‘म मरेको वर्ष दिन हुन नपाउँदै तपाईंको दोस्रो बिहेको कुरा चलिसक्छ। सबैले बिस्तारै मलाई बिर्सने छन्। मात्र मेरी छोरीले मलाई जीवनभर सम्झिने छिन्, सुन्नुभो।’ भाउजूको वाक्य मेरो कानमा सधैं ठोक्किइरहन्छ आज पनि।
अन्तिम चरणमा पुगिसकेको स्तनक्यान्सरको उपचार गराइरहनुभएका बेला भाउजूलाई आफ्नो जीवन अब छोटो समयका लागि मात्र बाँकी रहेको भन्ने लाग्न थालेपछि प्रायः भाउजू दाइलाई यी वाक्यांश बारम्बार भन्ने गर्नुहुन्थ्यो। आमाको काखमा मनभरि खेल्न नपाउँदै आफ्नी चार वर्षकी छोरीलाई छोडेर जानुपर्ने पीडाले भाउजूलाई क्यान्सरको पीडाले भन्दा पनि बढी पोल्ने गथ्र्यो।
जसले जति नै माया ममता दिए पनि जन्म दिने आमाको स्थान कसैले लिन सक्दो रहेनछ। सानैमा आमा गुमाएकी भाउजूमा पनि त्यही मनोविज्ञान निकै जागृत थियो। भाउजू बित्नु भएपछि दाइले आफ्नी एक मात्र सन्तान छोरी रियाका आमाबाबु दुवै हुनुको कर्तव्य निभाउनमा कुनै कसर बाँकी राख्नुभएन र पनि रिया ती प्रत्येकलाई भाग्यमानी मान्छिन् अनि ठान्छिन्, जसले आमाबाबु दुवैको माया साथमा पाउँछन्।
हाम्रो सामाजिक सोच चलन या घरव्यवहार चलाउनुपर्ने बाध्यताको संज्ञा दिए पनि वास्तविकता त्यही नै हो, जुन भाउजू्ले आफ्ना अन्तिम दिनहरूमा बारम्बार दोहो¥याउनुभयो। भाउजू बित्नुभएको केही समयपछि नै दाइलाई घरपरिवार आफन्त नातेदारहरूबाट पुनःविवाह गर्नुपर्ने सल्लाह सुझाव प्रशस्त आउन थाले। अझ विशेषरूपमा आमाबाबुबाट बढी नै दबाब पर्न थाल्यो। दाइ केही त केही बहानामा विवाहको कुरा टारिरहने गर्नु भएपछि एकपटक बुबाले मलाई भन्नुभयो– नानी तिम्रो दाइलाई सम्झाउन तिमीले बुझाउनुप¥यो।
एक्लैले जागिर, छोरीको स्याहार, आमाबुबा, घरव्यवहार सबै कति दिनसम्म सम्हाल्न सकिन्छ र? बिहे नगरी हुन्न भन न।
बुबाको कुरा सुनेपछि मैले रिया अलि सानै छ। कुरा बुझ्ने भएकी छैन। त्यसैले किन हतार गर्नुभएको बुबा ! दाइलाई समय दिनुस् भनें।
तर साथीभाइ, आफन्त सबैले दाइलाई दिने पहिलो सल्लाह नै बिहे गर्नुपर्छ, एक्लै जीवन कसरी कटाउने? गाह्रो पर्छ भन्दै पाका केटीका फोटाहरू देखाउने क्रम समयसँगै झन् बढ्न पो थाल्यो। आफ्नो घरमा भइरहेको यो चाला देखेर मलाई करिब बाह्र वर्षअघि मामाघर नजिक छिमेकी आन्टीको छोरा बित्नुभएको याद आयो।
