९ मंसिर २०८१ आइतबार
image/svg+xml
ब्लग

सपनाको पहाड चढ्दा...

ताङतिङ मेरो गाउँ

प्रकाश गुरुङ

मान्छे जस्तो वातावरणमा हुर्कियो त्यस्तै बन्छ । हामी लाहुरे संस्कारमा हुर्कियौं । बाजेबुबा सबै लाहुरे हुनुहुन्थ्यो । घरपरिवारका सबैले मलाई सके बेलायती, नसके भारतीय सेनामा भर्ना भइदियोस् भन्ने चाहन्थे ।  

हामी गाउँका बालबालिका पनि जसरी हुन्छ लाहुरे बन्न चाहन्थ्यौं । मैले पनि लाहुरे बन्ने सपना देखेकै हुँ तर सफल भइनँ । सेनामा भर्ती भैदिएको भए यतिबेला म रिटायर्ड भैसक्थें ।  

हरेक मानिसका आआफ्नै सपना र उद्देश्य हुन्छ । जीवनको पाठ्यक्रममा उद्देश्य फेरिन्छ र त्यसैअनुसार जीवनका योजना र रणनीति पनि परिवर्तन गर्नुपर्ने रहेछ ।

हामी जनजाति परिवारमा हुर्केका लाहुरेका सन्तान, आफ्नै विगत सम्झँदा पनि हाँसो उठ्छ र गर्व पनि लाग्छ, ११ वर्षमै लाहुरे बन्ने लक्ष्य बोकेको थिएँ ।  

काम गर्दा हातखुट्टामा सानो चोटपटक लाग्यो भने पनि औधी चिन्ता लाग्थ्यो । तर, ताङतिङबाट ओरालो झरेर सोंधामा ८ देखि १० कक्षासम्म पढ्न जाँदा सपना मोडियो । दूधपोखरी माविमा पढ्दाको दुःख, त्यसमा पनि झरीबादल र असिनाले ‘लाहुरे’ बन्ने सपनाबाट मोहभंग गरायो ।  

‘ताङतिङ मेरो गाउँ’ भन्दा मलाई गर्व लाग्छ । त्यसैले हामीले सकेसम्म आफ्नै मातृभूमिमा पसिना चुहाउनुपर्छ । नसके संसारको जुनसुकै कुनामा बसे पनि मुटुमा नेपाल धड्कनुपर्छ र मातृभूमिको विकासमा सकेको योगदान पुर्याउनुपर्छ ।

मभन्दा पछाडिका भाइबहिनीले महँगो शहर पोखरामा पढ्न जानु नपरोस् । हामीले जस्तो दुःख गरेर मादी किनारको सोंधामा झर्नु नपरोस् भनेर मनमा कुरा खेलाएँ । त्यसैले गाउँमै मास्टर बनेर माध्यमिक विद्यालय चलाउँछु भन्ने सपनाले लाहुरे बन्ने सपना तुहाइदियो ।  

जीवनमा केही गर्न आफैं उत्प्रेरित हुनुपर्ने रहेछ । लाहुरे सपना तुहिएपछि नेपालमै स्थायी जागिर खानुपर्छ । सामाजिक क्षेत्रमा पनि केही गर्नुपर्छ भन्ने सोच पलायो । त्यसैले सोंधाबाट एसएलसी गरेपछि पृथ्वीनारायण क्याम्पस, पोखरामा पढ्न थालें ।  

त्यो बेला छातीमा फित्ताले नापेर ब्रिटिस क्याम्प पोखरामा दुई पटक पसें तर मन भित्रैबाट लाहुरे बन्नुपर्छ भन्ने लागेन । त्यसैले होला भर्तीमा लाग्न सकिनँ । भर्ती हुन सके परिवार खुशी हुन्छ, नभए के बिग्रन्छ र भन्ने थियो ।    

ब्रिटिश क्याम्पमा असफल भएसँगै मैले भारतीय सेना वा वैदेशिक रोजगारीमा जाने सपना दिमागबाटै फरम्याट गरिदिएँ । ममा स्नातकोत्तर गर्ने भूत चढिसकेको थियो । विए दोस्रो वर्षमा पढ्दापढ्दै ताङतिङकै विद्यालयमा शिक्षक बनें । आफूले कखरा सिकेको हिमालय मिलन माविमा २०५४ सालदेखि प्रधानाध्यापक भएँ र मेरो जिम्मेवारी बढ्यो ।  

