११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

नवराज शर्माका पाँच लघुकथा

लघुकथा

नवराज शर्मा

१) सुगन्ध

एउटा चिटिक्क परेको घर। घरवरिपरि ढकमक्क फुलेका थरीथरीका फूल। त्यसमध्ये गुलाफको बोटमा लहरै तीनवटा गुलाफ, फरक वयका। किशोर, युवा र प्रौढ। मानौं, कुनै सौन्दर्य प्रतियोगिताका प्रतियोगी हुन्।

घामको झुल्कासँगै घरबाट एक जोडी झुल्किए। युवकले भर्खर फक्रिन लागेको किशोर फूललाई मायालु हातले टिपेर मायालु आँखाले हेर्दै युवतीलाई दियो। मुसुक्क हाँस्दै युवतीले फूल कपालमा सिउरी।

युवतीको केशमा सजिएपछि किशोर फूल दङ्ग पर्‍यो। उसले युवतीको सामीप्यमा नै भाग्य उदय भएको ठान्यो। त्यो देखेर युवा फूलको अनुहार खुसीले धपक्क बलेको थियो भने प्रौढ फूलको आँखा पीडाले रसाइरहेका थिए। ऊ उसको असामयिक अंत्यको कल्पनाले दुखी भइरहेको थियो।

साँझपख एउटी बुज्रुक महिला घरबाहिर आइन्। पालैसँग दुवै फूल हेरिन्। युवा फूललाई टिपिन्, डालीमा राखिन् अनि पुजाकोठातिर लागिन्। युवा फूल आफ्नो भाग्य सम्झेर मक्ख थियो, जीवन धन्य हुने भो प्रभुको चरणमा समर्पित भएर। सायद उसले समर्पणमा नै सौभाग्य देख्यो। प्रौढ फूलको आँखामा न पीडा देखिन्थ्यो न हर्ष नै। भाइ फूलले सोचे जस्तो उसको भाग्यप्रति न ईर्ष्या थियो न आनन्द नै।

एक्कासि सर्र हावा चल्यो। आघात सहन नसकेर प्रौढ फूलका पत्रहरू एकएक गरी तरङ्गित हुँदै झरे। झर्नुअघि मातृभूमिको न्यानो सान्निध्य, आमाको मायालु काखको स्पर्श सम्झेर ऊ मुसुक्क हाँस्यो। आफ्नो जीवनप्रति गर्वित भयो। त्यसैमा उसले जीवनको सार देख्यो। लामो सास फेर्‍यो मानौं आफ्नो माटोको सुगन्ध सुँघिरहेको होस्।

 २) संविधान

उनीहरूले सपनाको रमणीय भूमिमा समृद्धि र सुखको बिउ आफ्नो र आफन्तका रगत-पसिनाले मलजल गरी रोपे। छिटै त्यो दिव्य बिउ उम्रेर ठुलो रूखको रूप लिनेछ जसमा विकास र प्रगतिको मिठो फल फल्नेछ भन्ने कुरामा उनीहरू आश्वस्त थिए।

केही समयपछि बिउ टुसायो। उनीहरुले सधैं त्यो उर्वरभूमिलाई अझै उर्वर बनाउँछु भनी अहोरात्र खट्ने धानचरीलाई त्यो टुसाको स्याहार गर्ने जिम्मा दिए।

केही कालपछि उनीहरू त्यहाँ आउँदा उनीहरूले ‘संविधान’ भनी न्वारन गरेको त्यो टुसाएको बिउ अर्थात् संविधानको ‘सम्’ धुजाधुजा भएको र ‘वि’ अर्थात् विवेक टुक्राटुक्रा भएको पाए। अनि बाँकी रहेको ‘धान’ धानचरीले आफ्नो अधिकार ठानी स्याहार गर्नुको साटो सोहोरेको पाए। उल्टै धानचरी यो बिउ कमसल भयो, सफल भएन अर्को उन्नत जातको बिउबाट ‘संविधान’ उमार्नुपर्‍यो भनी कराइरहेका थिए।

उनीहरु पुर्पुरामा हात लाएर बसे। केहीबेर झोक्किए; झोक्रिए। अनि पुनः अर्को सम्-वि-धानको खेतीमा जुट्ने र उही धानचरीलाई सो बिरुवाको जिम्मा लाउने योजना बनाउन लागे।

