कृष्णश्री राई
आज गणतन्त्र दिवस।
माइला मुखियाको रेडियोले फलाक्यो, ‘देशभरि विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै।’
एऽऽनि भोर्लेनी गाउँ!
गणतन्त्रले यो गाउँ भएर आजसम्म बाटो हिंडेको छैन। सायद कहिल्यै हिंड्दैन होला। गाउँलेको हाल पचास वर्षअघिको जस्तै कति विरक्तलाग्दो! परिवर्तन नामको चरो भुरुरु उडेर त्यहाँ गुँड लाउन आएन। त्यहाँ समृद्धिका बचेरा कोरलिएनन्। आफ्ना कलिला प्वाँख फिंजाएर घामका न्याना किरणसँग रमाउँदै फर्फराएनन्। कोइरालोको टुप्पामा बसेर खुसीको भाका उराल्दै उरालेनन्।
गाउँको मुहार फेर्छौं भन्नेहरू चुनावमा मात्र भतेर लाउन देखापर्छन्। बहुसंख्यकलाई चरम गरिबीको पासोले छोड्दै छोडेन। कतिले त यसैको पिरमा आफूलाई रूखमा फलाए। नफल्नेलाई ढाड थङ्थिलो हुने गरी अभावले भकुर्नु भकुरिरहेको छ। आज पनि उनीहरूको पेट आधा छ। एकछाक मासुभात खान कि त दशैं, कि त चुनाव नै कुर्नुपर्ने स्थिति छ।
जौमतीले पनि आज उनै मुखियाको मकै दोहोर्न जाँदा खाजा खाँदै गणतन्त्र दिवस सुनी।
धिन्धिनाधिन..., धिन्धिनाधिन...
धिन्धिनाधिन..., धिन्धिनाधिन...
गणतन्त्र आयो नि भन्छन् हजुर
खै कहाँ आयो? बास बस्यो बरी लै...।
बालख भउतेले मादलको रन्कोमा आफ्नो खिरिलो कम्मर मर्काएर दुवै हात हावामा फ्याँक्यो अनि बाख्राको पाठाझैं फिनिक्कै घुम्यो। जौमतीले त्यही भाकालाई जोड्न अर्को गेडी थपी-
देशको विकास भयो लौ भन्छन् हजुर
खै कहाँ भयो? आस मर्यो बरिलै..।
सस्तो हुँदा पनि गाउँलेले डिजेल किनेर बाल्न सकेनन्। आजभोलि यसको भाउ चर्किएको छ। अनि त त्यो झुपडीमा कसरी ढिब्री बत्ती बल्नु? पहिले गाउँ नजिकै जंगल थियो। हुनेखानेले त्यतिका घना वनका रूख जथाभावी ढाले र उजाड बनाए। तिनलाई कानुन कहिल्यै लागेन। त्यहाँ साल र सल्लाका बडेमान रूखहरू थिए।
अहिले दुई-चार रूख र जमिनमा सुकेका प्रशस्त ठुटा छन्। सल्लाका त्यही ठुटाहरू फर्साले चोइट्याएर जौमती गोधूलिपछिको रात भगाउने दियालोको जोहो मिलाउँछे। दियालो नै यो गाउँका झुपडीहरूमा धिपधिपाउने साँझबत्ती हो। त्यही साँझबत्तीको धीमा उज्यालोमा भउते आफ्ना हातपाउ र अनुहारको बान्किलो हाउभाउ देखाउँदै फूर्तिसाथ फेरि फन्कियो बुद्रुक्क उफ्रिएर। जौमतीले आफ्नो लोग्नेको दुःखले जोडेको चाँपो काठको प्रिय बाजा घन्काइरही। भउते उसरी नै तालमा नाचिरह्यो।
केहीबेरमा भउते फतक्कै गल्यो। खु...इ......य... श्वास फ्याँक्दै धसिएर बीचमा भ्वाङै भ्वाङ परेको पुरानो सुकुलमा थचक्क बस्यो। जौमतीले गीतका गेडी अरू कथिन्। उसले सहसा मादलको लय फेरी। ऊ आफैंभित्र हराएर एकसुरले ‘धिनधिन...नाकधिन...’ बजाउन थाली झमक्क साँझको साँवलो रंगसँग घुलिएर। निःशब्द त्यो धुनको गहिराइमा ऊ मजाले डुबी। त्यसबेला उसको पोइ रत्ने बाइस्कोपको पर्दामा झैं सरर दृश्य बनेर आयो। नआवस् पनि कसरी!