समय बगिरह्यो । विद्यालयलाई माविमा रूपान्तरण गर्ने अभियानमा लागें । सबैको सहयोग जुटाएर २०५७ सालदेखि माध्यमिक तह चलाउन सफल भएँ । गाउँका भाइबहिनीले आफ्नै गाउँमा मावि पढ्न पाए । यसरी एउटा सपना पूरा भयो ।    

म शिक्षक बनेर ताङतिङमा बसेको तीन दशक पुग्नै लाग्यो । त्यस्तै प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको पनि २३ वर्ष भैसक्यो । अझै ६ वर्ष पेशामै रहने सोच छ ।    

मैले नेपाल र कोरियाबाट स्नातकोत्तर गर्ने सपना पूरा गरें । आज मसँग डबल डिग्री छ । एउटा उखान भन्छ– धन नकमाउनु तर इष्टमित्र कमाउनु । मैले उच्च शिक्षा अध्ययन गर्दा धेरै साथीबाट सहयोग पाएँ । ती सबैप्रति कृतज्ञ छु ।    

नेपाली चलचित्रको गीत ‘के सोचें मैले, के भयो अहिले’ भनेजस्तै बाल्यकालमा लाहुरे बन्ने सपना बोकेको मैले लाहुरेको नाति, लाहुरेकै छोरा शिक्षक भएर आफ्नै गाउँमा झन्डै तीन दशक बिताइसकें ।  

आफ्नो गाउँकै समृद्धिका लागि जीवनको उर्वर उमेर उपयोग गर्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु । आफ्ना विद्यार्थीे विभिन्न क्षेत्रमा सफल भएको देख्दा झन् खुसी लाग्छ ।  

अरूले देखाएको सपनाको डोरी समातेर उकालो चढ्दा ठेस लाग्न सक्छ । त्यसैले अरूलाई ‘तिमी यस्तो बन’ भनेर सुझाउन सकिन्छ तर जबर्जस्ती कसैलाई पनि यस्तो बन, उस्तो बन भन्नु हुँदैन । बरु सन्तानले देखेका सपना पूरा गर्न भर्याङ बनिदिनुपर्छ ।  

हामीले आफ्नो सपना आफैं देख्नुपर्छ । अरूले देखाएको सपनाको डोरी समातेर उकालो चढ्दा ठेस लाग्न सक्छ । त्यसैले अरूलाई ‘तिमी यस्तो बन’ भनेर सुझाउन सकिन्छ तर जबर्जस्ती कसैलाई पनि यस्तो बन, उस्तो बन भन्नु हुँदैन । बरु सन्तानले देखेका सपना पूरा गर्न भ¥याङ बनिदिनुपर्छ ।  

शिक्षक बनेकामा म सन्तुष्ट छु । एउटा कुरा, बुबाको पल्टन मलेसियामा हुँदा म उतै जन्मिएको मान्छे । त्यो बेला ब्रिटिस आर्मी क्याम्पका पण्डितले मलाई ‘ओमप्रकाश’ नाउँ दिएछन् । तर, बुबा आशबहादुरले खुशी भएर आफ्नै नाउँ दिनुभयो–आशकुमार । मलायाको जन्म कार्डमा ‘आशकुमार गुरुङ’ नै लेखिएको छ ।  

मेरो नेपाली नागरिकताको प्रमाणपत्रमा ओमप्रकाश गुरुङ लेखिएको छ । गाउँले, साथीसँगी र आफन्तजन मलाई ‘प्रकाश’ भनेर चिन्छन् । म नामअनुसारको काम गरिहने छु । शिक्षाको प्रकाश छरिरहनेछु ।  

मरिलानु के छ र ! त्यसैले हामीले बाँचुञ्जेल अरुका मनमा बस्ने काम गर्नुपर्छ । आफूसँग भएका कुरामा रमाउन जान्नुपर्छ ।   ‘ताङतिङ मेरो गाउँ’ भन्दा मलाई गर्व लाग्छ । त्यसैले हामीले सकेसम्म आफ्नै मातृभूमिमा पसिना चुहाउनुपर्छ । नसके संसारको जुनसुकै कुनामा बसे पनि मुटुमा नेपाल धड्कनुपर्छ र मातृभूमिको विकासमा सकेको योगदान पुर्याउनुपर्छ ।  

अन्त्यमा, तपाई पनि आफ्नो सपनाको शिखर चुम्नुस् है । धेरैधेरै शुभकामना !

(हिमालय मिलन मावि, ताङतिङ, कास्कीका प्रधानाध्यापक प्रकाश गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश ।)  

प्रकाशित: ३० जेष्ठ २०७७ १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App