोजना गरेर मनाइँदै छ।

सरकारी निकाय पशुसेवा विभाग पशुपक्षी बजार प्रवर्द्धन निर्देशनालय र नेपाल पोल्ट्री व्यवसायी मञ्चले चितवनमा संयुक्त कार्यक्रम गर्दै छ। कार्यक्रम संयोजक रहेका कँडेलले नेपालमा पोल्ट्री क्षेत्रमा ८० अर्ब रुपैयाँ लगानी भएको जानकारी दिए। 'यो व्यवसायले सस्तो मूल्यमा गुणस्तरीय पोषणयुक्त खाद्य पदार्थ देशभित्रै उत्पादन भएको छ। रोजगारीमा महत्वपूर्ण भूमिका खेलेको छ,' कँडेलले भने।

 कुखुरासँग सम्बन्धित चल्ला, मासु, अन्डा र दाना उत्पादनमा देश लगभग आत्मनिर्भर भएको व्यवसायीले बताए। दाना उत्पादनका लागि चाहिने कच्चा पदार्थ भने विदेशबाटै आयात हुने गरेको छ। पोल्ट्री व्यवसायी टीकाराम पोखरेलका अनुसार दाना उद्योगलाई आवश्यकमध्ये ६० प्रतिशतभन्दा बढी कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ।

'दानाको कच्चा पदार्थ मकै र भटमास खेतीलाई बढवा दिने सरकारी नीति बन्न आवश्यक छ,' कँडेल भन्छन्, 'अहिले कुखुराबाट उत्पादन हुने मासु, अन्डामा देश लगभग आत्मनिर्भर भयो। दाना उद्योग पनि यही नै खुले, तर कच्चा पदार्थ ठूलो मात्रामा विदेशबाट ल्याउनुपर्ने बाध्यता छ।'

पोल्ट्री दिवस सन्दर्भमा भरतपुरमा नीतिगत विषयमा पनि गोष्ठी आयोजना भएको उनले बताए।

चितवन जिल्ला पशुसेवा कार्यालय प्रमुख डा. डिल्लीराम सेढाई मासु, अन्डा र दूध उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने सरकारी नीति भएकाले पोल्ट्री क्षेत्रको समस्या निराकरणमा सरकारले विशेष ध्यान दिने बताउँछन्।

पोल्ट्री क्षेत्रमा ठूलो लगानी आउन थालेको तर सरकारले ब्याजमा पनि सहुलियत दिन कन्जुस्याइँ गरेको व्यवसायीको भनाइ छ। 'छिमेकी देश भारतको बिहार राज्य जो नेपालसँगै सिमाना जोडिएको क्षेत्र हो, त्यहाँ पनि व्यवसायीले गर्ने स्थायी लगानीमा सरकारले ४० प्रतिशतसम्म अनुदान दिन्छ। हामीले ऋणको ब्याजमा समेत सहुलियत पाउन गाह्रो छ,' नेपाल पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शंकर कँडेलले भने।

 नेपाली व्यवसायीलाई प्रोत्साहन गर्नुको साटो सरकारले पोल्ट्रीमा पनि वैदेशिक लगानी खुला गर्न लागेको भन्दै व्यवसायीले असन्तोष प्रकट गरे।

दाना उद्योगमा वैदेशिक लगानी आइसकेको र अन्य क्षेत्रमा पनि खुला गर्ने सरकारको तयारीले धेरै नेपाली व्यवसायीलाई धाराशयी बनाउने नेपाल अन्डा उत्पादन संघ केन्द्रीय अध्यक्ष शिवराम केसीले बताए।

 नेपालमा ५६ वर्षअघि आधुनिक कुखुरापालन व्यवसाय सुरु भएको भनिए पनि उच्च गतिमा विकास भएको धेरै भएको छैन। ०५० सालपछि नै व्यावसायिक कुखुरापालन क्षेत्रले द्रूत रूपमा प्रगति गरेको व्यवसायी बताउँछन्। चितवन पोल्ट्रीको उच्चतम विकास भएको क्षेत्र हो। पोल्ट्रीबाट देशको कुल उत्पादनमध्ये ६० प्रतिशत हिस्सा चितवनले ओगटेको व्यवसायी बताउँछन्।

प्रकाशित: १६ पुस २०७३ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App