३) पुरुषार्थ

अवन्तिकाले छोराको बिहे धुमधामले गरिन्। एक वर्षपछि नातिको मुख देखिन्। छोरा जन्मेपछि एकदिन अनुरागले भन्यो, ‘आमा, हाम्रो हजुरबाले छ ओटा बिहे गर्नु भा होइन? निकै पौरखी रहेछन् बुढा।’

ऊ मुसुक्क हाँस्यो।

अवन्तिकाले छेड हानिन्,‘हो नि, ससुरा बुढाले धेरै स्वास्नी स्याहारे, सम्पत्ति सम्हाल्न सकेनन्, पुरुषार्थी नै भन्नुपर्‍यो।’

दोस्रो वर्ष बितेपछि अवन्तिकाले दोस्रो नातिको मुख देखिन्। अनुरागले फेरि भन्यो, ‘हाम्रा बाले चार ओटा बिहे गर्नुभो होइन आमा? निकै पुरुषार्थी हुनुहुँदो रै छ बा!’

ऊ फेरि मुसुक्क हाँस्यो।

अवन्तिकाले व्यंग्य गरिन्, ‘हो, बुढाले स्वास्नी मात्रै जोरे धन जोर्न सकेनन्। पुरुषार्थी नै भन्नुपर्‍यो।’

तेस्रो वर्ष बित्दानबित्दै मञ्जरी दोजिया भइन्। एकदिन अवन्तिकाले भनिन्,‘बाबु, कहिलेसम्म स्वास्नीको कमाइ खान्छस्? काम पनि गर्दैनस्। दिनभरि बेपत्ता हुँदाहुँँदा राति पनि बेपत्ता। तेरो चाला निको देख्दिन म त।’

ऊ केही नबोली हिंड्या। एक सातापछि घर आयो। दैलाबाटै करायो, ‘आमा!’

केके न भएको ठानी अवन्तिका र मञ्जरी दगुर्दै बाहिर आए।

अनुरागले आमातिर हेर्दै मुसुक्क हाँसेर भन्यो, ‘आमा, यी हजुरकी कान्छी बुहारी।’

‘पुख्र्यौली बिंडो त राम्रैसँग थामिछस् बाबु! यही हो तँ बेकम्माको पुरुषार्थ होइन?’

‘मर्द भनेको मर्द नै हो आमा। वंशानुगत गुण त आइहाल्छ नि!’ ऊ निर्लज्जतासाथ हाँस्दै भित्रन खोज्यो।

‘छोरी!’ अवन्तिकाले मञ्जरीको मुख हेरिन्। अनि पाँचै जनाले दृश्य र अदृश्य रूपमा दैलो छेके।

‘अच्छ्युँ खाएँ,बच्छ्युँ खाएँ,झुसे बारुलो! खिसी गरेको भावमा अनुरागले उनीहरूलाई हेर्‍यो।

मञ्जरीले अनुरागको अनुहारतिर हेर्दै भनिन्, ‘यो घरमा पराई पुरुषको प्रवेश वर्जित छ।’

आश्चर्य र प्रश्नको भावमा  अनुरागले अवन्तिकालाई हेर्‍यो।

‘अवन्तिका च्याँठिइन्, ‘तेरो बिहे खर्च, तेरा फुर्माइस, तेरा ऋण सबै मञ्जरीका माइतले बेहोरे। मेरै सल्लाहमा घर मञ्जरीको नाममा गरेको बिर्सिस्?’

ऊ ट्वाल्ल परेर आमाको मुख हेर्दै थियो।

मञ्जरीले भनिन्, ‘अब बहुविवाहमा थुनामा बस्न तयार रहनु।’

अवन्तिकाले थपिन्, ‘देखिस् त पुरुषार्थ?’

