२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याई-नभ्याई

माघेसंक्रान्ति नजिकिंदै जाँदा यतिबेला तरुल खन्न र बेच्न किसान व्यस्त बनेका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याईनभ्याई भएको हो।

माघेसक्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन्। माघेसंक्रान्तिमा तरुलको माग पनि हुने र सहज रूपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बिक्रीका लागि बजार लगेको हुप्सेकोट गाउँपालिका-५ का मकरसिंह सारुमगरले बताए। ‘अहिले तरुलको माग धेरै हुन्छ, बिक्री गर्न पनि समस्या हुँदैन। यसैले अहिले लगाएको सबै तरुल खनेर बजार पुर्‍याइयो’, उनले भने। आफूले यस वर्ष दुई क्विन्टल जति तरुल बेचेको उनले बताए।

धौवादीका शेरबहादुर झेडीमगरले पनि आफूले लगाएको तरुल खनेर बजारसम्म पुर्‍याइसकेका छन्। माघेसंक्रान्तिका दिनमा यसको महत्त्व हुँदा अहिले समयमै बजार पुर्‍याउन आफूहरू लागेको उनले बताए। ‘आजभोलिमा बेच्यो भने बेच्योबेच्यो, पछि कसैले त्यति खोज्दा पनि खोज्दैन, भाउ पनि हुन्न। त्यसैले अहिले लगाएको तरुल खनेर बेच्न चटारो  छ’, उनले भने।

एकदिनका लागि धेरै उपभोग हुने र अन्य समय खासै महत्त्व नहुने हुँदा धेरै लगाउन समेत जोखिम रहेको उनले बताए। तर, अहिले लगाएको जति बजारीकरणमा भने  समस्या नभएको मगरको भनाइ छ।

पहाडी क्षेत्रमा धेरैजसो किसानले तरुल लगाउने गरेको उनको भनाइ छ। किसानले अदुवा खेतीसँगै बिचमा तरुल लगाउने गरेका छन्। सबैजसो किसानले पञ्जे (हात्तीपाइले) तरुल लगाउने गरेको उनको भनाइ छ। यो तरुल स्वादिलो हुने हुँदा माग पनि धेरै भएकाले किसानले पञ्जे तरुल लगाउने गरेको उनको भनाइ छ।

तरुल लगाउने किसानलाई तरुल बिक्रीबाट घरखर्च चलाउन र माघेसंक्रान्ति मनाउन सहयोग पुग्ने गरेको उनको भनाइ छ। ‘तरुल बिक्रीबाट सामान्य घरखर्च पनि चल्छ, संक्रान्ति मनाउन खर्च पनि पुग्छ’, उनले बताए।

केही वर्ष यताबाट तरुल उत्पादनमा भने कमी हुँदै गएको किसान तिलक रानाले बताए। कीरा लाग्ने समस्याका कारण पछिल्ला केही वर्षयता उत्पादन घट्दै गएको उनले बताए। अदुवा खेतीमा पञ्जे तरुल लगाउँदा राम्रो हुने र बाहिर लगाउँदा राम्रो नहुने हुँदा अदुवा लगाउने सबैजसो किसानले तरुल लगाउने गरेको रानाले बताए। तर, पछिल्ला वर्षमा तरुलमा कीराको समस्या देखिएपछि किसानले थोरै-थोरै क्षेत्रफलमा लगाउने गरेको उनको भनाइ छ। यसले उत्पादनमा समेत कमी हुँदै गएको रानाले बताए।

नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिकजसो १० क्विन्टल जति तरुल कावासोतीमा मात्रै आउने गरेको कावासोतीमा तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आएका व्यवसायी लालबहादुर सारुले बताए। कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उनले बताए।

नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौंमा खपत हुने गरेको उनको भनाइ छ। आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिक रूपमा पोखरा र काठमाडौंमा पठाउने गरेको सारुले बताए।

दैनिकजसो किसानले ल्याएको तरुल बिक्रीमा समस्या नभएको र सबै खपत हुँदै आएको उनले बताए। सारुका अनुसार किसानले अहिले प्रतिकेजी ४५ रुपैयाँसम्म बुझ्ने गरेका छन्। आफूहरूले बाहिरी जिल्ला पठाउँदा भने ढुवानीसहित सबै लागत जोडेर मूल्य प्रतिकेजी ७० देखि ८० रुपैयाँसम्म पर्ने गरेको सारुले बताए। नेपाली समुदायमा माघेसंक्रान्तिमा तरुल, सखरखण्डसँगै चाकु, सेलरोटी लगायतका परिकार खाने प्रचलन रहेको छ। रासस  

प्रकाशित: २६ पुस २०७९ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App