एडसन चाम्लिङ
उकुसमुकुस, छटपटी र बेचैनीले
तन, मन र मष्तिस्कमा
प्रलय नै भित्र्याउन खोजेपछि
पुनः सातौं पटक
समयसूचक उपकरण नियाल्न बाध्य भएँ म।
अहँ,अझै सुरसार छैन उज्यालो हुन
अत्तोपत्तो छैन पूर्वी दिशातर्फ
प्रभातकालीन घामका किरणहरू फैलन।
अब उज्यालो दिन देख्न,
सूर्यको चमक र न्यानोपन अनुभूति गर्न,
सुनौलो जोस र ऊर्जाहरू छर्न,
अनि
सिर्जनशील पाउ र पाखुरा क्रियाशील बनाउन
मौका नपाइने हो त?
अन्योलमा छन् यी अनेक भावना
र
खाताखात छन् मेरा मानसपटल
तीनै भावनाहरूले।
कोसिस गर्छु निस्कन बाहिर
तर,
चारैतर्फ निष्पट्ट अन्धकार छ,
भयंकर कालो छिद्रजस्तै।
विशाल गगन तर शान्त छ,
नदीनाला सुसाएको बाहेक,
छैन कुनै आवाज।
नियाल्न खोज्छु ताराहरू आसमानमा,
तर छैनन् एउटै पनि,
न त छ चन्द्रको चाँदनी।
परिवर्तनशील समय आज अड्किरहेछ,
चलायमान समीरको वेग आज स्थिर छ,
गतिशील चन्द्रमा आज विश्राम छ,
चौतर्फी पर्यावरणमा आज मात्र निष्प्राण छ,
सम्पूर्ण सजीव र निर्जीव आज सन्नाटामा निमग्न छ।
लाग्छ मलाई,
आफ्नो कक्षमा पृथ्वी घुम्न छोड्यो कि त कतै?
नष्ट भई सूर्य,
उज्यालो छर्न छोड्यो कि त कतै?
समाप्त भई प्रकृति, नियम चलाउन छोड्यो कि त कतै?
गुमीकन अस्तित्व ब्रह्माण्डको,
शून्यतामा विलीन हुन पुग्यो कि त कतै?
हैरान परिसकें म
चुलबुलता र उत्सुकताले,
अनि
पाउदेखि शिरसम्मको
कायकल्पित र फिक्रित भावहरूले,
तर पनि
प्राकृतिक विश्वासको आड लिई
राहतको श्वास फेर्ने गर्छु,
आस्तिक भावनाले
अन्तस्करणको दीप बाली,
आस गर्ने गर्छु
खालि फेरि पनि
फर्केर आओस् त्यो अनन्त उज्यालो बिहानी,
मेरो अथक प्रतीक्षा र धैर्यले
उदय होस् परम मौलिक सभ्यताको,
स्वीकार्न पाउन् सबैले
चिरञ्जीवी प्रभातलाई
र
आगमन होस पुनः सुन्दर संसारको।
प्रकाशित: १७ भाद्र २०७९ ०७:२१ शुक्रबार