coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

किन होला भमराले पनि मान्छे चिल्छन् मेरो घरमा?

मुक्तक

नानुमैया दाहाल

१) मुक्तक

दुईचार वटा खुसी मर्दैमा आशौच नबार्नु नै बेस होला,

पीडा धुन सक्दैन आँसुले बित्थामा नझार्नु नै बेस होला।

संघर्ष हो जीवन यो त हिलोमा या काँडाबीच मात्र फुल्छ,

ठेस लाग्दैमा कहिलेकाहीं हिम्मत नहार्नु नै बेस होला।

 २) मुक्तक

भान्सा मिले बिरालो र मुसो पनि मिल्छन् मेरो घरमा,

किन होला भमराले पनि मान्छे चिल्छन् मेरो घरमा?

उज्यालो खोज्दै हिंडेका पुतली त निल्थे माउसुलीले,

हिजोआज त क्वाप्प क्वाप्प रश्मि नै निल्छन् मेरो घरमा।

  ३) मुक्तक

जिते पनि सम्झौतामा हारिएछ हारको कथा नकेरिने भो,

आगो फुलाउने कुरै छाडौं गुइठा सल्किएकै नहेरिने भो।

कर्तुतका खातहरू देखेर लाज पनि लजाएको देखियो,

घडी पनि उल्टो घुम्न थालेछ हाम्रो पालामा युग नफेरिने भो।

 ४) मुक्तक

बिहानी लालीको स्पर्शमा औधी खुल्दोरहेछ अजम्बरी फूल,

पीडा दिंदा शीतले रातमा नडगी झुल्दोरहेछ अजम्बरी फूल।

भेटिन्न नखोज शहरका गमला, छत र सडकपेटीहरूमा,

गाउँबेंसीका बगानहरूमा मात्र फुल्दोरहेछ अजम्बरी फूल।

 ५) मुक्तक

उमेरमै पति बिते,अभावको खात लाग्यो,

बुतो गर्दा अरूभन्दा आधा अन्न हात लाग्यो।

मुखिया बाको भैंसी मर्दा अनाहकमा उनैलाई,

थलिएर सुतेकी थिइन् बेडमै बोक्सी बात लाग्यो।

प्रकाशित: ९ आश्विन २०७९ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App