रत्ने जौमतीको पोइ मात्र थिएन। ऊ त उसको सबथोक थियो। ऊ जौमतीलाई कति धेरै ख्याल गर्थ्यो। जीवनका अप्ठ्याराहरूमा जौमतीका आँखा रसाउँथे। ऊ दौराको फेरले आँसु पुछिदिन्थ्यो। कठिन दुःखमा पनि रूखको कापमा फुल्ने सुनाखरीको उदाहरण दिएर कति सजिलै मुस्कुराउन सिकाउँथ्यो। ऊ आफू खुसी भएको क्षणमा त झन् हृदय सागरदेखि एक अँगालो माया उबाएर जौमतीको देहभरि पोखिदिन्थ्यो। ऊ आफ्नी प्यारीका लागि रसिक बन्थ्यो। ऊ दुनियाँभरको घटना र किस्सा जोडेर जौमतीलाई खितिति हँसाउँथ्यो र आफू पनि जम्मै दाँत देखाएर पेट बाउँडिञ्जेल हाँस्थ्यो। जौमती उसको त्यो हाँसोलाई सम्हालेर पोल्टाभरि राख्थी र एकान्तमा खोल्थी निरस जिन्दगीबाट केही क्षण भए नि पर भाग्न।
जौमतीको आँखामा सपनाझैं लाग्ने अर्को यथार्थ दृश्य पनि आयो, जुन दृश्यमा रत्ने त्यै चाँपोको मादलसँग रमाइरहेको हुन्थ्यो। दुःखको खोलेफाँडो खाइसकेपछि प्रायः यस्तै साँझमा ऊ मादलमा चुड्के घन्काउँथ्यो र पिरतीका लयहरू उराल्थ्यो।
टुवा खोलाको काठे साँघु ठाउँठाउँ गाँसीगाँसी,
खाउँला सुर्ती लाउँला पिर्ती जिउँला हाँसीहाँसी।
सुनको सियो निरमको धागोले,
धेर भो माया जलाइदेऊ आगोले।
रत्ने जौमतीलाई पनि रोमाञ्चित पार्दै भाखाहरू उन्न लगाउँथ्यो। स्वर खाप्न लगाई नचाउँथ्यो र आफू पनि बडो रउसे भएर नाच्थ्यो।
‘आमाऽऽ..., ए आमाऽऽ...!’
भउतेले आमा जौमतीको त्यो निमग्न चाला देखेर दिक्क मान्दै बोलायो।
जौमती झसंग झस्किई। उसको तन्द्रा भङ्ग भयो। आफूलाई यसो विचार गरी, ऊ त गीत न गुथुरी ‘नाकधिना...धिनधिन...’ पो बजाइरहेकी रहिछ। मादल बज्न छाड्यो। ऊ भउते बसेको सुकुलमा सरी। भउतेलाई एउटा खोटोको चुरा थप्न लगाई। भउते चुरा थप्न गयो। जौमती आफूचाहिं दियालोको धिपधिपे दोछायाँमा नमजाले भक्कानिई। गह भरियो र आँसु छचल्कियो आँखाका डिलहरूबाट। यो स्वाभाविक थियो किनकि उसले दुःखभित्र पनि पोइ रत्नेसँग रमाएका विगत सम्झेकी थिई। ती फूलका तरेली क्षणले आज काँडा भएर कस्तो रोप्यो र पोल्यो उसलाई। ऊ भूतसँग बल्झदै नमजाले आँसु बनेर बगी।
भउते अगेनुछेउ उभिरहेको थियो। उसले फेरि दियालोको एक टुक्रा थप्यो र आफू उभिएकै ठाउँमा बस्यो। जौमतीले आफ्नो अर्धानु फरियाको एकछेउले सुटुक्क आँसु पुछी र आँखा ओबानू बनाई। अगेनुको दियालो अलिक चहक बल्न थाल्यो। त्यही चहक दियालोको शिखामा उसले अगेनु नजिकै बसेको छोरा भउतेलाई नियाली र काटीकुटी उसकै पोइ रत्नेको ढप र बान्की भएको पाई।
