२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

‘अविरल यात्रा’ का पाँच लघुकथा

लघुकथा

हरिप्रसाद भण्डारी

१) आदर्श पुरुष

उसलाई सबै जना भ्रष्टाचारी भन्थे, तस्कर भनेर घृणा गर्थे र कहिलेकाहीं त केटीबेचुवा भनेर पनि सराप्थे।

एकपटक त उसले छोएको पानी खानु हुँदैन भनेर पनि गाइँगुइँ चलेको थियो टोलछिमेकमा। छिमेकीहरूले आवतजावत र ऐंचोपैंचो पनि कम गर्दै गएका थिए। उसको घर समाजबाट बाहेकजस्तै भएको थियो।

केही समयपछि उसले यसो मौका मिलाएर त्यही नजिकैको एउटा विद्यालयलाई ठूलै रकम चन्दा दियो। त्यसको प्रभाव विद्यालयको वार्षिक उत्सवमा उसलाई प्रमुख अतिथि बनाइयो।

दोस्रोचोटि धार्मिक अवसर पारेर नजिकैको मन्दिरमा छानो मर्मत गर्न र मन्दिरको वरिपरि पर्खाल लगाउन केही रकम प्रदान गर्‍यो। मन्दिर व्यवस्थापन समितिले उसलाई आदरसाथ आजीवन सदस्य बनाएर सम्मान गर्‍यो।

त्यसपछि उसले घरमा एउटा पूजाको आयोजना गरेर ठूलो भोज लगायो। धेरैले ठूलो दिल भएको भनेर प्रशंसा गरे।

केही समयपछि बाटो निर्माण र खानेपानीको लागि पनि केही रकम सहयोग गर्‍यो। समाजले उसलाई महान् समाजसेवीका रूपमा स्थान दियो।

‘प्रजातन्त्रलाई बलियो बनाउन अब आउने चुनावमा उसैलाई उठाउनुपर्छ।’ हिजोआज टोलछिमेकमा यस्तै कुराको चर्चा हुने गरेको छ।

 २) गाउँको खबर

हजामले प्रत्येक दिन दरबारमा आएर राजाको दारीकपाल खौरन्थ्यो र संकलन गरी ल्याएका गाउँभरिका खबर राजालाई सुनाउँथ्यो। त्यो दुवै काम गरेबापत राजाले उसलाई दैनिक ज्याला दिन्थे। उसको घरायसी समस्या राम्रोसँग समाधान भइरहेको थियो।

‘कस्तो छ ठाकुर गाउँको हालखबर?’

‘सब बेस छ सरकार। गाउँमा कुनै समस्या छैन। सबै जना राम्रोसँग बसिरहेका छन्।’

अर्को दिन,

‘के छ ठाकुर गाउँको खबर?’

‘सब राम्रो छ हजुर। सबै गाउँलेले सरकारको जयजयकार गरेर बसिरहेका छन्। कुनै समस्या छैन।’

सैनिक तयारीका कारण राज्यकोषमा केही समय संकट आयो। त्यसले गर्दा हजामले केही समय ज्याला पाएन-

‘कस्तो छ ठाकुर गाउँको हालखबर?’

‘खत्तम छ महाराज। गाउँमा अनिकाल छ। गाउँलेहरू खान नपाएर भोकभोकै बस्न बाध्य छन्। भित्रभित्रै सरकारको आलोचना हुन लागेको छ। यस्तै हो भने विद्रोह हुन सक्छ सरकार।’ डराईडराई हजामले भन्यो।

 ३) लाइसनको खेती

‘सार मो किन फेल भयो?’

‘राम्ररी टायल दिन सकेन। एउटा लठ्ठी ढाल्यो, त्यसैले फेल भयो। राम्ररी सिकेर आऊ,अर्कोचोटि पास भइहाल्छौ नि।’

केही दिनपछि–

‘सार अहिले पनि मो किन फेल भयो? पुरानो ड्राइभरले जस्तै चालाएको थियो।’

‘हो त्यही भएर फेल भएको। तिमी यस्तो जान्ने कसरी भयौ? पक्कै मूल सडकमा गाडी चलाएको हुनुपर्छ। त्यसैले राम्रो छानबिन नगरी लाइसेन दिन मिल्दैन।’

सुइय्य लामो सास फाल्दै थकित मुद्रामा-

‘होइन सार, गाडी चलाउन नजान्दा पनि लाइसेन दिएन। राम्ररी चलाउन जान्दा पनि लाइसेन दिएन। अब के गर्‍यो भने पाउँछ सार?’

