२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

समझदार श्रीमान्

लघुकथा

अवतार ढकाल

१) फोहोर

पालैपालो टेलिभिजनका च्यानलहरू फेर्दा पनि सबैमा एउटै दृश्य देखाइरहेको थियो। उही जताततै फोहोरको डङ्गुरले भरिएको कुरूप काठमाडौं।

‘बाबा, अस्ति नै चुनावको समयमा हाम्रो गाउँमा निकै फोहोर थियो। अहिले त्यस्तो देखिंदैन तर काठमाडौंमा चाहिं किन त्यत्रो विधि फोहोर?’ छोराले बाबुसँग जिज्ञासा राख्यो।

‘तिम्रो प्रश्नमै जवाफ छ। एकपटक राम्ररी सोच त।’ बाबुले भने।

छोरो एकछिन सोचमग्न भयो र एकछिनपछि खुसी हुँदै भन्यो, ‘ए बुझें बाबा।’

‘के बुझ्यौ?’ बाबुले सोध्यो।

‘चुनाव आएपछि काठमाडौबाट फोहोर देशैभरि छरिंदो रैछ। चुनाव सकिएपछि फेरि देशैभरको फोहोर काठमाडौमा थुप्रो लाग्दो रहेछ।’

२) राष्ट्रियता

‘स्वदेशी जुत्ता पसल’ बोर्डको सबैभन्दा सिरानमा ठूला र आकर्षक अक्षरमा लेखिएको थियो। त्यसमुनि ठेगाना र त्योभन्दा तल अलिक सानो आकारमा लेखिएको थियो, ‘स्वदेशी सामान प्रयोग गरौं। राष्ट्रियता जगेर्ना गरौं।’

पसलको नाम र यसको नारा बहुत मनपर्‍यो मलाई। कुन देशी हो भन्ने थाहै नपाई किनेर लगाएको जुत्ताले विदा माग्नै लागेको थियो। जुत्ता किन्नुपर्ने आवश्यकताभन्दा बढी पसलको साइनबोर्डले तानेर पसलभित्र पुर्‍यायो।

अभिवादनपछि ठट्यौलो पारामा साहुजीलाई सोधें, ‘नाम र काम मिल्छ कि मिल्दैन साहुजी?’

‘ढुक्क हुनुस् यो नारा मात्र होइन। प्रतिबद्धता हो।’ उसले रूखो स्वरमा जवाफ फर्कायो।

सबै जुत्तामा एकसरो नजर लगाएपछि एउटा अलिक मनपर्दो जुत्ता हातमा लिएर केहीबेर हेरें। ‘मेड इन नेपाल’ लेखिएको स्टिकर मिलाएर टाँसिएको थियो। यसो कोट्याएर हेरेको स्टिकर फुत्तै उक्कियो। बाहिरको स्टिकर निस्केपछि भित्र त ‘मेड इन...।’ पो रैछ। जे होस् नेपाल थिएन।

३) यात्राहरू

गत वर्ष पनि पहाडको फेदीबाट ठ्याक्कै यसैगरी उकालो लागेको थियो गाडी। श्रीमान् र  श्रीमती यसै गरी बसेका थिए एउटै सीटमा।

‘आहा हेर्नू न! पहाड सुरु हुनेबित्तिकै कति मीठो हावा चलेको। शरीरमा छुट्टै आनन्द आउन थाल्यो। ऊ हेर्नु त त्यहाँ रातै लालीगुराँस। आहा,कस्तो हरियाली पहाड जता पनि हरियाली मात्र!  त्योपारिको चट्टानेभीर पनि कति सुन्दर, नेशनल जोग्राफीमा देखाउनेजस्तो।

अहो, सेतो हिमाल! तपाईं यी सबै खिच्नु है मोवाइलमा। म त आँखाभरि हेर्छु।’ बहुत उत्तेजित हुँदै हरेक कुराको वर्णन गरेकी थिइन् श्रीमतीले।

यस वर्ष पनि उही नभए पनि उस्तै थियो सबै कुरा। गत वर्षको भन्दा अझ आरामदायी गाडी। झन् सुन्दर पहाड र टाढा देखिने अझ सुन्दर हिमशृङ्खलाहरू।

गाडी पहाड उक्लन सुरु गर्नेबित्तिकै श्रीमतीले भन्न सुरु गरिन्ः पहाड लाग्नेबित्तिकै मलाई त रिंगटा लाग्न सुरु भयो। सधैं यस्तै हुन्छ। उफ बाटो पनि कति घुमाउरो हो ...। कति हल्लाउने हो गाडीले पनि। टाउको दुखेर मर्न लागि सकें। मलाई त वमिट हुन्छ जस्तो छ। हेर्न राम्रो भएर मात्र के गर्नु आदि।’