उसले याद गरी, भउते जति वर्षको भयो त्यति नै वर्ष भयो उसको पोइलाई त्यस्तै झमक्क साँझमा एकाएक केही बन्दुकधारी मानिसको अपरिचित समूह आएर लछारपछार गर्दै त्यही झुपडीबाट लगेको। भउते गर्भैमा थियो। रत्नेलाई लगेको चार महिनापछि त जन्मेको हो ऊ। जौमतीलाई नै दैव लाग्यो। नसोचेको दशा खेप्नुपर्यो। आफ्नै आँखा अगाडिबाट दिलको प्रिय मान्छेलाई आफूबाट छुटाई अकारण नै बेपत्ता बनाएको त्यो दिनलाई ऊ अमिलो मनले स्मृतिमा ल्याउँछे। त्यो अकल्पनीय अनिष्टले ङ्याकेको साँझमा पनि रत्ने मादल र गीतको तालमा झुमिरहेको थियो। जौमतीले ताली बजाएर साथ दिइरहेकी थिई।
त्यो पल सम्झँदा जौमतीलाई सपनाझैं लाग्छ। झूटो हो कि जस्तो लाग्छ। त्यो बेला जौमती बक्क लाटी जस्ती बनेकी थिई। उसलाई ऐठन परेजस्तो भएको थियो। ऊ न बोल्न सकेकी थिई न रुन, न त चिच्याउन नै गला खुलेको थियो। ऊ होस हराएझैं भएकी थिई। मूर्तिवत् ट्वाल्ल घटनालाई हेरी मात्र रहेकी थिई तर उसले ती अस्त्रधारीमध्ये एकले कठोर भाषामा बोलेको आवाजलाई भने हेक्का राख्न भ्याएकी थिई-‘एइऽऽ..., ल खुरुक्क हिँड। अहिले नाच्ने, गाउने, स्वास्नीसँग हँस्सीमजाक गर्दै मस्तीमा बस्ने समय हैन। राज्यको समूल रूपान्तरण र गरिब जनताका लागि लड्ने समय हो यो। धमिरा लागेको व्यवस्थालाई जरैदेखि फाली संघीय गणतन्त्र स्थापनाका लागि विद्रोहको आवाज बुलन्द गर्ने बेला हो यो। नयाँ नेपाल निर्माणका लागि संघर्षको मैदानमा उत्रने घडी हो यो,सुनिस् ऽऽ...!’
‘आमाऽऽ..., बोला न! किन चुप लागेको? अघिको भाखा हाल न हौ! म मादल बजाउँछु क्या!’
जौमती सम्झनाको विरक्तिलो अनकन्टार ओडारबाट निसासिंदै सुस्तरी बाहिर निस्किई। भउते मादल भएतिर हातपाउ टेकेर आयो। उसले आमासामुन्नेको मादल छुन खोज्यो। त्यही बेला जौमतीले उसको हात समाती र तानेर आफू नजिकै सुकुलमा बसाई।
‘मादल नबजाऊ ल! अब तिमी ताली बजाऊ। म चै भाखा हाल्छु, ल छोरा!’
भउते आफ्ना मसिना औंला भएका हात मिलाउँदै थपडी मार्न थाल्यो। जौमतीले फेरि अघिकै भाका सुरु गरी-
गणतन्त्र आयो नि भन्छन् हजुर,
खै कहाँ आयो? बास बस्यो बरिलै...।
देशको विकास भयो लौ भन्छन् हजुर,
खै कहाँ भयो? आस मर्यो बरि लै...।
‘आमा..., यो गणतन्त्र भनेको को हो?’
बीचमै भउतेले जौमतीसँग सोध्यो। उसले गणतन्त्रबारे जान्न खोज्यो।
‘खोssइ..., था’ छैन बा तर जनताका लागि आ’को रे! हाम्रै भलो गर्न आ’को रे भन्छन्!’
‘अहिले कहाँ छ त्यो गणतन्त्र आमा?’
‘शहराँ आइरा’छ भन्छन्।’
‘यता गाउँतिर कहिले आउँछ आमा?’
जौमती निरुत्तर बनी,‘...।’
‘गणतन्त्रसँगै हाम्रा रत्नलाल बा पनि घर आउँदै होलान्, हैन त आमा?’
