२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

बुढाकी प्यारी

लघुकथा

बन्दना घिमिरे

१) बुढाकी प्यारी

हिजो राति १० बजेतिर मोबाइल हेर्दै थिएँ। फ्रेन्ड रिक्वेस्टमा आखाँ पर्‍यो। ओहो ७४३ रिक्वेस्ट! कसकसका होलान् यति धेरै रिक्वेस्ट।

नाम पढे। केही परिचित बाँकी धेरैजसो अपरिचित। केही अनुहार र नाम मिलेकाहरूको प्रोफाइल हेरेर एसेप्ट गरें।

त्यहीं बेला नयाँ रिक्वेस्ट देखियो। ‘बुढाकी प्यारी म’ नाम सहित फोटो लालीगुराँस।

हरदम जिस्किरहनुपर्ने साथीहरूलाई सम्झें। अहँ, पटक्क सम्झना आएन। सत्यवती हो कि? अनुमान लगाएँ। उसलाई बुढाले असाध्य माया गर्छ भनिरहन्थी।

उसको सत्यवती नामको मेसेन्जरमा कल गरे, ‘सत्यवती तिमीले ‘बुढाकी प्यारी म’ भन्ने नयाँ आइडी बना’को हो?’

‘होइन साथी अहिले म व्यस्त छु। पछि कल गर्छु।’भनेर कल काटी।

मेरो दिमाग रन्थनियो।

म बरबराएँछु,‘कस्ता मान्छेहरू बुढाकी प्यारी म अरे। चाहिंदो फेक आइडी बनाएर अरूको दिमाग चाट्यो।’

मेरा बुढा कराए, ‘रातिराति मोबाइल खेलायो, बरबरायो कामकाज छैन। सुत्नु नि खुरुक्क। आधारात भइसक्यो बाँदर चाला।’

मसिनो स्वरमा भनें, ‘मोवाइल चार्जबाट हटा’को। अब सुत्न आँटेको।’ बुढाकी प्यारी म सहितको स्क्रिन सट राखेर फोटो, नाम ठेगाना सही नभएको रिक्वेस्ट स्विकार्दिनँ लेखेर पोस्ट गरेर सुते।

बिहान उठेर मोबाइल समाते। ‘बुढाकी प्यारी म’ भन्ने आइडीबाट मेसेन्जरमा लामै मेसेज रहेछ।

‘दिदी, म मनमाया क्या। बुढाले दिनरात कुटेर हैरान बनायो। बाँच्नै नसक्ने भएँ। छोरी १० र छोरा ८ वर्षको भयो। अब म नभए पनि बाँच्छन् खान पाएपछि। म आज पल्लो गाउँको सुन्दरेसँग भाग्न लागेकी छु। यो मेरो नयाँ आइडी हो। हजुरले कहिलेकाहीं बच्चाहरूको फोटो देखाइदिनु है मलाई। म यहीं आइडीबाट हजुरसँग मात्र सम्पर्कमा रहने छु। सहनुसम्म सहें,केही लागेन मेरो। रातदिनको लात घुस्सा कति सहनु!’

 २) लैंगिक हिंसा

‘उफ थकाइ लाग्यो! आज त दिनभरि एकछिन फुर्सत भएन।’भन्दै बुढा अफिसबाट आउनासाथ ओछ्यानमा पल्टिए।

बुढीले भनिन्,‘खाजा के खानुभयो? मेरो त आज खाजा खाने पनि फुर्सत भएन। बिहान लगेको टिफिन खानै नपाई फिर्ता ल्याएँ।’

‘ए अब खानु नि, मैले आज खास त्यस्तो केही खाइनँ खाजा सेट र चिया मात्रै हो।’

चिया खुवाऊ है। जाडो भयो।’

भान्सामा पसेर बिहानैदेखिको भाँडा सफा गरिन्। चिया पकाइन् दुवैले सँगै बसेर खाए। बुढा मोबाइलमा हेर्न थाले। बुढीले भान्सा ठिक गरिन्। खाना खाए। जुठो चुलो सकेर कोठामा पसिन्। छोराछोरीसँग फोन गरिन्।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसम्बन्धी कार्यक्रममा आज बोल्नुपर्‍यो। बोल्नुपर्ला भनेर सोचेको पनि थिइनँ तर बोले कस्तो भयो कुन्नि? साथीहरूले ठिकै भाको थियो, भिडियो खिचेको छु, पठाइदिन्छु भन्नुभएको थियो। पठाउनुभयो कि!  भन्ने सोच्दै मेसेन्जर हेर्दै थिइन्।

