शान्ता तिम्सिना
१) खुसी
चरम गरीबीले पिल्सिएको रामे जसोतसो रकमको जोहो गरेर खाडी मुलुक पुगेको थियो। छोराछोरीको उज्ज्वल भविष्य बनाउनु थियो। श्रीमतीको फाटेको चोली फेर्नु थियो उसले।
बिरानो ठाउँ एक्लोपनाले निसास्सिएको थियो ऊ।
थोरै भए पनि पीडा कम होला भनेर फोन किनेर पठाइदियो। तर पनि एक्लोपनले उसलाई विचलित बनाएको थियो।
बिस्तारै कमाइ राम्रै हुन थाल्यो। श्रीमतीलाई फोन गर्दै भन्यो, ‘हेर, अब तिमी शहरमा बसेर छोराछोरी पढाऊ। उनीहरूलाई डाक्टर, इञ्जिनियर बनाउनुपर्छ।’
उसको इच्छा बमोजिम उनी शहर गई डेरामा बस्न थालिन्।
उनले श्रीमानलाई फोन गरेर भनेको थिइन्, ‘यो शहरमा हामी निसास्सिएर बस्न सक्दैनौ। हजुरले रगत-पसीना बगाएको पैसा शहरमा नै सकेर पछि फेरि पहिलाकै अवस्थामा पुगिने रहेछ। अहिले त गाउँमै जताततै बोर्डिङ स्कुल खोलेका छन्। सरकारी स्कुलमा पनि पहिलाभन्दा राम्रो पढाइ हुन थालेका छन्। यो शहरमा म निस्सासिन थालें। हामी गाउँ नै फर्किन्छौ।’
सुरुमा त ऊ झोक्कियो पनि। सुख पाउली भनेर शहर बस भनेको, कुकुरलाई घिउ नपचेको भन्दै केही समय बर्बरायो पनि। केही महिनापछि कम्पनीले कर्मचारी कटौती गर्यो र उसलाई घर फर्काइदियो।
ऊ निराश हुँदै घर पुग्यो। श्रीमतीले खुशी हुँदै भनिन्, ‘हजुरले पठाएको पैसाले दुई जनालाई रोजगार पुग्ने गरी बाख्रापालनमा लगानी गरेकी छु। हजुरले चिन्ता लिनु पर्दैन।’
यतिबेला उसको मुहारमा निराशाका बादल हट्दै गैरहेको देखिन्थ्यो।
२) विश्वासघात
विचार नमिल्दा श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिई बिनुले। पाएको केही रकम बैंकमा राखेर केही गर्ने सोचले राजधानी छिरेकी थिई ऊ।
मन्दिर दर्शन गर्ने क्रममा परिचय भयो सोनुसँग। छुट्ने बेलामा नम्बर साटासाट भएको थियो।
दुवैको सम्पर्क बाक्लो भयो। आउजाउ र भेटघाट सधैं हुन थाल्यो। काठमाडौंमा नयाँ थिई बिनु। आफ्नै कोठाम बस्न अनुरोध गरेकी थिई सोनुले। सोनुको यो साथ-सहयोगमा बिनुको आलो घाउमा मलम लागेको थियो।
बिनुलाई सानो काम पनि लगाइदिई सोनुले।
सोनु भन्ने गर्थी, ‘अनावश्यक खर्च नगर्नु। भविष्य सोच है! कोठा र खानाको केही दिनु पर्दैन मलाई। तिम्रो खुशी नै मेरो खुशी हो।’
राम्रो साथी पाएर ऊ पनि निकै खुसी भएकी थिई। कमाएको पैसा पनि केहीमा खर्च गर्दिन थिई। लगाउने कपडा पनि सोनुले नै ल्याइदिने गरेकी थिई।
उसले भन्ने गरेकी थिई, ‘यहाँ लगानी गरेर डुब्नुभन्दा बरु अमेरिका नै जाऊ। मेरो श्रीमान् उतै हुनुहुन्छ। सबै चाँजो मिलाइदिनुहुनेछ।’
उसलाई साथीको कुरा ठिक लाग्यो। कुनै छलकपट देखिन उसले।
बेलुका सुत्न आफ्नो कोठा छिरेकी थिई बिनु। एउटा पत्र भेटी। लेखिएको थियो, ‘मेरो उद्देश्य जे थियो आज पूरा गरेकी छु। मलाई खोज्ने प्रयास नगर्नु।’
सम्बन्ध-विच्छेद गर्दा पाएको मोटो रकम लिएर सोनु अर्कै शहरमा पसिसकेकी थिई।
३) धर्म
बर्सौपछि आएको चाड दशैंमा गोरीको मनमा भिन्नै खालको खुसी छाएको थियो। आफ्नो संस्कार र संस्कृति जोगाउन आर्थिक अवस्था अनुसार परिवारका लागि किनमेल पनि गरेकी थिई उसले।
कालू पेटमै हुँदा विदेशिएको नरे सात वर्षपछि दशैं मान्न नेपाल फर्किने कुराले परिवारमा खुसी छाएको थियो। माइती घरमा पनि बल्ल पहिलोचोटि टीका लगाउनु थियो उनीहरूले।
विदेशी भूमिमा यत्रो वर्ष दुःख-कष्ट सहेर आउँदै गरेको आफ्नो श्रीमानलाई कुनै पनि कुराले दुखी बनाउन चाहन्नथी गोरी।