सम्भ्रान्त शिक्षित परिवार। ती आन्टीका दुईजना छोरामध्ये कान्छो छोरा जसलाई म सुमन दाइ भनेर बोलाउने गर्थें। मलाई सानैदेखि फुच्ची भन्दै मेरो गाला तान्ने गर्नुहुन्थ्यो सुमन दाइ। विवाहपश्चात् आफ्ना दुई सानी छोरीहरूसहित व्यापारको सिलसिलामा उहाँ धेरै समय सिंगापुर बस्ने गर्नुहुन्थ्यो। त्यस समयमा उमेरले चालीस÷बयालीस वर्षका सुमन दाइ श्रीमती नेपाल आउनुभएको समयमा अचानक उहाँ उतै हृदयाघातले बित्नुभएछ। ती छिमेकी दाइ बित्नु भएपछि उहाँकी श्रीमती कुसुम भाउजू दुई छोरीसहित नेपालमा सासुससुरासँगै बस्न थाल्नुभयो। दुई साना छोरीकी आमा भए पनि उहाँ भर्खरकै उमेरकी हुनुहुन्थ्यो। अझै भरिलो जवानी उहाँमा देखिन्थ्यो। शिक्षित परिवार थियो। समय, काल, परिस्थिति बुझ्नु हुने उहाँका सासुससुरा बुहारीलाई छोराको स्थानमा राख्दै माया गर्नुहुन्थ्यो। गृहस्थी जीवन चलेकै थियो मनभित्रका अभावबीच पनि।
हामी जति नै आधुनिक जीवनशैली अपानाऔं, अन्धविश्वास र रुढीवादले पछ्याइरहन्छ नै। शिक्षित वर्ग हुँ, चतनशील छु भनेर दाबी गरे तापनि हतपत आफन्त नातेदार या भनौं घरपरिवारबाट बुहारीलाई छोरासमान परिवारभित्र मायाप्रेम गरे पनि एक्लो महसुस नहुन दिँदैनौ। सबै भए पनि जीवनसाथीबिनाको एक्लो लामो जीवन काट्न मुस्किल पर्छ। न त पुनः विवाह गर्नुपर्छ भनेर सम्झाइन्छ न त कसैबाट विवाहका लागि जोड नै दिइन्छ। आज सुमन दाइ बित्नुभएको यतिका वर्ष भइसक्यो, कुसुम भाउजू जागिरे हुुनुहुन्छ। म देख्छु, वहाँका आँखामा निरसपन। कसैले केही भनिदिएर हो वा परिवार आफन्तहरूमा हुने शुभकार्यहरूमा उहाँ अलि टाढै बसिदिनुहुन्छ।
एकल महिलालाई आजपर्यन्त पनि शुभकार्यमा सहभागी गराउनु परेमा शिक्षित आधुनिक भए पनि सहरतिर पनि अलि असहज मान्ने गरेको देखिन्छ। हिजोको समाजले लोग्नेको मृत्युपश्चात स्वास्नीले कपाल काट्नु पर्ने, सेतो पहिरन लगाउनुपर्ने, महिला जतिसुकै उमेरका भए तापनि शेष जीवन धर्मकर्ममा लागून् भन्ने अपेक्षा, परपुरुषभन्दा टाढै रहून् भन्ने धारणा व्याप्त थिए। अझै पनि त देखिएकै छ। समयसँगसँगै समाज शिक्षित हुँदै गए तापनि लोग्नेको मृत्युपश्चात् एक्ली हुन पुगेका महिलाले हिजोजस्तो कपाल काट्नुपर्ने, सेतो पहिरन लगाउनुपर्ने बाध्यता हटेर रङ्गीन वस्त्र लगाउन सक्ने, घरबाहिर निस्कने स्वतन्त्रता अवश्य पाए तर यति पर्याप्त छ र? कस्तो विडम्बना ! कत्रो विभेद धर्मका नाममा।
यस्तो विभेदले भरिएको हाम्रो सामाजिक सोच, चलन जहाँ श्रीमतीको मृत्युपछि एकल भएका सन्तानका बाबु मेरा दाइजस्ता पुरुषलाई सहानुभूतिपूर्वक पुनः विवाह गर्न सबैबाट जोड दिइन्छ। ऊ समाजमा दयामायाका आर्दश पात्र बन्ने गर्छ। उसले न त कुसुम भाउजूलाई झंै अप्ठ्यारा परिस्थितिको सामना नै गर्नुपर्ने हुन्छ, न कामका सिलसिलामा अफिसमा पुरुष सहकमीहरूबीच खिचिएका फोटाहरूमा साथमा देखिएमा ती को किन साथमा थिए भन्नेजस्ता प्रश्नको जवाफ नै दिनुपर्छ।