भउतेको बालमस्तिष्कले गणतन्त्रलाई आफ्नै पारामा बुझ्यो। अर्कातिर उसले आफू जन्मेर यतिञ्जेलसम्म नदेखेको बाबु रत्नलालको खोजी गर्यो। ऊ घर फर्केर आउने आशा गर्यो तर यो कुराले जौमतीचाहिं अझ मर्माहत भई। ऊ अरू केही बोल्न सकिनँ। कारण आफ्नो निर्दोष पोइलाई जस्तै शस्त्रधारी मानिसका हुलले त्यो बेला जबर्जस्ती लगिएका अन्य कैंयौं रत्ने, धुर्बे, हर्के, कर्ने, जयसरा र चम्पी कहिल्यै घर फर्किएर नआएको वास्तविकतालाई उसको भग्न हृदयले महसुस गरेको थियो।
रात छिप्पिदै थियो। आमाछोरा दुवै मौन थिए। घुरेन बारीमा अघौटे मकैका बोटहरू हल्लिएको आवाज आयो-सर्लङ्ग स...र...र...सर्र। हुण्डरी चलेछ-जौमतीले था’ पाई। हावाको झोक्का झुपडीभित्र सोहोरियो। दियालोको उज्यालो भतुक्कै भयो। जौमतीले जस्केलोको आग्लो लगाई। फेरि जोडले हावा कराउन थाल्यो बाहिर-हुइँहुइँ...हुइँ...ह्वाँह्वाँ...। कति ठूलो हुरी एकैछिनमा।
झन्डै उनीहरूको झुपडी नै उडाइदियो। जौमतीको मुटु चिसो भयो। अगेनुमा थोरै राता कोइला थिए। उसले भउतेतिर हेरी। उसलाई भउतेको माया असाध्य बढेर आयो र ‘छोराऽऽ...’ भन्दै गम्ल्याङ्ग अँगाली। त्यति नै बेला झुपडीभित्र रातको कालो पर्दा छिचोल्दै ‘झिलिकझिलिक्क’ बिजुली चम्क्यो। फेरि केहीबेरमै भयंकर आवाजसहित कतै नजिकै चट्याङ पर्यो-गडम्मऽऽ... गु...डु...डु...।
अहो! धर्ती नै कम्पायमान भयो। आमाऽऽ..., भउते कम्ता अतालिएन! ऊ थरर्र काँप्दै जौमतीको छातीमा लिपिक्कै जमेर टाँसियो अनि रुन थाल्यो-उँ...उँ...उँ...। जौमतीको पनि मुटु ठीक ठाउँमा रहेन। सातो नै गयो। अत्यासमा दुवै जना त्यही जीर्ण सुकुलमा गुडुल्की परे।
केहीबेर रातको वातावरण चकमन्न भयो। जौमतीले लामो श्वास तानी र तुरुन्तै फ्याँकी। भउतेलाई एक हातले थप्थपाउँदै अर्को हातले रत्नेको प्रिय बाजालाई अँध्यारोमा यताउता छामी। त्यहीं नजिकै रहेछ-आफूतिर तानी। भउते झकाउन थाल्यो। फेरि, मकैका पातहरू अर्कै आवाजमा बज्न थाले- परर्र...परर्र...।
जौमतीले अड्कल काटी-पानी परेछ। छाना पनि बज्न थाल्यो-स्वार्र... स्वार्र...। उसले थाहा पाई-पानी बढेछ। छानो मक्किसकेको थियो-चुहियो। पानी एक थोपो बाहिर गएन। निद्राले भउते आलसतालस भयो। जौमतीले हत्त न पत्त उसलाई उचाल्दै ओछ्याएको सुकुल र प्यारो मादललाई एउटा कुनामा तानी। त्यो कुना अलि ओबानु रहेछ। त्यहाँ पानी पनि चुहिएन। ऊ सुकुलको एकाछेउमा बसी र अगेनुतिर हेरी। भक्खर अघिको सानो फिलिङ्गो उसले अहिले देखिन।
लख काटी-अगेनु पानीले भरिएछ। छानाबाट अगेनुमा पानी चुहिएको आवाज पनि आयो त...र....र....र...। जौमती भित्तामा मादलसँगै कुच्रुक्क परेर सानी हुँदै अढेसा लागी। भउते उसको एकछेउ फरिया तानेर निद्रा फकाउँदै गुटमुटियो। जौमतीले आफ्ना मातृवात्सल्य हात भउतेको सानो पिंठूयुमाथि राखी र सुम्सुम्याई। भउते आमाको स्नेहले होला केही क्षणमा फुसुक्कै निदाइ पनि हाल्यो।
पानी झिमिक्कै रोकिएन। रातभरि परि नै रह्यो-झमझम। खहरेहरू बढेछन्। ती उर्लिएका कर्कश आवाज त्यो गाढा रातलाई चिर्दै एकोहोरो आइरह्यो- डङ्...डङ्...डङ्...। त्यो रात अरू बेला जस्तो हाप्सिलो, हुच्चिल र लाटोकोसेरो मनै कुँडिने गरी पालैपालो कराएको आवाज कतै पनि सुनिएन। जौमतीले कल्पना गरी-माथि चुलीभीर विशाल चट्टानले अडिएको छ। त्यसको त्यति डर हुँदैन तर बीचको रात्माटे पहिरोले पो के गर्ने हो!
यस्तै सन्त्रासमा जौमतीले सधैं शिरमै गुथिरहने उही धस्किएको मजेत्रोसँग त्यो ओसिलो रातलाई गुजारी-अनिदो आँखाले छर्लङ्गै पारी। सदाझैं बिहानी पनि आयो जेठ १६ गते भएर तर बिदो भएन पानी-त्यो परिरह्यो/परिरह्यो।
प्रकाशित: २० आश्विन २०७९ ०८:०७ बिहीबार