रञ्जुश्री पराजुली
रुपा,कविता,रमा,गोमा टोलाका दौंतरी थिए। उनीहरूले धेरै अगाडिदेखि भैलो खेल्ने सल्लाह मिलाएका थिए। उनीहरू दसएघार वर्षका थिए। एउटै स्कुल र एउटै कक्षामा पढ्ने नभए पनि उनीहरू वल्लाघर पल्लाघरका साथी भएकाले सँगसँगै खेल्ने, आफूले जानेका सीपहरू: चित्र कोर्ने, सुइटर बुन्ने,गीत गाउने जस्ता कला एक अर्कासँग साटासाट गर्दै थिए।
दशैंको बेलादेखि उनीहरूले सँगै भैलो खेल्ने चाँजो मिलाएका थिए। टोलमा चिनेको घरमा मात्र जाने, अबेरसम्म नडुल्ने भन्ने सर्तमा उनीहरूले भैलो खेल्न जाने स्विकृति पाएका थिए। भैलो खेल्दा लम्मा भएको पैसा दामासाही रूपले बाँड्ने सल्लाह गरेका थिए।
सबै कुरा सुनिरहेको रमाको भाइले भन्यो,‘म पनि जान्छु है भैलो माग्न। म धेरै माग्दिनँ। पचास रुपैयाँ मात्र दिए हुन्छ।’
सानो भाइलाई माया गर्दै सबैले भने,‘हुन्छ भाइ, हामी तिमीलाई लान्छौं तर ज्ञानी हुनुपर्छ है।’
कुरा मिल्यो। लक्ष्मीपूजा सुरु भएपछि कविताको घरमा सबै जम्मा भए। त्यसैबेला गोमा बाथरुम गएर आइहाल्छु भनेर भित्र पसी।
भैलो सकेर फर्किंदा कविताकी आमाको तिलहरी हराएर हल्लाखल्ला भएको रहेछ। उनीहरू सबै आआफ्नो घरतिर लागे।
गोमाकी आमाले ‘गोमा एक्लै माथि गएकीले पक्का पनि त्यसैले चोरेको हुन सक्छ’ भन्ने हल्ला फैलिएको सुनिसकेकी रहिछन्।
उनले छोरीलाई थप्पड लगाउँदै रिस पोखिन्,‘तैले चोरेको भन्छन्, हो त? हाम्रो नाक काटिस्। ज मलाई मुख नदेखा।’
पछि कुरै नबुझी किन छोरीलाई पिटे हुँला भनेर उनी पछुताइन्।
गोमाचाहिं रुँदै सुत्ने कोठाभित्र पसी।
सधैं ‘चिया पाक्यो आमा’ भन्दै एकाबिहानै आउने छोरी भोलिपल्ट अबेरसम्म पनि आइन। त्यसपछि ‘छोरी, तँ अझै किन नउठेकी’ भन्दै ढोका खोलेर भित्र पसिन्।
उनी एक्कासि चिच्याइन्, ‘छोरी, तैले के गरेकी यो! जिन्दगीलाई यसरी खेर फाल्नुहुन्छ!’
प्रकाशित: १३ कार्तिक २०७९ ०४:२७ आइतबार