हामीले देखे भोगेका छौं। छोरा र छोरीमा सानैदेखि विभेद गरिन्छ। जन्मँदा नवजात शिशुहरूलाई तेल लगाउने क्रममा छोरालाई तेल लगाउँदा बच्चाको पाइतालामा बढी मालिस गरिन्छ भने छोरीलाई तेल लगाउँदा विशेष रूपमा यौनाङ्गमा तेल मालिस गर्ने चलन रहेको छ। यस्तो गरिनुको कारण छोराले परिवार धान्नुपर्ने, बढी परिश्रमका काम गर्नुपर्ने र छोरीले वंश चलाउनुपर्ने भएकाले सोहीअनुरूप यसरी छोरा र छोरीलाई अलि भिन्न तरिकाले तेल लगाइन्छ भन्ने जवाफ पाएको थिएँ। आखिर कहीं न कहीं विभेद जन्मँदादेखि नै हुने रहेछ।
यता घरमा भने दाइलाई विवाहका लागि राजी गराउने प्रयासमा सबै लागिपरिरहेका बेलामा मेरो मनमा भने कुनै त कुनै दिन घरमा अवश्य भित्रने नवदुलही भाउजू जो रियाकी अर्की आमा हुने छिन्, उनलाई रियाले कसरी स्वीकार गर्ने छिन् भन्ने नै लागिरह्यो। किनकि, उसको बालमस्तिष्कमा कस्तो प्रभाव पर्ला भन्ने कुरा चलिरह्यो। उसले त्यस दिन स्कुलबाट फर्केलगत्तै भन्दै थिए– साथीहरूले भनेको तिम्रो बाबाले फेरि बिहे गरेपछि आउने तिम्री सानी आमाले फिल्ममा देखाइएझैं तिमीलाई खान नदिने, कुुट्ने, पिट्ने गर्छन्। तिमीले दुःख पाउँछ्यौ भन्ने गरिदिन्थे। त्यसैदिन नै रियाले आफूमाथि पनि उस्तै होला भन्ने डरले आफ्ना बाबालाई कहिल्यै बिहे नगर्नूस् है बाबा भनेको कुराले मलाई भने रियाको अबोध बालमनस्थितिमा बसेको सानीआमा भन्ने डर पहिले हट्नुपर्छ भन्ने लागेर नै दाइको फेरि विवाह गर्ने प्रयासमा खुलेर साथ दिइरहेकी थिइनँ।
त्यस दिन न्यूरोडस्थित खिचापोखरीबाट किनमेल गरी घर फर्कंदै थिएँ। अलि परबाट मतिर हेदै एक युवती मुस्कुराउँदै आइरहेकी देखें। कोरोनाको प्रभाव केही कम भए पनि अरूले झैं म पनि एक जिम्मेवार सभ्य नागरिक हुनुको दायित्व निभाएकै थिएँ। भन्नुको अर्थ मैले मास्क लगाएको थिएँ। हुन त यो सबैलाई लागु नहोला, आजभोलि मास्कले आधी अनुहार ढाकिने भएकाले पहिलेझैं आफ्ना परिचित व्यक्तिहरूलाई मास्क लगाएको अवस्थामा अलि टाढाबाट ठम्याउन अप्ठ्यारो पर्ने गर्छ। त्यसमाथि म माइनस (टाढाको नदेखिने) पावरदार चस्मा लगाउने गर्छु।
त्यसैले मलाई अलि टाढाबाट मान्छे चिन्ह गाह्रो पर्ने गर्छ। झन् मास्क लगाएर हिँड्नुपर्ने अहिलेको परिस्थितिमा कसरी चिन्नु। खैर ! जब उनी मेरो नजिक आइन्, ती युवतीलाई चिनी हालें। उनी मेरी साथी प्रमिला बज्राचार्य। नेवार समुदायकी। उनी काठमाडौंकी स्थायी बासिन्दा। कलेजको पढाइ नसकिँदै उनले पोखराका ब्राह्मण थरका एक युवकसँग प्रेमविवाह गरी पोखरामा नै बस्न थालेपछि मेरो भेटघाट नभएको लामो समय भइसकेको थियो।
‘के छ साथी चिनेनौ ?’ उनले आफ्नो मास्क खोल्दै भनिन्।
‘ओहो ! प्रमिला तिमी ! पोखराबाट कहिले आयौ ? अनि सबै ठीक छ होइन ?’
मेरो कुरा नटुङ्गिँदै उसले आफैतिर औंल्याउँदै भनिन्, ‘हेर मलाई, म फरक लागिनँ ?’