‘तिम्रो साथी नोर्बुले जस्तै गर्नुपर्छ, एक घण्टामा पाउँछ।’ मुसुक्क हाँस्दै सरले भन्यो।

-नोर्बु?

त्यसपछि ऊ नोर्बुको खोजीमा बाहिरतिर निस्कियो।

 ४) गिद्ध सम्मेलन

चरनको व्यवस्था गर्ने उद्देश्यले गाउँका गिद्धहरू मिलेर एउटा सम्मेलन गरे।

‘पहिले-पहिले गाउँलेहरू त्यत्ति सचेत थिएनन्। गाउँघरमा मरेका पशुहरूलाई भीरबाट लडाउने वा दलितहरूले काटेर खाने चलन थियो। त्यसो गर्दा हाम्रा लागि आहाराको कुनै कमी थिएन। तर, अहिले सबै सचेत हुँदै गए। सिनो खान छाडे। दुर्गन्ध र प्रदूषण बढ्छ भन्दै भीरबाट लडाउने वा त्यसै छाड्ने काम पनि बन्द हुँदै गयो। हिजोआज मरेका पशुहरूलाई व्यवस्थित रूपमा जमीनमा गाड्ने चलनले हाम्रो आहारा नासिंदै यो। हामी भोकभोकै मर्ने भयौं। अब यस समस्याको समाधान कसरी निकाल्ने? यही विषयमा छलफल गरौं।’ आयोजकहरूले कुरा राखे।

‘हो-हो हाम्रा लागि यो निकै समस्याको विषय बनेको छ। यस सम्बन्धमा विचार गर्नैपर्छ।’ सबैले समर्थन जनाए।

व्यापक छलफल भयो। छलफलमा केही बुज्रुक गिद्धहरूले यस्तो प्रस्ताव राखे-

‘गाउँघरमा सरसफाइ गर्ने भावना बढे पनि शहरमा अझै फोहोरको साम्राज्य कायमै छ। कुराले आफूलाई अति सभ्य र सुसंस्कृत ठाने पनि शहरबासीहरू अझै सफासुग्घर भएर बस्न सकेका छैनन्। ठाउँठाउँमा अस्तव्यस्त तरीकाले पशुवध गरेर उत्तिकै फोहर गर्दछन्। वध गरिएका पशुका हाडखोर यत्रतत्र छरिएका हुन्छन्। यसले गर्दा हरहमेसा राजधानी शहर निकै दुर्गन्धित देखिन्छ। हाम्रा लागि उक्त स्थान अति उत्तम छ। त्यसैले अब हामी सबै राजधानी शहरमा जानुपर्छ। सहजै ज्यान पाल्न सकिन्छ।’

‘अति उत्तम सुझाव!’ खुसी हँदै सबैले सामूहिक समर्थन जनाए।

त्यसपछि एकएक गरी गाउँका गिद्धहरू राजधानी शहरतिर ओइरिन थाले।

 ५) आदेशको पालना

पाँच जनाभन्दा बढी मान्छे भेला हुन नदिनु।’ आदेश कडा थियो।

‘यत्रा मान्छे!’ ऊ आत्तियो र तुरुन्तै जाहेर गर्‍यो।

सेटबाट जवाफ आयो,‘ठोक।’

तुरुन्तै भएको लाठीचार्जमा धेरै मान्छे भागे। भाग्न नपाएका र नसकेकाहरूले बेसरी कुटाइ खाए।

कुटेर लाफो पार्दा पनि नभागेकाहरूलाई समातेर गाडीमा कोचे र चौकीमा पुर्‍याए।

‘तँ को होस्?’ कडा शब्दमा हाकिमले सोध्यो।

डराई-डराई केटाले भन्यो, ‘बेहुलो हुँ हजुर।’

-अनि तँ?

लजालु नजरले बेहुलातिर हेर्दै बिस्तारै भनी,‘बेहुली।’

(लघुकथासंग्रह ‘अविरल यात्रा’ मा सङ्गृहीत।)  

प्रकाशित: ११ कार्तिक २०७९ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App