२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

‘माग र आपूर्ति चक्र प्रभावित’

नेपाल सिमेन्टमा आत्मनिर्भर भएको छ। निर्यात पनि हुन थालेको छ। निर्यात हुन थालेपछि उद्योगले उत्पादन बढाउनुपर्नेमा कटौती गरेका छन्। सिमेन्ट उद्योगले करिब ६० प्रतिशतसम्म उत्पादन कटौती गरेको जनाएका छन्।

बजारमा सिमेन्टको माग ह्वात्तै घटेपछि सिमेन्ट उद्योगले उत्पादन कटाएर ४० प्रतिशत मात्र उत्पादन गरेका हुन्। माग नभएपछि उद्योगले आपूर्ति घटाएका हुन्। बजारमा देखिएको आर्थिक मन्दीको असर सिमेन्ट उद्योगमा देखिएको हो।

सिमेन्ट उद्योगमा जस्तै अन्य क्षेत्रमा पनि यसको असर देखिएको छ। यसले माग र आपूर्तिमै गम्भीर समस्या देखिएर बजार चक्र प्रभावित भएको छ। बजार चक्र प्रभावित भएपछि अर्थतन्त्रमा गम्भीर समस्या आउँछ। कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण विश्व बजारको आपूर्ति शृङ्खलामा असर पुगेको हो।

बजारमा माग र आपूर्तिको चक्रमा गम्भीर समस्या देखिएको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताए। अग्रवालका अनुसार परिसंघले गरेको अध्ययनले समग्र माग शृङ्खलामा ३० देखि ३५ प्रतिशतसम्म गिरावट आएको छ। ‘मुलुकमा आर्थिक मन्दी देखिदै जाँदा सिमेन्ट उद्योगमा ४० प्रतिशत मागमा गिरावट आएको छ,’ अग्रवालले भने, ‘अन्य क्षेत्रमा पनि यस्तै समस्या छ।’ अध्ययनले अटो मोबाइल व्यवसायमा ७० देखि ८० प्रतिशतसम्म गिरावट आएको देखिएको छ। माग र आपूर्ति शृङ्खलामा परेको असरले सरकारी ढुकुटीमा आउने राजस्व चालु वर्षको चार महिनामा १८ प्रतिशतले गिरावट आएको अग्रवालले बताए। पोहोरको तुलनामा बैंक व्याजदर शतप्रतिशत सम्म बढ्नु र तरलताको अभाव नै मन्दीको मुख्य कारण भएको उद्योगी बताउँछन्।

नेपालमा मुद्रास्फीति निकै बढेको छ। चालु आर्थिक वर्ष ०७९÷८० को पहिलो तीन महिना असोजसम्म मुद्रास्फीति ८.५० प्रतिशत पुगेको छ। सरकारले लिएको लक्ष्यभन्दा योमाथि हो। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.२४ थियो। पोहोरको तुलनामा महँगी दोब्बर बढेको कारण मागमा निकै गिरावट आएको छ। मागमा गिरावट भएपछि उत्पादकले उत्पादन घटाएका छन्।

सामानको मूल्य बढ्दा खरिद गर्ने क्षमतामा ह्रास आएको छ। उत्पादन गरेको वस्तु बिक्री नभएपछि उद्योगले उत्पादन कटौती गरेका छन्। यसले माग र आपूर्तिको चक्र नै प्रभावित भएको हो। अर्थतन्त्रमा मन्दी देखिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

आयातमा कडाइ, बैंकको ब्याज वृद्धि र उपभोगमा आएको परिवर्तनले बजार चक्र नै प्रभावित भएको उद्योगपति प्रवलजंग पाण्डेले बताए। ‘विश्व बजारमा पनि यस्तो समस्या देखिएको छ,’ पाण्डेले भने, ‘उपभोगको प्याटर्नमा पनि परिवर्तन आएको छ।’ आयातमा कडाइ र बैंकको व्याज वृद्धिले बजार बढी प्रभावित भएको पाण्डेले बताए।

व्यावसायिक जीवनमा कहिल्यै नभोगेको संकट आएको उद्योगी बताउँछन्। राजस्वले सरकारलाई खर्च धान्न समेत हम्मे परेको छ। बढ्दो मुद्रास्फीति घटाउन अधिकांश देशका केन्द्रीय बैंकहरूले ब्याजदर बढाइरहेका छन्। बैंकमा तरलताको अभावको असर बजारमा देखिएको छ।

उपभोग घटेपछि आयात पनि घटेको छ। एकातर्फ केही वस्तुको आयातमा राष्ट्र बैंकको कडाइले आयात घटेको हो भने अर्कोतर्फ वस्तुको खपत कम हुँदा पनि आयातमा गिरावट आएको उद्योगी बताउँछन्। उच्च व्याज र तरलता अभावले पनि वस्तु आयात प्रभावित भएको छ। चालु आव २०७९/८० को कात्तिक मसान्तसम्म (चार महिनाको अवधिमा) ५ खर्ब ३२ अर्ब ६९ करोड रूपैयाँको मात्र वस्तु आयात भएको छ। यो पोहोरको सोही अवधिको भन्दा १ खर्ब १७ अर्बले कमी हो। अर्थात् पोहोरभन्दा वस्तु आयात १ खर्ब १७ अर्बले घटेको छ। पोहोर कात्तिकसम्म ६ खर्ब ५० अर्ब २९ करोड रूपैयाँको वस्तु आयात भएको थियो। आयात १८.०८ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ।

तरलता अभावले केही उपभोग्य वस्तुको मागमा थोरै कमी आएको हुन सक्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले बताए। ‘तरलता अभाव, घरजग्गा कारोबार नहुँदा केही असर परेको हुनसक्छ,’ भट्टराईले भने, ‘विस्तृत रूपमा अध्ययन भएको छैन।’ ठूलो असर परे जस्तो आफूलाई नलागेको उनले बताए।

प्रकाशित: १२ मंसिर २०७९ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App