फिका रंगको कुर्था लगाएकी खाली निधार भए पनि मलाई यो सामान्य नै लाग्यो। आजकल आधुनिक बन्ने होडमा हामी हाम्रो संस्कार संस्कृतिलाई पनि त बिर्संदै गइरहेका छौं। तर पहिलेको त्यो हँसिलो मुहार मुस्कुराउँदै कुरा गर्ने स्वभावकी उनी जब मुस्कुराउँथिन्, गालामा खाल्डो पर्ने भएकाले उनी हाँस्दा निकै प्यारी देखिन्थिन्। मिलेको जिउडाल राम्री मेरी साथीको आज भने मुहारमा करबलको मलिन हाँसोमात्र देखें।
स्कुल पढ्दै गर्दादेखिका मेरा यी साथी कलेज पनि सँगै भर्ना भएका थियौं तर उनले पढाइ बीचमै छोडिन्।
मैले केही बोल्न नपाउँदै उनले मेरो हात समाउँदै भन्न लागिन्, ‘यहाँ बाटोमा उभिएर कतिन्जेल कुरा गर्नु, हिंड उता कतै बसेर कुरा गरौंला। तिमीलाई सबै भन्छु।’ हुन्न भन्ने मसँग कुनै कारण थिएन। डोर्याएको बालकझैं म उनकै पछि लागेर हिँडिदिएँ।
वर्ष दिन भयो उसले यो संसार छोडेर गएको। पोखरामा राम्रै जागिर थियो। नजिकका साथीहरू विदेसिन थालेपछि उसको मन पनि बसेन अनि त यहाँ बसेर भविष्य राम्रो गर्न सकिँदैन भन्न थाल्यो। कसोकसो गरी अमेरिका जाने बन्दोबस्त मिलायो र सुखद भविष्यको कल्पना गर्दै उतै गयो। उता जाँदा छोरी प्रनिता अलि सानै थिई। गएपछि बीचमा आउँछु भन्ने हुँदाहुँदै एघार वर्ष लाग्दा पनि फर्किन मिलेन।
छोरीलाई असाध्यै माया गथ्र्याे। त्यस दिन भिडियो कलमा एकदम खुसी हुँदै उनले मलाई अब तिमी र छोरी यहाँ आऊ है। म सबै मिलाउँछु भन्दै थियो। सधैंझैं त्यो दिन पनि कुरा गरी सकेर म सुत्न गएँ। त्यस्तो हाँसीखुसी कुरा गरेको मान्छे केही घण्टामा नै हृदयघात भएर बिते भन्ने खबर पाउँदा म के भएँ होला। ऊ अमेरिका गएको एघार वर्ष भइसक्यो। त्यसयता भेट्न पाएकी छैन। यत्रो वर्ष मैले ऊसँग फोनमा कुरा गर्दै मन बुझाएर छोरीलाई हुर्काउँदै बसें। छोरी नै ठुली भइसकी। हेर न दुर्भाग्य ! अन्तिममा उसको मुख भए पनि हेर्छु भन्ने लागेर मैले निकै प्रयास गरें। उसको लास नेपालमा ल्याउने मेरा सबै प्रयास विफल भए। सबैले सम्झाएपछि उसको उतै दाहसंस्कार गरियो। यत्तिका वर्ष ऊसँग भेट हुने कल्पनामा बिताएँ। छोरीलाई हेर्दै मन बुझाएँ। आखिर उनको मुखसमेत देख्न पाइनँ।
उसले भएभरका घटना एकै सासमा बताई। आँखाभरि आँसु देखेर मैले पनि मन थाम्न सकिनँ। कतिखेर रोइसकेछु, मुखमा नुनिलो भएपछि पो थाहा पाएँ।
जीवन यस्तै रहेछ। आफ्नालाई गुमाएर मन बुझाउदै बाँच्नुपर्छ भन्ने सम्झें तर दिन लागेपछि लस्करै लाग्दो रहेछ। फेरि उसकै कहानी अघि बढ्यो।
ऊ घरको एक्लो छोरो। म, छोरी र सासुआमा मात्र घरमा। उहाँका सात दिदीबहिनीको पहिल्यै बिहेबारी भइसकेको थियो। ऊ बितेपछि सासुआमाले मलाई र नातिनीलाई निकै भरथेग गर्नुभयो। अब मेरा तिमीहरूनै हौ भन्नुहुन्थ्यो। दोस्रोपटकको लकडाउनमा सासुआमा पनि बित्नुभयो। तर मलाई थाहा नदिईकन सासुआमा सिकिस्त हुनुभएको मौका पारी श्रीमान्का सबै जायजेथा आमाजूहरू मिली सासुआमाबाट आआफ्ना नाममा लेखाइसक्नुभएको रहेछ। मेरा लागि केही नराखे पनि यो नाबालक टुहुरीको मुख त हुर्नुपर्ने नि।