‘वमिट रोक्ने, टाउको दुखाइ कम गर्ने औषधि खान्छ्यौ त?’ उसले काननिरै मुख लगेर साउतीको स्वरमा सोध्यो।

उनले नाई सूचक टाउको मात्र हल्लाइन्। चुपचाप।

उसको दिमागमा गत वर्षको यात्राभरको श्रीमतीको हौसला आउँदै-जाँदै गरिरहयो। साथै एउटा अव्यक्त पीडा पनि।

गत वर्ष विदा मनाउन उनीहरू अर्कै पहाडतिरको यात्रामा थिए र यो वर्ष उसको पहाड घर।

 ४) चाहना

‘होइन, तँ फेरि आइहालिस्? अस्ति मात्र ग’को होइन?’ कोठाभित्र पस्दा आमाछोरा कुरा गर्दै बसिरहेको देखेपछि हरे रामले छोरातिर आँखा तर्दै भने।

सुभद्राले श्रीमानलाई भनिन्,‘निस्तायो होला आयो। तपाईं किन गाली मात्र गर्नुहुन्छ?’ 

‘तिमी मात्र यसलाई माया गर्ने र मचाहिं नगर्ने हो? त्यत्रो खर्च गरेर होस्टलमा राखेको कसका लागि? उसकै भविष्य सुध्रियोस भनेर होइन?’ उनी श्रीमतीमाथि खनिए।

सुभद्राले भनिन्,‘भोलि बिहानै जान्छु भनेको छ। अब कराएर हुन्छ?’

‘हेर सुभद्रा! उहिले हाम्रा बुबाआमाले हामीलाई यत्तिको सुविधा दिन सक्या भए हामी कति धेरै प्रगति गर्थ्यौं होला। कति दुःख गरेर यत्तिको हैसियत बनाइयो। यसकै भविष्यको लागि त हो हामी दुवै जना यसरी घोटिनुपरेको।’ उनले घरी छोरातिर र घरी श्रीमतीतिर हेर्दै भने।

‘बाबा, तपाईले जे पाउनु भएन त्यो त मेरा लागि दिनुभयो तर जतिसुकै सम्पत्ति भए पनि किन्न नसकिने चिजका लागि मझैं तड्पिनुभयो?’ छोराले भन्यो। उसको बोलीमा आत्मविश्वास थियो।

‘बडा दार्शनिक कुरा गरिस् त। के हो त्यस्तो कुरा? मैले के दिन सकिन हँ तँलाई? के छ तेरो चाहना?’ उनले रिसाउँदै प्रश्न गरे।

‘बाबुआमाको सामीप्य।’ उसले जवाफ दियो।

 ५) समझदार श्रीमान्

तीजको व्रतको दिन थियो। आफ्नो धर्म र संस्कारप्रति बहुत आस्था र सम्मान थियो शारदामा। बिहानैदेखि श्रीमानको दीर्घायुको निम्ति एक थोपा पानी पनि नखाई व्रत बसेकी थिइन्।

‘तपाईं जस्तो विवेकी श्रीमान् परेर मात्र हो नत्र त मरिसक्थें होला म। कहिलेकाहीं त आफैंदेखि दिक्क लागेर आउँछ।’ श्रीमानलाई रातिको खाना खुवाएर उनी ओछयानमा ढल्किएपछि शारदाले भनिन्।

श्रीमान बोले,‘ह्या, यस्ता कुरा छाडिदेऊ। जीवनसाथी भएपछि एक अर्काको शरीरको अवस्था र चाहना बुझ्नुपर्छ। के भएको छ र?’

‘धन्न मलाई समझदार बूढो जुराइदिएछन् भगवानले। कहिलेकाहीं साथीहरूले आफ्ना बुढाहरूका कुरा गरेको सुन्छु। त्यस्तो भए त म त कहाँ बाँच्थें र भनेझैं लाग्छ।’ श्रीमानको प्रशंसा गर्दै उनले भनिन्।

आफूले लगाइराखेको टिसर्ट खोलेपछि स्यान्डो मात्र लगाएर उनी डङ्ग्रङग पल्टिए। शारदा भोलिपल्ट पढाउनुपर्ने विषयको तयारी गर्न लागिन्।

श्रीमान् लोभलाग्दो गरी निदाइरहेका थिए। उनको देब्रे छातीमा चोटझैं देखेर नजिकै आँखा पुर्‍याएर हेरिन्। दाँत गाडिएर बनेको गोलाकार आकृित मेटिन लागेको चित्रजस्तै देखिइरहेको थियो।

प्रकाशित: १६ भाद्र २०७९ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App