५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बन्दा बिक्री नहुँदा जुम्लाका किसान समस्या

जुम्लामा किसान उत्पादन गरेको बन्दा बिक्री नहुँदा समस्यामा परेका छन्। जुम्लाको चन्दननाथ नगरपालिका–७ महतगाँउकी किसान जयसरा महतले तीन रोपनी जमिनमा खेती गरेको बन्दा  नबिक्दा समस्यामा परेको बताइन्।

तयारी अवस्थामा रहेको बन्दा  नबिक्दा मर्कामा परेको महत बताउँछिन्। ३ रोपनी जमिनमा रोपेको बन्दा तयार भए पनि बेच्नलाई समस्या भएको उनको गुनासो छ। घर नजिकैको रहेको आफ्नो जग्गामा उनले तरकारी खेती गर्दै आएकी छिन्। बजारमा बिक्री गर्नका लागि लैजाँदा व्यवसायीले किन्नै मान्दैनन्। कतिपय व्यवसायीले अत्यन्तै कम मूल्यमा दिनुपर्ने उनी बताउँछिन्।  

तर उनले  प्रतिकिलो ३५ रुपैयाँमा बिक्री गरेको बताइन्। बिहीबार मात्रै उनले जुम्ला बजारमा १५ किलो बिक्री गरिन्। एक हप्ताभित्र बन्दा बिक्री नगरे बारीमै खेर जाने उनको भनाइ छ। तरकारी बेचेरै उनले घर खर्च संचालन गर्छिन्।  

गत वर्ष नगद ५० हजार कमाइ गरेकी उनको यो वर्ष आशा गरेको जस्तो कमाइ हुन सकेन। अहिलेसम्म १० देखि १५ हजार सम्म मात्रै हात लागेको उनी बताउँछिन्। धेरै खेतमा कुहिएको र बाँकी गाई गोरुलाई काटेर खुवाउने गरेको उनले बताइन्। उनले यो व्यवसाय ६ वर्षदेखि निरन्तर गर्दैन आइरेकी छिन्।  

बन्दाको बिउ उमार्नदेखि खानका लागि तयार पार्दा सम्म धेरै लगानी भएकाले कम मूल्यमा बेच्दा लगानी नै नउठ्ने उनी बताउँछिन्। 'कम मूल्यमा बिक्री गर्दा मेरो लगानी नै उठ्दैन' उनले भनिन्। त्यसैले घाटा खाएर बिक्री गर्नु भन्दा बरु गाई–भैँसीलाई खुवाउने गरेको छु। गत वर्ष यो सिजनमा दैनिक राम्रो मुल्यमा बन्दा बिक्री गर्ने गरे पनि यो वर्ष जिल्लामा प्रशस्त उत्पादनसँगै बाहिरबाट धेरै मात्रामा बन्दा आउँदा बिक्री गर्न धौ–धौ भएको उनले बताइन्।  

यस्तै अर्का किसान राजकौरा महतको पिडा पनि उस्तै छ। उनको दुई रोपनी  खेतमा उत्पादन गरेको बन्दा आफन्तलाई दिनु परेको छ। उचित मुल्य नपाइने भएपछि उनले बन्दा पनि कुहिएको बताइन्। अघिल्लो वर्ष २० हजार कमाएको थिए। उनले भनिन्, अहिले ५ हजार पनि भएन।  

उत्पादनमा गुणस्तरीयता भए पनि बन्दालाई बजारको समस्या छ। समय समयमा बन्दामा लाग्ने रोग कीराको प्रकोपले किसानलाई सताउने गरेको छ। बारीमा रोपेको केही समयपछि लाग्ने पात तथा डाँठ कुहिने रोगले प्रत्येक वर्ष किसान हैरान छन्। अहिलेसम्म धानको परालले ढाकछोप गरे राखेको टीका महत बताउँछिन्। रोगले गर्दा किसानले प्रत्येक वर्ष धेरै नोक्सान व्यहोर्नु परिरहेको उनको गुनासो छ। किसानले उब्जाएको बन्दालाई बजारसम्म पुर्‍याउने व्यवस्था हुनुपर्ने उनले बताइन्। 

प्रकाशित: २१ पुस २०७९ १०:५७ बिहीबार

बन्दा किसान