 ४) तिलस्मी बिरुवा

उसले एउटा नयाँ बिरुवा ल्यायो। प्रेमले सार्‍यो। मलजल गयो। जतन गर्‍यो। बिरुवा हलक्कै बढ्यो। ऊ दङ्ग पर्‍यो। सोच्यो, ‘अब केही हुन्छ।’

एकदुई गरी धेरै वर्ष बिते। बिरुवामा न फल लाग्यो न फूल फुल्यो। दुर्गन्ध मात्र फैलियो। रिसले बिरुवा उखेलेर फाल्यो। अर्को बिरुवा सार्‍यो। मलजल गर्‍यो। जतन गर्‍यो। बिरुवा हलक्क बढ्यो। पुनः आशान्वित भयो, ‘अब त केही हुन्छ।’ तर परिणाम उही न फल्ने न फुल्ने। हलक्क बढ्ने, दुर्गन्ध फैलाउने।

‘ए बाबा ,के भएको हो?’ ऊ अचम्म पर्‍यो। सार्‍यो, जतन गर्‍यो। अर्को रोज्यो, रोप्यो। भसक्क उम्रिन्छ। फल्ने कहिल्यै होइन। जतन नगरे मरिच जस्तो चाउरिन्छ तर मर्ने होइन। जतन गर्‍यो संसार ढाक्छ, फल लाग्ने होइन। के उल्का भएको यो! ऊ विज्ञ कहाँ गयो। बेलीबिस्तार लायो। विज्ञले सुन्यो। गुन्यो। अनुसन्धान गर्‍यो अनि केही प्रश्न गर्‍यो।

‘पहिले कुन जातको बिरुवा लाउनु भएको थियो?’

‘प्रजातन्त्र।’

‘दोस्रो पटक?’

‘लोकतन्त्र।’

‘अनि अहिले?’

‘गणतन्त्र।’

विज्ञ मस्तले हाँस्यो, ‘यी कुनै ‘तन्त्र’ का बिरुवा होइनन्, भ्रम उत्पन्न गर्ने तिलस्मी बिरुवा हुन्। नेता जातका।’

लामो सास फेरेर, ‘तिलस्मी नेता, तिलस्मी बिरुवा। जति फेरे पनि ड्याङ उही, जात उही, परिणाम उही। नाम फरक स्वभाव उही।’

बिरुवातिर देखाएर,‘यसले गीत पनि गाउँछ, होइन?’

‘हो महाशय।’

‘के भनेर गीत गाउँछ?’

‘मिलीजुली खाउँ, मिलीजुली खाउँ।’

‘अनि नेताले पनि नबुझिने गरी गीत गाउँछन्। थाह छ?’

‘था’छ।’

‘के भनेर गाउँछन्?’

‘बाँडीचुँडी खाउँ। बाँडीचुँडी खाउँ।’

‘अनि सबै थाह भएर पनि त्यही बिरुवा रोजे, रोपे परिणाम सोचे जस्तो हुन्छ त?’ विज्ञ फिस्स हाँस्छ।  

‘त्यो त हो महाशय।’ ऊ खिस्रिक्क पर्छ।

 (५) राहत

ऊ पहिले हुनेखाने थियो। खेतीपाती राम्रै थियो। आङ छोप्न एकसरो र पेट भर्न दुई छाक पुग्ने थियो। एक फेरा आएको बाढीले छानो र मानो दुवै लग्यो। नानाको कुरै भएन। एक रातमै ऊ हुनेखानेबाट हुँदा खाने भयो। बाढी पीडितलाई राहत बाँडिदा भनसुन गरिदिने कोही भएन। उसको पीडामा मनसुनको शीतलता पनि भएन।

बाढीपीडितको जमात वन फाँड्न ओइरिए। नकली बाढी पीडितले समेत पछि लालपुर्जा पाउने गरी टोकन पाए। कित्ता नमिलेको उसले आश्वासन पनि पाएन।

काकताली परेर हो कि बल्लबल्ल एउटा कारखानामा श्रमिकको काम पायो। केही वर्षपछि भाग्यले ठगेर होला ‘बजारीकरण’ र ‘निजीकरण’ को चटकमा कारखाना बन्द भयो, काम पनि चट भयो। धेरैले धेर-थोर उपदान पाए। ऊ र ऊ जस्ताले केही पाएनन्। कारण ऊ दस वर्षदेखि ज्यालादारी श्रमिक जो थियो।

तर, अहिले कुरै अर्को छ। ऊ दंग छ। दैवी प्रकोप र बजारीकरणको चोट केही नभएको बेलामा पनि ठुलै राहत पाएको छ। सरकारबाट रोजगारीको साटो विदेशमा काम गर्न जाने मौका, स्वीकृति र राहदानी जो पाएको छ।

प्रकाशित: २२ भाद्र २०७९ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App