सासू-ससुरा, छोरा-छोरी र नन्द-आमाजू सबै खुशी थिए। आफ्नो कर्तव्य भुलेकी थिइन् उसले। दशैका लागि चाहिने सम्पूर्ण सामग्री जुटाएर श्रीमानलाई खुसी दिन चाहेकी थिई उसले।
घरमा कुनै कुराको कमी थिएन तर पनि लामो समय एक्लिएकी गोरीलाई श्रीमानको न्यानो स्पर्शको भने अभाव खड्किएको थियो। छोराछोरीलाई बाबाको न्यानो मायाको अभाव तथा वृद्ध बाबा-आमालाई आफ्नो बुढेसकालको सहारा टाढा हुँदाको पीडा एकसाथ थियो।
टीकाको दिन मनभरि खुसी बोकेर मिठो प्रतीक्षा गर्दै थालीमा अक्षता तयार पारेर बसेका थिए उनीहरू। छोरा आइपुग्यो। साथमा एकजना केटी पनि आई।
सबैले सोचे, ‘कोही साथी होला।’
दुवैले सबैलाई नमस्कार गरे। बाबाले टिकाको साइत भएको हुनाले पहिला टीका ग्रहण गरिहालौं। बाँकी परिचय पछि गरौला भन्दै रातो टीका भएको हात निधारमा बढाउँदै गर्दा उसले भन्यो,‘बाबा, हामी टीका लगाउँदैनौं। हामीले धर्म परिवर्तन गरेको धेरै वर्ष भैसकेको छ।’
४) झड्का
शिक्षण पेशामा पाँच वर्षको अनुभव लिएकी ज्योतिको आफ्नै विद्यालयको स्टाफसँग विवाह भएको थियो। विवाहको दुईचार महिना जसोतसो राम्रै थियो तर पारिवारिक व्यवहारमा खटपट आउने देखेकी थिइन् उनले।
आफू शिक्षित हुनाले समस्यालाई सहजै सामाधान गर्ने जुक्ति लगाइन्। परिवारमा नराम्रो नभई अन्तै बस्ने सोच बनाएर एकदिन बेलुकाको खाना खाइसकेर सबैको सामु कुरा निकालिन् र भनिन्, ‘मलाई उच्च शिक्षा हासिल गर्ने विचारछ। कसो गरौं?’
बुहारीको राम्रो सोचको सबैले तारिफ गरे। गाउँमा क्याम्पस नहुनाले शहरको आसपासमा जागिर सरुवा गर्ने सहमति भयो।
केही समयपछि शहर गएर कोठाभाडामा लिएर बस्न थालिन्। बिहानै उठेर क्याम्पस जाने र दिउँसो विद्यालय जाने गर्थिन्। श्रीमानलाई पनि त्यही विद्यालयमा मिलाउन गरेको पहल सार्थक बनेको थियो उनको।
श्रीमानलाई म्यासेज लेखेर विद्यालय गएकी थिइन् तर संयोगवश त्यो म्यासेज श्रीमानलाई नगई अन्तै परेछ। जुन व्यक्ति श्रीमतीको दाहसंस्कार गरेर घरमा भर्खर आइपुगेको थियो। म्यासेज पढेर बेहोस भयो।
म्यासेजमा लेखिएको थियो, ‘बुढा, म एकदम ठिक छु। सबै कुराको राम्रो सुविधा रहेछ यहाँ। हजुरका लागि पनि यहीं सेटल हुने व्यवस्था मिलाएकी छु। अब दुईचार दिनमा हजुरलाई लिन आउँछु है।’
५) पछुतो
मोबाइलमा घण्टी बज्यो। हतारमा उठाएँ, आमाको रहेछ। भन्नुभयो, ‘छोरी, तिज आयो त! भोलि बुबा लिन आउनुहुन्छ, घरमा कुरा मिलाउनु है!’
फोन राखेर घरमा सोधें। अनुमति पनि मिल्यो। जन्म घरमा सबै दिदीबहिनीको भेटघाट बुबाआमासँग रमाइलो तिज मनाउने खुसीमा थिएँ म।
छिमेकी शिला भने मेरो गरीबीमा हाँसो गर्थी। उनका श्रीमान् भन्सारमा राम्रै आम्दानी गर्ने हुनाले घमण्ड बढेको थियो। उसले हाँस्दै भनी, ‘न गहना छ्न न राम्रो लुगा नै! के जानू माइत पनि! आफ्नो घरकै इज्जत जान्छ! हुन त इज्जत के हो भन्ने थाहा हुनुपर्यो नि।’
ऊ भने भए जति गहना लगाएर चट्ट सारीमा सजिएर श्रीमानका साथमा माइत जाँदै थिई।
माइती घरमा सबै मिलेर दर खाइयो। खुसी र पीडाहरू साटासाट गरियो। मन खुसी भएको थियो।
एक छेउमा रेडियो बजिरहेको थियो। तिजका गीतहरूले वातावरणलाई झनै मनोरम बनाइरहेको थियो।
मैले समाचारको सुरुमै सुनें,‘भ्रष्टाचारको अभियोगमा गंंगा कंडेललाई बिगोसहित सात वर्षका लागि जेल चलान गरियो।’
हतारहतार घर पुगेकी थिएँ। उसले छेउमा आएर अँगालो हालेर रुँदै भन्न थाली, ‘हामी त घर न घाटको भयौं। यस्तो दिन आउला भनेर मैले त सोचेकी पनि थिइनँ।’
प्रकाशित: २५ कार्तिक २०७९ ०८:१० शुक्रबार