११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

विवशता

लघुकथा

शान्ता भण्डारी (थपलिया)

मनमाया ११ वर्षीय छोरा अमृतसित एउटा कोठामा बस्छिन्। गत वर्ष अचानक श्रीमानको मृत्यु भएपछि अमृतलाई पढाउने र सबै घरव्यवहार धान्ने जिम्मा मनमायाको काँधमा आएको छ। उनले ठेलागाडाको पसल गरेर आफ्नो छाक टार्दै आइरहेकी छिन्।

आज अमृतको पनि स्कूल बिदा छ। त्यसैले दाउरा यताउता मिलाउने र मकै खाने ग्राहकलाई मकै कागजमा र खोसेल्टामा नुनखुर्सानी दिन सहयोग गरिरहेको छ।

आमालाई सहयोग गर्न पाएर फुरुङ छ अमृत पनि। मनमायाले पोलेको मकै र टिमुरको स्वादमा पिसिएको नुन खुब मिठो मानेर खान्छन् ग्राहकहरू पनि।

बेलुकीपख पल्ला घरका घरबेटी नन्दलाल गेटबाहिर आएर कुकुरलाई गाढाको नजिकै शौच गराउँदै हकारे, ‘ए मनमाया, तिमीले यो के गरेको हँ? सबै धुवाँ मेरो घरतिर गएर कालो भयो। यता बाहिर पनि मकैको खोसेल्टा र खरानीले फोहोर भयो। भोलिदेखि तिमीले यहाँ मकै पोल्न पाउँदिनौं।’

उनको गर्जाइले सातोपुग्लो उड्यो उनको।

जवाफ त उनीसँग प्रशस्तै थियो तर धनी मानिसँग मुख लाग्नु भनेको आफैंले दुख पाउनु हो भन्ने सोचेर उनी चुपचाप बसिन्।

छोराचाहिं मुरमुरिंदै थियो, ‘कुकुरले शौच गर्दा फोहोर नहुने तर हामीले सानो व्यवसाय गर्दाचाहिं फोहोर हुने?’  

प्रकाशित: २४ भाद्र २०७९ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App