रेणु अधिकारी मौनता
१) दान
कुसे औंसीको दिन बुबाको श्राद्ध गर्न सरोजले अघिल्लो दिन बेलुका बाहुन बजेलाई फोन लगाए, ‘गुरु,बेलैमा आउनुस् है। मैले तपाईले भनेजस्तै सबै सरसामान जुटाइसकें।’
‘छाता, जुत्ता, बुबालाई मनपर्ने इष्टकोट, सकली ढाकाको टोपी, किताब पढ्दा लगाउने चस्मा, खानामा मन पर्ने मिठा पान, पेडा, सबै तयार पारिसके। म बुबाले मन पराउने सबै सामान हजुरलाई दिएर आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु गुरु। उहाँको लागि आरामदायी खाट,डसना अरू केके चाहिन्छ भन्नुस्! नपुगेको भोलि बिहानै किनौला।
माधवप्रसाद बाजेले भन्नुभयो, ‘बाबु, बुबालाई केके मनपर्थ्यो, अब बाँकी कुरा आमालाई सोधौं र किनौला।’
भोलिपल्ट बिहानै माधवप्रसाद बाजे र सरोज भाडामा बसेको आमाको कोठामा पसे। अँध्यारो सानो कोठाबाट नमिठो गन्ध आइरहेको थियो। बुढी आमा मैलो भुई ओछयानमा बसेर एकनास खोकिरहेकी थिइन्।
बाजेले दुई हात जोडेर भने, ‘आमा नमस्कार,आरामै हुनुहुन्छ?’
आमाले पुरानो मुढातिर इसारा गर्दै भन्नुभया ‘के हुन्थ्यो र बाजे म बुढीलाई। बाँचिरहेकै छु। बस्नुस् न बाजे।’
सरोजले आमाको खुट्टामा ढोगे। आमा कमै सुन्ने भएको हुँदा उनले निकै ठूलो स्वरमा सोधे, ‘आमा,म बुबाको श्राद्ध गर्न गोकर्ण जान लागेको, बुबालाई मनपर्ने सबै खानेकुरा र सरसमान बाजेलाई दिनुपर्यो भनेर बुबालाई मनपर्ने कुरा केही बाँकी छन् कि भनेर तपाईलाई सोध्न आएको हामी।’
आमाको खोक्ने क्रम जारी नै थियो।
खोक्दा-खोक्दै सास फेर्न नसकेर अतासिंदै आमाले भन्नुभयो, ‘बाबु, तेरो बुबा बिरामी हुँदा विराज मेडिकलबाट लिएको औषधिको पैसा बुबाको वृद्धाभत्ताको पैसाले तिरिदिनु भन्नुभएको थियो मर्नेबेलामा!’
२) म
खोई के सोचिरहेछ मनले यो क्षण? कस्तो अनौठो अनुभूति? के म साँच्चैको मर्छु र? म मरेपछि मेरा लागि सिर्जित यी सम्पूर्ण जलथल (आकाश र धर्ती) विश्व ब्रमाण्ड यो प्राणी जगत कसका लागि सञ्चालित भैरहन्छन त? मभन्दा ठुलो अर्को कोही छ र यो धर्तीमा? छैन पक्कै छैन।
यो संसारमा म छैन त केही छैन। म छु र पो सबै छ। सुन्दर छ विशाल छ। म कसरी छाडेर जान सक्छु र? यी मेरा सम्पूर्ण प्यारो संसार र प्रियजनलाई। हुन त म नासिए पनि म जस्ता अरू सम्पूर्ण ‘म’ हरूका लागि न्यानो काख त मिठो माया बोकेर बाँचिरहनेछ यो सुन्दर संसार। हामी सम्पूर्ण ‘म’ प्यारो (आत्मा) को प्यारो ‘म’ (परम आत्मा) ले अथाह प्रेम बर्साइरहनेछ।
यो पल म मर्छु भन्ने आभाष लिएर चलेको मेरो ढुकढुकी आफैंले महसुस गर्दै छु। कुनै पनि क्षण यो ढुकढुकी बन्द हुनेछ। सधैंका लागि म भित्रको ‘म’ले विश्राम लिनेछ।
सायद आकाशको चम्किलो तारा बनेर तर कहिले? एक महिनामा, दुई महिनामा, छ महिनामा कि वर्ष दिनसम्ममा? कसैले नबताएको मिति डाक्टरसँग सुटुक्क सोध्न मन लाग्यो।
म परिवारको आँखा छलेर डाक्टरको कोठामा पस्न खोज्दै थिएँ। शरीर तातेर उकुसमुकुस भएको रहेछ। आफूलाई थिचेको सिरक मिल्काइदिएँ। सबै शरीर निथ्रुक्क भिजेछ। मेरो अर्धचेतन मन जागा भएछ।
जुरुक्क उठेर आँखा खोलें। म अचम्ममा परें, ‘अहो कस्तो सपना।’
३) मूल्यांकन
गोपाल सर अफिसबाट सरुवा भएर वीरगञ्ज आएका वर्ष दिन भैसकेको थियो। वैशाखको गर्मीले पेटी,गन्जी र लुंगी लगाएर काँधमा कपडाको पातलो रुमाल भिरेर होटलको साहुजीसँग भोजपुरीमै कुरा गर्दै रोटी र तरकारी खाँदै थिए। काठमाडौंका बासिन्दा भए पनि कालो रोगनका गोपाल सर वीरगञ्जकै बासिन्दा जस्तै देखिन्थे।
त्यही बेला त्यही होटलमा एक जोडी खाना खान आइपुगे।
श्रीमानले भने, ‘नानु, तिमी के खान्छ्यौ?’
