१ चैत्र २०८१ शुक्रबार
image/svg+xml २१:२१ अपराह्न
प्रवास

कुनै पनि बहानामा युक्रेन प्रवेश नगर्न दूतावासको आग्रह

जर्मनस्थित नेपाली राजदूतावासले कुनै पनि बहानामा युक्रेन प्रवेश नगर्न नेपालीहरूलाई आग्रह गरेको छ।

नेपाली दूतावासले बिहीबार एक सूचना जारी गर्दै युक्रेन पुगेर विपद्‌मा परेको अवस्थामा उद्धारको लागि अत्यन्त कठिन हुने भएकाले कुनै पनि अवस्थामा युक्रेन प्रवेश नगर्न अनुरोध गरेको हो।

दूतावासले अध्यागमन कानून उल्लंघनका कारण गत मे महिनादेखि युक्रेनमा जेलमा रहेका दुई नेपाली नागरिकलाई राजदूतावासको अथक र निरन्तर प्रयासमा उद्धार गरिएको जनाएको छ।

उद्धारको लागि युक्रेनको परराष्ट्र मन्त्रालय, किभस्थित अन्तर्राष्ट्रिय आप्रवासन संगठन, सीमा सुरक्षा गार्डहरू, युक्रेन किभस्थित मोल्डोभाको राजदूतावास र युक्रेनका लागि श्रीलंकाका अवैतनिक वाणिज्यदूतको सहयोग लिएर युक्रेनबाट बिहीबार उद्धार गरी मोल्डोभाबाट नेपाल फर्काइएको सूचनामा उल्लेख छ।

नेपाल फर्कनका लागि ती नेपालीहरूको आवश्यक हवाईजहाजको टिकटको व्यवस्था गैरआवासीय नेपाली संघको मुख्यालयले गरेको हो।

दूतावासको सूचनामा विषम परिस्थितिमा रहेको मुलुक युक्रेनमा कुनै पनि प्रयोजनको लागि वा कुनै प्रकारको प्रलोभनमा परी नजान आग्रह गर्दै पनि केही मानव तस्करहरूको प्रलोभनमा परि अझै पनि छिटपुट रूपमा नेपाली नागरिकहरू युक्रेन आएको पाइएको उल्लेख छ।

सन् २०२३ को जनवरी तेस्रो हप्तादेखि युक्रेनसँग सिमाना जोडिएका मुलुकहरूले युक्रेनमा रहेका नेपाल लगायतका मुलुकहरूबाट आफ्नो देशमा प्रवेश गर्न खोज्ने विदेशीहरूलाई प्रवेशाज्ञा जारी नगर्ने निर्णय गरेको दूतावासले जनाएको छ।

राजदूतावासबाट जारी गरिएको सूचनामा मार्फत प्रलोभनमा परी वा स्वेच्छाले युक्रेन आउनुका पछाडि युक्रेनको विद्यमान जटिल अवस्थाबाट फाइदा लिदै युरोपका अन्य मुलुकहरूमा प्रवेश गरी पलायन हुन सकिन्छ भन्ने मनसाय रहेको पाइएको उल्लेख छ।

प्रकाशित: २५ माघ २०८१ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App