२१ पुस २०८१ आइतबार
image/svg+xml
कला

बेस्ट नायिकाको अवार्ड पाइनँ, मेकअप र कपडाको मात्रै मूल्यांकन गरियोः करिष्मा मानन्धर

नेपाली चलचित्र बगानको शीर्ष गीत ‘उडी छुनुछ आकाश’ सार्वजनिक भएको छ।

काठमाडौँमा एक कार्यक्रमबीच सोमबार चलचित्रको गीत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्र निर्देशक एवं नायक सरोज खनालले चलचित्रमा वधुवा महिला (आमा) को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाएको बताए। उनले अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो भएझैँ महिलालाई पनि अर्को जीवनसाथीको खाँचो हुनेकुरा चलचित्रमा रहेको बताए। उनले अहिले विधुवा पुरुषको कथा रहेको चलचित्र महापुरुषले सिने क्षेत्रमा तहल्का पिटेको उल्लेख गर्दै महिला विधुवाको कथालाई पनि दर्शकले मन पराइदिने विश्वास व्यक्त गरे।  

उनले भने, ‘अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो हुन्छ भने महिलाहरुलाई हुँदैन? हामी २१ औं शताब्दीमा छौँ। समानताको कुरा गर्छौं। कुरा गर्छौं, कर्म गर्दैनौँ। मैले यो सिनेमाबाट कर्म गर्न खोजेको छु। विधुवा पुरुषको मात्रै कुरा होइन, अहिले विधुवा पुरुषको कथाबाट बनेको महापुरुषले तहल्का पिटिरहेको छ, मैले यस फिल्ममा विधुवा महिला (आमा) को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाएको छु। त्यो उठाउने जिम्मा आजको पिढीको हो।’

त्यस्तै अग्रज कलाकार वसुन्धरा भुसालले दर्शकहरुले यो चलचित्र मन पराइदिने विश्वास व्यक्त गरिन्। उनले चलचित्रले समाजमा महिलालाई परेको दुःखलाई देखाएको बताइन्। चलचित्रमा महिलाको हक, अधिकार र वेदनालाई समेटिएको बताइन्। त्यस्तै अग्रज कलाकार नीर शाहले समाजलाई परिवर्तन गर्न चलचित्रको माध्यमबाट परिवर्तन गर्नका लागि यो चलचित्र आवश्यक रहेको बताए। उनले चलचित्रले सामाजिक कुरीतिविरुद्ध एउटा सशक्त आवाज उठाएको उल्लेख गरे। त्यस्तै नायिका करिष्मा मानन्धरले बेस्ट नायिकाको रुपमा आफूलाई कुनै अवार्ड नआएको भन्दै गुनासो गरिन्। आफूलाई जहिले पनि मेकअप र लुगाले मात्रै मूल्यांकन गर्ने गरेको उनले बताइन्। चलचित्र बगानमा भने आफूले अभिनयबाट चिनिने मौका पाएको बताइन्।

उनले भनिन्, ‘उमेरसँगै मानिसले आफूलाई अर्को धारमा लैजानुपर्ने हुन्छ। त्यसको लागि म हाई ममी, बाई ममी भन्ने रोलमा गर्न रेडी थिइनँ। ग्ल्यामरस हिरोइनको छाप ममा छ, त्यसलाई कायम गनुएपर्ने बाध्यता मलाई छ। करिष्मा मानन्धरले कहिले पनि बेस्ट नायिका भनेर अवार्ड पाएन। जहिले पनि यत्रो लामो करियर भयो, कहिले पनि पाएन। जहिले पनि मेकअप र लुगाको मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो मेरो। यो फिल्ममा मैले अभिनयबाट चिनाउने रोल गर्न पाएँ।’ सरोज खनाल निर्देशित चलचित्र बगान आगामी फागुन १२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।

प्रकाशित: १५ कार्तिक २०७९ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App