बुढाले भने ‘कति मोबाइलमा झुन्डिएको? भोलि बिहान ८ बजे नै कार्यक्रममा जानु छ। लुगामा अहिले नै आइरन गरिदेऊ। म यसो भोलिको कार्यक्रममा बोल्न बुँदा टिपोट गर्छु।’

बुढाको लुगामा आइरन गरिसकेपछि केके रहेछ त बोल्न लेखेको  बुदाँ भनेर यसो हेरिन्। लेखिएका बुँदाहरू यस्ता रहेछन्:

१.लैंगिक हिंसा भन्नाले बलात्कार, कुटनु, मार्नु मात्र नभई हाम्रो घरपरिवारमा हुने सानातिना घरेलु व्यावहारिक कुराहरू पर्दछन् हेप्नु, जिस्काउनु, अर्काको मनमा मानसिक ठेस पुर्‍याउनु पनि हिंसा हो।  २.सकारात्मक  परिवर्तन आफैबाट शुरू गर्नुपर्छ। सर्वप्रथम अहिलेको एक्काइसौं शताब्दीमा बुढाबुढी बराबर भएकाले आआफ्नो व्यक्तिगत  सरसफाइसम्बन्धी काम आफैआफै गर्नुपर्छ।

३. बिल गेट्स जस्ता विश्वकै धनीले पनि बेलुकीको खाना आफै बनाएर खाने र दुवै जना मिलेर घरको सरसफाइ गर्ने गरेको पत्रपत्रिकामा पढ्न पाइन्छ। ४, ५,६ ३ नम्बरभन्दा तल उनले पढ्न नै सकिनन्।

३) सौता

फेसबुकले गर्दा विद्यालय पढ्दाका साथीहरू वर्षाैपछि एक आपसमा जोडिएका र फुर्सदको  समयमा गफगाफ गर्ने क्रममा दुई साथी गफ गरेको म आफ्नै घरको छतबाट सुनिरहेको थिएँ। मेसेन्जरमा गफ गर्ने यतापट्टि मेरी छिमेकी दिदी हुनुहुन्थ्यो भने उताबाट पुरुष आवाज सुनिएको थियो। हालखबर सोधखोज गरेपछि शिक्षा,विवाह, पेशा र छोराछोरीसम्बन्धी खबर आदानप्रदान भयो।

पुरुष मित्रले भन्नुभयो, ‘विवाह भएको २५/२६ वर्ष भइसकेछ कस्तो चल्दै छ त वैवााहिक जीवन?’

‘ठिकै छ, राम्रै चल्दै छ।’

‘बुढाको सबै बानीव्यवहार राम्रो छ? केही नराम्रो बानी छैन?’

- ‘एकछिन सोचेझै गरेर, छन् दुईवटा बानी नराम्रा।’

‘के छ?’

‘एउटा कान नसुन्ने र अर्कोचाहिं झर्किने।’

‘कहिलेदेखि? बिहे हुदाँदेखि कि पछि? किन झर्किने?’

 ‘सधैंभरि कान नसुन्ने, झर्किने होइन नि! मेरा बुढाका मबाहेक दुई वटी बुढी छन्। ती बुढीहरूसँगै  मस्त भएका बेलामा नजिकै गएर बोलाउँदा पहिला त कान नै सुन्नु हुन्न। सुनिहाले पनि झर्कनुहुन्छ।’

(स्वर सानो सुनिन्छ) ‘ओहो तिम्रो त दुईदुई सौता पो छन्। कठै, बिहे गरेको कति वर्षमा पायौ नि सौता?’

‘पहिलीचाहिं मेरो विवाह गर्दा बुवाआमाले मसँगै पठाइदिनुभएको, दोस्रीचाहिं ३ वर्ष जति भयो।’

‘ए हो र? उनीहरू कहाँ छन् त अचेल?

‘यही छन् सँगसँगै। कहाँ जाऊ न र! बिचरी कान्छी ल्याएपछि ती पहिलाकीलाई हेरेको भए पो त! ती त चुपचाप बसिरहन्छन्। दया लागेर कहिलेकाहीं  म यसो हेरविचार गरिदिन्छु। एउटी मैले हेरिदिए बोल्छे नत्र चुपचाप टिभी/ केविनेटभित्र बसिरहन्छे। कान्छीचाहिं बुढासँग अफिस आउजाउ पनि गर्छे। डेढ वर्ष अगाडि  छोरीको कन्भोकेशनमा जाँदा अमेरिकाबाट मैले नै ल्याइदिएको आइफोन-१०।’

 ४) थर

एकजना नानीको प्रेम विवाह भयो। विवाहको भोलिपल्ट उनले मुहार पुस्तिकामा लेखिन्, ‘म आज धेरै खुसी छु। मेरो नामको पछाडि हजुरको थर जोड्न पाएकी छु र यसमा आफूलाई गौरवान्वित ठानेको छु।’

मैले पनि कमेन्ट लेखें, ‘नानू, बधाई तथा सफल वैवाहिक जीवनको हार्दिक शुभकामना!’