सबैले छोडेर गएपछि मलाई यो उमेरकी नै छ, भोलि अरू कसैसँग बिहे गरी जान सक्छे भन्दै नानाथरी भन्न थाले। बिहे गरी आएदेखि मैले कहिल्यै कसैप्रति दुर्वचन, दुव्र्यवहार गरिनँ। सधंै सबैलाई माया दिएँ। ऊ विदेसिएको यत्तिका वर्ष लोग्नेको बाटो र्हेदै परिवारको साथमा बसें। हेर न, आज ऊ र सासुआमा दुवै बित्नु भएपछि हामीलाई सबै घर सम्पत्ति सबैबाट अलग गरियो। पहिले लाग्यो, मेरी छोरी नभएर छोरा भइदिएको भए सायद त्यसो गर्न सक्दैनथे होला तर लालचको अघिल्तिर छोराछोरी जे भए पनि केही फरक हुँदो रहेनछ।
छोरी न भइदिएको भए म कदापि बाँच्ने थिइनँ। छोरीको हौसला थियो। समयले मेरी छोरीलाई परिपक्व बनाएछ।
मेरी छोरीले भनी– जसले जे गरे पनि, जे भने पनि नडराउनु मामु। मेरी छोरीको साथले ममा आँट जागेर आयो। म एक्लो छैन भन्ने लाग्यो। आफ्नो र छोरीको हकअधिकारका लागि लड्नै पर्छ भनेर मैले कानुनी बाटो अपनाएकी छु। त्यसपछि श्रीमान्को घरमा बस्ने वातावरण नै रहेन। आमाबुबा दाइले काठमाडौंमा हामीसँगै बस। हामी छँदै छौं नि भन्नुभएपछि अहिले म र छोरी काठमाडौंमा माइतीमा बस्छौं। फेरि मुद्दा भएकाले पनि यहाँ बस्दा सहज हुने भयो।
हुन त संसारमा कसैलाई सम्झाउने आर्दशका कुरा गर्न जति सहज छ, वास्तविकता त्यति नै कठिन छ। सहरमा हुर्केबढेकी शिक्षित प्रमिलाले आफ्नो लडाइँ लड्ने छिन्। समयले उनलाई अघि बढ्ने हौसला दिने छ। अघि बढ्दै जाने बाटो देखाउने छ भन्ने मैले कामना गरें।
कस्तो सामाजिक परिवेशमा बाँचेका छौं हामी। जहाँ एकातिर स्वास्नी बितेपछि पुरुष एक्लो होला, समयमै विवाह गर्नुपर्छ भन्दै सहानुभूतिका सयौं शब्द खर्चिने गर्छौं भने अर्कातिर जब एक महिला असमयमै लोग्ने गुमाउन पुग्छे। हामी उसमाथि बाध्यता विवशताका अनेकांै सामाजिक बन्धनहरू लादिने गर्छन्। के यसरी हामी एक आदर्श गतिशील समाज निर्माण गरेको कोरा कल्पनामा नै रमाइरहेका त छैनौं ? जात, धर्म, संंस्कृति, सामाजिक मर्यादा, यी सबैभन्दा माथि मानवता हुनुपर्छ। चाहे सहरमा होस् वा गाउँमा, छोराको बिहे गर्ने क्रममा सकेसम्म शिक्षित सुशील रूप गुणले भरिएकी घरव्यवहार सम्हाल्न सक्ने कन्या खोजिन्छ। यस्तो चाहनु गल्ती अवश्य होइन तर सर्वगुणसम्पन्न बुहारीको आशा राख्नु भनेको अप्रत्यक्ष्य रूपमा आफ्नै छोरीचेलीमाथि मानसिक भार थपिनु त होइन।
आखिर छोरीचेली नै कसैकी श्रीमती, आमा, बुहारी हुन्। घर सबैको हो। त्यसभित्रका काम, कर्तव्य, समस्या पनि सबै मिलीजुली गर्न सकिन्छ। जन्मदिने आमा त एकै हुन् नि। बिग्रिएको बनाउने समाजमा आर्दशता कायम राख्ने काम नारीपुरुष दुवैको हैन र। आमाले छोरा मात्र होइन, श्रीमतीले जीवनसाथी गुमाएको हुन्छ। श्रीमतीको मृत्युपछि छोरा एक्लो भएजस्तै श्रीमान्को मृत्युपछि श्रीमती पनि एक्ली हुन्छिन्। उनीहरूलाई घरपरिवार, आफन्तका नातेदार, साथीभाइ हामी सबैको साथको सहानुभूति अनि मायाको आवश्यकता उति नै पर्छ, जति श्रीमतीको मृत्युपछि एक्लो हुन पुगेका पुरुषलाई पर्छ। मेरो मनले यही कुरा दोहार्याइरह्यो। आखिर सृष्टिचक्रको प्रक्रिया त दुवै मिलेर चल्ने न हो। अंगले बनाएको विभेद कहाँ पुगेर सकिएला ? म आफैमा प्रतिउत्तर खोज्न थालें।
प्रकाशित: २६ कार्तिक २०७९ ०१:५५ शनिबार