११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

ऊ अर्थात् झिल्के

लघुकथा

दिलिप राई सगर

 १) भित्री कोट

बिहानदेखि आरती सुरु भयो दुर्गा मन्दिरमा। पुजारी बाले स्वस्ती वाचन गरे। थालीमा धुप, अक्षता, फूल, टीका लिएर आउनेजानेको भीड बढ्दै गयो।

दशैंको रमझम। परेवा तिथिदेखि शुभारम्भ भएको पूजामा दशैंसँगै जोडिएको कथा प्रसंग गरिंदैथ्यो रेडियो, टिभी, छापा जस्ता सञ्चारको माध्यमबाट। राम र रावणको कथा। दुर्गा र महिषासुरका युद्धकला वर्णन। दुर्गा पूजा समितिद्वारा आयोजित दशैं पूजा साँच्चै सभ्य, भव्य र शालीनपूर्ण चल्दैथ्यो।

साँझपख। बेलुकाको आरती गर्ने बेला भयो। कार्यक्रम सञ्चालन समितिको सञ्चालक नै कता गायब थिए।

एक सदस्य माइक्रोफोनबाट कराए,‘सूचना, सूचना, सूचना! यस मन्दिर परिसरमा साँझको पूजा गर्ने समय भएकाले कार्यक्रम सञ्चालक श्री हरिप्रसादज्यू, तपाईं जहाँ भए पनि चाँडोभन्दा चाँडो उपस्थित भइदिनु हुन अनुरोध छ।’

राति अबेरसम्म पूजामा भजन गायन गर्दै रुँग्नुपर्दा जाडोले सताउने हुँदा राईनी बोजुको पसलमा रक्सी पिउँदैथ्यो ऊ। माइकको सूचना सुनी उसले गोजीमा हात घुसार्दै फोन निकाल्यो र म्यासेज लेखी पठायो, ‘कृपया म आइहालें। जाडो छेक्ने भित्री कोट ओढ्दै छु एकछिन।’

२) ऊ अर्थात् झिल्के

लामो कपाल सपक्क पारी पछाडि रबरले बाँधेको झुप्पा। चिल्लो गाला अनुहार। चुस्स दाह्री चिउँडोमा। साढे पाँच फिट अग्लो हट्टाकट्टा शरीर भएको ऊ अर्थात् झिल्के।

उसँग मान्छे पट्याउने कला थियो। ऊ बोल्दा हरशब्द प्रवाहमा रसिला साहित्यको वर्षा बर्सिन्थे। झन् पल्सर बाइकमा हुइँकिन्दा धनाढ्य युवक हो ऊ। अझ मान्छे आवरणमा विश्वास गर्छन् न कि भित्री मनलाई। यसको सजीव नमुना हो। ऊ जोसँग कोही भेटे देखे मात्र प्रभावित हुन्छ।

यसको रहस्य भने थोरैलाई मात्र थाहा थियो। ऊ झिल्के बन्नुको मूल कडी एक लाहुरेनी थिई। उसले यो सानदार हाउभाउ सानमा उभ्याएको यो झिल्केलाई। रातको बडी गार्ड बनाएर। मसाज ड्युटीमा सामेल गरेर।

‘लौ हदै भैसक्यो, यो झिल्के र लाहुरेनीले कति दिन हाम्रो आँखामा छारो हाल्ने हुन्। हामीले कति दिन नदेखे जस्तै नाटक गर्नु! आज त त्यो नक्कलीलाई झिल्केले जिम्मा लिनैपर्छ, लानैपर्छ।’

‘होहो लानैपर्छ त्यसले। नत्र यसरी त हाम्रा छोरीचेली र बुहारी पनि बिग्रिन्छन्। कसरी मुख देखाएर हिंड्नु हामीले।’

गाउँले छरछिमेकी मिलेर थानामा झिल्केलाई त्यो अर्काकी स्वास्नी जिम्मा लगाए। चल्ला सहितको सुनकुख्री पाएर बल्ल झिल्केको सात झिल्का छुट्दैथ्यो।