‘खोई के खानु यस्तो गर्मी छ। भोक पनि लागेको छ तर खाना रुच्ला जस्तो पनि छैन। हेर्नुस् न त्यो मदिस्याले कत्ति मजाले रोटीतरकारी खाँदै छ। रुमालले पसीना पुछ्दै कसैको मुख नहेरी कत्ति धेरै रोटी खाएको बाइ हाम्रो अगाडि दस ओटा रोटी खाइसक्यो होला। कत्ति खान सकेको आबुई।’ श्रीमतीले खासखुस गर्दै भनी।
त्यस्तै हो यहाँका मानिस काम धेरै गर्छन् र धेरै खान्छन् पनि। हेर न दिनभरि खेत जोतेर आएको जस्तो छ। खुब भोकाएको जस्तो छ बिचरो। रोटी मिठै होला जस्तो छ। रोटी नै मगाउने हो कि भनेको पकाएको सबै रोटी यै मदिसेले पो खाएर सिध्याउला जस्तो छ त।
गोपाल सर उनीहरूको नेवारी कुराकानी सुनिरहेका र बुझि पनि रहेका थिए। किनकि उनी आफै नेवार थिए। ती जोडीले पनि रोटी र तरकारी नै मगाए। गोपाल सर खाइसकेर हातमुख धोई फेरि सोही ठाउँमा आएर बस्दै ती जोडीलाई नेवारी भाषामा सोधे, ‘छिकपी काठमाडौ (ये) न झायादियागु खः तपाईहरू काठमाडौबाट आउनुभएको हो?)
४) दुबो
‘मम्मी हाम्रो घरको ढोकामा दुबो किन सिउरेको?’ सिसाकलमको टुप्पो कुटुक्क टोक्दै सोध्यो सबिनले।
सुधा भुतभुताउन थाली, ‘कत्ति टोकेको त्यो कलमको टुप्पो? यो फुच्चेले मलाई कत्ति दुख दिन जानेको है? पढाइमा ध्यान छैन अनि अनेक प्रश्न गरेर बस्छ। खुरुक्क होमओर्क गरेर बस।’
‘नाई मम्मी, पहिला भन्नुस् न त हाम्रो घरको ढोकामा, पल्ला घरको अन्टीको ढोकामा दुबो किन सिउरेको त? जिद्धी गर्दै सोधिरहेकाले सुधालाई यस्को उत्तर नदिई सुखै थिएन।
‘हेर बाबु, दुबो एउटा यस्तो शक्तिशाली झार हो जुन झार हाम्रो टाउकोमाथि पर्यो भने हाम्रो मस्तिष्कमा बसेको तनाव हटाइदिन्छ। त्यसैले हामी दिनभरि अफिस स्कुल अथवा कतै गएर आउँदा अनेक तनाव हामीसँगै आइरहेको हुन्छ। हामी ढोकाबाट घरमा छिर्दा हाम्रो मस्तिष्कको तनाव ढोकाको दुबोको शक्तिको प्रभावले हटाइदिन्छ अनि फ्रेस मुडमा घर पस्न पाइन्छ।
खुसी मन सबै जनासँग हाँसीखुसी गर्न पाइन्छ भनेर प्राय सबै जसो हिन्दूधर्मीहरू वर्षैपिच्छे नागपञ्चमीमा नागको तस्बिरसँगै दुबो सिउरिने चलन छ।
सविनले सोध्यो,‘हो र मम्मी, दुबो सिउरिएपछि घर पस्दा रिस हराउँछ?’
