१७ असार २०८१ सोमबार
image/svg+xml
कला

उताबाट पठाएको मीठो याद आयो

गीत

बोधराज पौडेल

 १) गीत

निर्मोहीलाई सम्झिएर जत्ति शब्द कोरे पनि,

आफ्नो पार्न सकिन्न रे दशै औंला जोडे पनि।

  -             -               -             -

बेअर्थमा तड्पिनु छ, आफ्नै मुटु जलाएर

तरंगित किन पार्नु शान्त ताल चलाएर

निस्कन्न है ढुंगामा जल टाउको नै फोरे पनि।

   -             -               -             -

भाग्यमा केही हुन्न भन्छन् कर्मयोगी वीरले

लहरालाई थामेको छ पहरा र भीरले

निर्मोहीको कस्ले थाम्ला सम्बन्धको डोरी पनि।

  २) गीत

आँखाभरि तस्विर उनको सम्झनाले होला,

उनकै स्वरमा संगीत भर्छ कलकल गरी खोला।

  -             -               -             -

टाढाटाढा बग्दै जानु बालुवालाई छोडी

एक्लै यात्रा गर्ने उसले खोज्दैन है जोडी

थोपासँग एउटै रंग फेर्दा पनि चोला

निरन्तर बग्न सक्ने कस्तो साहस होला।

    -             -               -             -

अन्यायलाई सहदैन रोके बगाउँछ

हार्नुपर्छ उसैले नि जस्ले बार लगाउँछ

सम्झनाको तरेली यो बिर्सने को होला?

मेरो मनको संवेग हो धर्ती माझ्ने खोला।

  ३) गीत

पाखाभरि घाम-जून मनमा अन्धकार,

किन पर्छ मेरो भागमा सधैंसधैं हार।

  -            -               -            -

पासोबाट उम्केपछि भुङग्रोमाथि पर्नु

उज्यालोको लोभमा परि पुतलीझैं मर्नु

निस्सार यो जीवनलाई खुकुरीको धार

किन पर्छ मेरो भागमा सधैं-सधैं हार।

-             -               -             -

सधैं औंसी हुँदै हुन्न, पूर्णे आउने छ

कर्कलाको पातले पनि घाम पाउने छ

भन्नलाई सजिलो छ भएँ निस्सार

किन पर्छ मेरो भागमा सधैंसधैं हार।

  ४) गीत

वैलेर जाने बेलीको फूलले मखमली सम्झेला,

जीवनको मोल आमाको माया कस्तो छ भन्देला।

        -             -               -             -

परदेशबाट आएको चिठी डरको भारी छ

मनको बह बगेर पुग्ने न कुनै खाडी छ

रातमा झर्छ पारिजात पनि सुगन्ध छरेर

हाँसेर बाँच्नु नियति हाम्रो सन्ताप हरेर।

 -             -               -             -

कहाँ छ याद कस्तो छ माया सम्झना मात्र हो

हिजोको राति आएको सपना त्यो मात्र साक्षी भो

भनेर आमा धारामा आँखा धोएर आएकी

कसरी थाम्ने गलेको देह झन् एक्लो भएकी।

  ५) गीत

उताबाट पठाएको मीठो याद आयो,

सम्झनाले सताउँदा आँखा झन् रसायो।

  -            -               -            -

के पो होला याद बढे भन्थी हिजोसम्म

आजै आँखा भराइछे आँसुले नै डम्म

सुक्खा हुन लागेको आँत भरिएर आयो

सुक्न लाग्या बिरुवाले मीठो जल पायो।

  -            -               -            -

तिम्रो सिन्दूर निधारमा चुरा हातभरि

सजाएर मर्न पाउँ भन्थी सधैंभरि

उसको याद पूरा गर्न हुटहुटी नै लायो

अघिसम्म हराएको ऊर्जा पनि आयो।

प्रकाशित: ३१ आश्विन २०७९ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App