 ३) बाराङ

संघाई बुलोह रेल स्टेसन। हामी चार भाइ रावणदेखि आउने रेल कुर्दैथ्यौ, केल जानु थियो चढेर।

सन्डेको दिन। टाउकामा बुर्का ओडेका मलेनी केटीहरू। सेता साँप्रा देखिने हाप्पेन्ट, भेस्ट र कट्टूमा चाइनिज केटाकेटी यत्रतत्र बसेका थिए।

रेल आयो। साइरन फुक्दै। अटीनअटी सबै भित्र पस्यौं। रेलमा केपुङ, सेगाम्बुट, पुत्र हुँदै पौने घन्टमा केल पुग्यौं। उत्रेर हिंड्दै गइयो कोताराया नेपाली बजार। नेपाली दालभात र मासु खायौं। आह कति मीठो, त्यसपछि मर्डेका पार्क घुम्न गयौं। सफा मौसम। फूलबारीमा फोटो खिच्यौं सबैले अनेक पोज दिंदै।

‘केटा हो ससुराली जाने हो?’ बाटामा फर्किन्दा बोल्यो भक्ते,  ‘च्यान्टेच्यान्टे बाराङ आडा’ (राम्रीराम्री माल छन्)। अर्को सुरियो जाऔं भन्दै। हाम्रो हूल बढ्यो चाइना टाउनतर्फ। पसियो भित्र। हकोठाको ढोका ढोकामा उभिएका थिए सुन्दरी षोडशीहरू। गुलाबी मुस्कान छर्दै। कोही पस्दैथे, कोही निस्कन्दैथे मान्छेहरू यही बेला बहिर रेला (पुलिस) आयो। डाम्मडुम्म मूलढोका थुनिए। हामी भाग रे भाग भयौं। डरले को कता पुग्यौं को कता। मचाहिं एउटीको रुममा लुकें। धन्न रेला भित्र पसेन। डरले चकमन्न छायो।

बाहिर भाग्ने जति सबैलाई पक्रेर ट्रकमा हालेर लगे रेलाले। म साथीहरू खोज्दै आएँ। वर दुई भाइ भेटियो। हाँस्दै हेराहेर गर्‍यौ। ‘हैट आज झन्डै कप्सले लगेन यार!’

‘को छुट्यौं हामी?’

‘ला सुवास दाइ ...खोई पक्रेर लग्यो क्यार! फोन लाउ त।’ मैले फोन थिचें। गयो रिङ।

बोल्यो सुवास, ‘ए मलाई त यता कता हो जंगलमा पुर्‍याको छ भाइ ..।’

त्यत्तिकैमा टुँटुँटुँ फोन काटियो।

हामी चिन्ता मान्दै भारी मन लिएर रुम फर्कियौं रेलमा। उसलाई छोड्छ कि छोड्दैन सोच्दै सुर्ताउँदै सुत्यौं।

मध्यरातमा ढोका बज्यो। बिजुलीको उज्यालोमा तल उदास मुहारमा देखिए सुवास दाइ।

मैले बोलाएँ, ‘आउनु दाइ, आज छोड्दैन भनेर कस्तो सुर्तामा थियौं हामी।’

उसलाई छोड्न त छोड्यो पुलिसले तर पर्स, पैसा र फोन लुटी नाङ्गेझार पारेर छाडेको थियो।

 ४) रक्सी–२

‘कमलेको बुढी त गयो!’ राई जेठा खेती पुग्न साथ राईनी बोजुले बतायो।  

‘काँ गयो आमा?’उसले कुरा नबुझी सोध्यो।

‘हन मर्यो नि बुथुरी ! अस्ति हाम्रोमा पराल माच राखेको दिन रक्सी खाएर भकुरेथ्यो कमलेले। सुतिरहन्थी हैन!’