होको टाउको हल्लाई सुधाले।
एकछिन सोचेर फेरि बोलायो सविनले, ‘मम्मी, किन फेरि के भयो? मम्मी, किन हाम्रो बाबा राति रिसाउँदै घर आउनुहुन्छ अनि तपाईसँग झगडा गर्नुहुन्छ? तपाईलाई पिट्नुहुन्छ अनि तपाई लुकीलुकी रुनुहुन्छ?’
त्यो एक कक्षामा पढने अबोध छोराको गहन प्रश्नले सुधाको मुटुमा भक्कानो पार्यो। आँखाहरू रसाए। भरे श्रीमान् आएपछि पाउने वचन र मुक्काको प्रहार सम्झेर।
५) भनेको गर्नु /गरेको नगर्नु
‘भाइबैनीहरू, चुरोट सेवनले खोकी लाग्ने, दम रोग लाग्ने, क्षयरोग लाग्ने, निद्रा नलाग्ने र अन्त्यमा क्यान्सर जस्तो भयानक रोगको सिकार बन्नुपर्ने हुन्छ। त्यसैले हामीले कहिले पनि कसैले पनि धूमपान गर्नु हुँदैन।’ रामकृष्ण मास्टर घाँटी तन्काउँदै पाँच कक्षाको स्वास्थ शिक्षा विषय पढाउँदै थिए।
‘धूमपान लिन्छ ज्यान’ ब्ल्याकबोर्डमा लेखिएको थियो। विद्यार्थीहरू चाख दिएर सुनिरहेका थिए। सबै विद्यार्थी यस्तो स्वस्थलाई असर पार्ने कुरा कसैलाई खान नदिने अठोट मनमनै गरे।
मास्टरको कुरा अभिनवले ध्यानपूर्वक सुनिरहेको थियो। अभिनवले मास्टरलाई सोध्यो,‘सर,सुर्ती, खैनी, गुट्खा, पानपरागले हाम्रो स्वास्थमा कस्तो असर पार्दछ?’
अभिनवको प्रश्नले मास्टर खुसी हुँदै भन्छन्, ‘अभि तिमीले राम्रो कुरा सोध्यौ। चुरोटले जस्तै सुर्ती, खैनी गुट्खा र पानपराग जस्ता सुर्तीजन्य पदार्थले पहिला सुरुमा सास गनाउने अनि दाँत किराले खानेर गिजामा घाउ आउने, राति निद्रा नपर्ने, सम्झ्निे शक्ति घट्दै जाने, नकरात्मक सोचाइ आउने, अन्त्यमा मुखको क्यान्सर भै मृत्युसम्म हुनसक्ने हुनाले यो सुर्तीजन्य र चुरोटजन्य पदार्थलाई निर्मूलीकरण गर्न सबैलाई प्रेरित गर्नुपर्छ। यस्ता पदार्थहरु आफू पनि सेवन नगरौ र अरूलाई पनि सेवन नगर्न सुझाव दिऊँ।’
सबै विद्यार्थी आफ्ना बाआमा र आफन्तहरूलाई कसरी यो धूमपान र सुर्तीजन्य पदार्थको लत कसरी हटाउने भन्ने सोचाइमा डुबिरहेका थिए।
टिनिनि घण्टी बज्यो। मास्टर साब कक्षा बहिर निस्किए। सबै विद्यार्थी पनि बाहिर निस्किए हाफ टाइम।
अभिनवलाई पिसाब लागेकाले ऊ शौचालयतिर गयो। शौचालय पछाडिबाट चुरोटको धुवाँ आइरहेको थियो। अभिनव धुवाँ आएतिर गयो। रामकृष्ण मास्टर चुरोट तानिरहेका थिए। मास्टर र अभिनवका आँखा चार भए।
अभिनवले सोध्यो, ‘सर, चुरोट खान हुन्न भन्नुभएको हैन त?’
मास्टरले भने, ‘हेर केटा, सरले भनेको गर्नु र गरेको कहिल्यै नगर्नु।’
प्रकाशित: २० भाद्र २०७९ ०६:४० सोमबार