एक-दुई वर्ष विवाह वर्षगाँठको शुभकामना पनि दिए।

अहिले सुन्दैछु उनीहरूको सम्बन्ध विच्छेद भयो अरे। अब फेरि पहिलाकै नाम थरमा फिर्ता आउनु पर्नेछ। अब के स्टाटस राख्ने होला?

महिलासँग सम्पतिको नाममा आफ्नो प्यारो जन्म दिने बाबाको थर छ त्यो पनि त्याग्न किन अघि सरेका होलान? विवाह गरेपछि थर परिवर्तन गर्ने चलन कसले र किन चलायो होला?

मलाई त मेरो भन्ने यहीं नाम र थर पनि त्याग गरेपछि म हराउँछु जस्तो पो लाग्छ।

बुढालाई सोधे, ‘मेरो नाम पछाडि हजुरको थर नराख्दा रिस उठ्दैन?’

‘किन उठ्नु रिस? आफ्नो नाम आफ्नो खुसी।’

५) रिहाइ  

नेताज्यू आफै गाडी हाँकेर कतै जाँदै हुनुहुन्थ्यो। फोन आयो। गाडी घुम्यो कानून व्यावसायीको कार्यालयमा पुगेर टक्क रोकियो। चुनावको बेलाभन्दा बाहेक कही कहिल्यै नउठ्ने दुई हात उठेर नमस्कारको मुद्रामा जोडिएका थिए।

‘हजुर, वकिल साहेब! मेरो छोरालाई बँचाइदिनुपर्‍यो। म बर्बाद भएँ  जसरी पनि बँचाउनुप¥यो।’

कहिल्यै आफ्नो कार्यकक्षमा नआउने, सधैं फोन गरेर तुरुन्तै आउन खबर गर्न लगाउने नेतालाई आफ्नै कार्यकक्षमा देखेर वकिल छक्क परेर हेरिरहे।

एकछिन गमेर वकिलले भने, ‘के भयो हाम्रा बाबुलाई? के गरिबक्सियो बाबुले?’

नेताले वकिलको नजिकै गएर सानो स्वरमा भने, ‘१६ वर्षकी केटीलाई बलात्कार गरी मारेर आएर घरमा चुकुल लाएर बसेको छ रे। जसरी भए पनि बँचाउनुपर्‍यो। मेरो एक मात्र सन्तान बुढेसकालको सहारा।’

‘मैले त के गर्न सक्छु र? दसी-प्रमाण सबै पुलिसले भेटेपछि। हजुरले डाक्टरसँग भनेर मेरो छोरासँग बलात्कार गर्ने हतियार नै छैन भन्ने प्रमाण बनाउन लगाउनुस् न।’

‘उसो भए डक्टरकोमा जाऊँ न त।’ दुवै डक्टरकोमा गए क्लिनिकमा। भोलि बिहानै सरकारी अस्पतालमै रिपोर्ट बनाउने सल्लाह भयो र साँझ अबेरसम्म पार्टी चल्यो।

सञ्चार माध्यममा लगातार खबर आइरह्यो।

‘१६ वर्षीय किशोरीको कलेज ड्रेसमै दिनदहाडै बलात्कारपछि हत्या, अपराधीको खोजी तीव्र।’

‘प्रत्यक्षदर्शीहरूका अनुसार नेताको छोरालाई भाग्दै गरेको देखेको।’

‘हत्या आरोपी प्रहरी हिरासतमा।’

‘पीडित पक्षद्वारा किटानी जाहेरी।’

‘जनतालाई अदालतमाथि पूर्ण विश्वास, पीडित पक्ष न्याय पाउने आशामा।’

‘आरोपीलाई १० दिनभित्र अदालतमा उपस्थित गराइने।’

दिनहुँ सञ्चार माध्यमका हेडलाइन यस्तै आइरहे।

आज दशौं दिन मानिसहरू न्याय पाउने आशामा। केही अदालत परिसरमै पुगेका थिए भने केही सञ्चार माध्यमबाट समाचार सुन्दै थिए।

‘बलात्कारका आरोपी फलानो जिल्ला फलानो नगरपालिका बस्ने वर्ष ३० का बलात्कारपछि हत्या गरिएका भनिएका आरोपी श्रीसँग बलात्कार गर्ने हतियार नै नभएको प्रमाणित भएकाले निर्दाेष ठहर्‍याई रिहाइ गरिएको छ।’

प्रकाशित: १८ कार्तिक २०७९ ०८:०७ शुक्रबार

अक्षर