‘ला मर्यो नै ...आमा! घाँटी जिब्रो सुन्निएको थियो बोल्नै सक्थिन्। भात त के पानी पनि निल्न सक्थिन ज्या! दुःखै लुकाएछ!’जेठाले दुःख व्याक्त गरे।

रक्सी खान पाए भात पानी नचाहिने। त्यो दिन त्यसै सुत्थे ती बुढाबुढी। मन्दिरको पेटीमा। अरू दुई जना थिए खोयाबिर्के। त्यो कुमाई गाउँमा काम गरेर जिउ पालेका। कताकताबाट बटुलिएर आइबसेका। गाउँभरि काम पाउँथे। प्राय: सबै धनवान् र अरपे परिवार काम गर्थेनन्। उनीहरू नै गाउँमा भ्याउँथे।

जेठा पसल निस्क्यो दिउँसो छोरीलाई कापी किन्न। भट्टराईनी भाउजू भन्दै थिइन्, ‘कमलेले बुढी कुटेरै मार्‍यो है भाइ! मैले पहिल्यै कति कराउँथें यसले कुटेर मार्छ भनेर। नभन्दै त्यस्तै गर्यो बजियाले।’

‘हो भाउजू, ससुराली नजिक भए त्यो जेल पुग्थ्यो तर पश्चिम कताबाट भुटानीसँग पछ्याएर आएकी रे। जेठा बुढा ठूलो मुलुक छ रे। ठूल्ठूला छोराछोरी छन् रेन्त।’

‘अन्त एकपल्ट लिन पनि आएको रे भाइ! यही रक्स्याहालाई पर्खेर बसी। दुवै रक्सी खाने। झगडा गर्ने। बुथुरीको मुखै छुरा। अति फोहोरी गाली बक्ने। कमले दोक्च्याउने। अब त मुक्ती पाइहोला।’

राति  नै मरेर बिहान पर खोलामा लगेर गाड्यो रे कुकुर सरह। ३५ सय जति उठ्यो। ५ सय कफन खर्च। बाँकी किरिया खर्च। छोराको घर गयो भन्थे कमले।

जेठा खेती आउँदा कमले र कुमार बाटोमा शहर जाँदै गरेको भेटेको थियो।

राईनी बोजुको परालको माच राख्न त्यसै थियो।

 ५) अंशबण्डा

चिटिक्क सानो घरको आँगन। झुरुप्प बटुलिएका छन् मान्छे। हेर्दा लाग्छ निकै महत्त्वपूर्ण छलफल हुंदैछ दुई पक्षमा। एक पक्षबाट कोही औंला ठडाउँदै साह्रो बोल्दैथे, ‘यो घर भत्काएर दाजुभाइ दुवैलाई बराबर बाँड्नुपर्छ अनि घर खेतबारी पनि आधाआधा...।’

‘घर भत्काउनु पर्दैन। यो घर त जसले बुढेसकालमा बाबुआमा पाल्छ उसैलाई हुन्छ। बरु यसको मूल्यांकन गरी आधा रकमले अर्को घर बनाउनु राम्रो।’

‘हुँदैन के हुँदैन!’

‘हुन्छ, किन हुन्न र?’

‘अँह हुन्न!’

चर्काचर्की बढ्दै गयो। निकै लामो।

के चित्त बुझेन, भाइचाहिं जुरुक्क उठेर गयो दाजुछेउ। जङ्गिए दाजु पनि पाखुरा सुर्कन्दै। भाइले  नजिकैको चिर्पट टिपी बजार्‍यो दाजुको टाउकोमा। दाजु रन्थनिन्दै ढल्यो। रगताम्मे भएका दाजुलाई छिमेकी र आफन्तले उठाई अस्पताल लान खोज्दै थिए। त्यत्तिकैमा प्राण उड्यो उसको।

रुवाबासी चल्यो घरपरिवारमा।

प्रहरी आए फोनको भरमा। घटनास्थल जाँचिए। निमेषभर रिसको आवेग थाम्न नसक्दा दाजुको अंशमा मृत्यु पर्‍यो भने भाइको अंशमा कारागार।

प्रकाशित: २१ आश्विन २०७९ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App