११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

बाबा, किन रोइसिन्छ?

लघुकथा

१) बाबा, किन रोइसिन्छ?

जन्मदिन मनाउने खास उत्साह थिएन मलाई। बेलुकाको खाना खाएपछि छोराले भन्यो, ‘बाबा, भोलि म साथीहरूसँग चन्द्रागिरि जान्छु। पैसा दिइराख्नू पन्ध्र सय।’

मेरो उत्तर नपर्खिंदै छोरीले भनी, ‘लौ, भोलि त बाबाको जन्मदिन हो नि। सेलिब्रेट गर्नुपर्छ।’

छोराले झर्किँदै भन्यो, ‘हत्तेरी, यो बाबाको बर्थ डे पनि भोलि नै पर्नुपर्छ त।’

मेरो दिमागमा सर्र पोहोरको जन्मदिनको उल्लास खेल्यो। श्रद्धाले भव्य तयारी गरेकी थिई। केक काटिएको थियो। दुईचार इष्टमित्र र साथीभाइ थिए। पशुपति गइएको थियो। पुरेतले अष्ट चिरञ्जीवीको पूजा गरेका थिए। अनि उसले घाममा तेल मालिस गरिदिएकी थिई। उसले मेरो मन प्रसन्न हुने खानेकुराहरू तयार गरेकी थिई र केही उपहारहरू नि थिए।

रात कम रंगीन थिएन।

उल्लासमय जन्मदिनको दुई महिना नपुग्दै हामीले दसैंको मुखमा दाम्पत्य जीवनलाई टुंग्याएका थियौं। कुनै ठुलो झगडा थिएन। अहंकारले झुक्न मान्दै नमानेपछि हामीले कुनै इष्टमित्रका कुरा पनि सुनेनौं। एक अर्काका बैगुनहरूलाई अतिरञ्जित गरेर सुनायौं। जिन्दगीका जति पनि राम्रा क्षणहरू थिए ती सब महाभूकम्पपछिको भग्नावशेष भइसकेका थिए।

पारपाचुकेको दिन घरमा फर्किसकेपछि गहन अन्धकार र बाँकी जिन्दगीको दुरूह बाटाल बिउँझाएको थियो मलाई।

छोरीले सब तयारी गरी। मलाई नुहाउन सम्झाई। पुरेत थिएनन्। घर नजिकैको मन्दिरसम्म नि उसैले लगी। छोराले चन्द्रागिरि योजना रद्द गर्‍यो। दिदीले अह्राएअनुसार मलाई उपहार दिएर गोडा ढोगिदियो उसले। छोरीलाई मैले नै टीका लगाइदिएँ र ढोगदक्षिणा गरें। ल्यान्डलाइनमा घण्टी बज्यो। भाइचाहिं उठेन, दिदी गई। उसले अँअँ र हसहस् मात्र भनी चारपाँच पटक।

‘कसको फोन?’ भाइले सोध्यो।

ऊ केही बोलिन। मैले सोधें, ‘कसको फोन रहेछ नानु?’

ऊ निकैबेर चुप रही र भनी, ‘मम्मीको।’

मैले सारा अहंकारलाई तत्क्षण बिर्सिएँ र सोधें, ‘किन गरेकी नि?’

‘बाबालाई पशुपति लिएर जानू र बुढाबुढीहरूलाई सय पचास रूपैयाँँ दान गर्नू रे।’

त्यसपछि मैले अरू केही सुनिनँ। छोरीले भनी, बाबा, किन रोइसिन्छ?’

२) सोनाम, मीनाक्षी र रामऔतार

उपमाध्यमिक तहको छोरो बाबुको छेवैमा बसेर टेलिभिजनमा कार्टुन हेरिरहेको थियो। उसले रिमोट दौडाइरहेको थियो। भारतीय कुनै च्यानलमा अर्धनग्न युवतीहरू भड्किलो नृत्य प्रस्तुत गरिरहेका थिए। बाबुले त्यसमा चाख दिइरहेको थियो तर छोराले हतपत त्यसलाई भगायो र रेस्लिङतिर पुग्यो। त्यसपछि ऊ एनिमल प्लानेटमा रोक्कियो। तिस सेकेन्डपछि उसले त्यसलाई पनि बदल्यो। बिबिसीमा समाचार आइरहेको थियो। छोरालाई समाचारको वास्ता थिएन। बाबु उत्तर कोरियाले हालसालै प्रक्षेपण गरेको ब्यालेस्टिक मिसाइलमा चाख दिएर हेर्न खोजिरहेको थियो।

भन्यो, ‘बाबु! पख न उत्तर कोरियाको मिसाइल हेरम।’

छोराले झर्किँदै भन्यो, ‘हाने हानोस्, त्यो मिसाइल अमेरिकालाई।’

उसले किन दक्षिण कोरिया र जापानको नाम नलिई अमेरिकाकै नाम लियो होला भनेर बाबुको मनमा लाग्यो।

च्यानल बदलिंदै जाँदा कुनै एक नेपाली च्यानलमा भावी प्रधानमन्त्रीको अन्तर्वार्ता आइरहेको थियो। बाबुचाहिंले छोरालाई एकछिन थामिन भन्यो। छोरो के थामिन्थ्यो?

उसले प्याच्च भन्यो, ‘हजुरले भोट दिएको पार्टीले हारिहाल्यो। हजुरलाई मन्त्री बनाउँदैन क्या रे।’

बाबुले अलि ठुलो स्वरमा भन्यो, ‘रोक् न रोक् मूला। भोलि तिमीहरूलाई विदेशमा कुल्ली बन्न नपठाउने। यहीं जागिर दिने भनेको छ उसले।’

छोराले भन्यो, ‘मेरा तीन जना साथी अमेरिका पुगिसके। सोनाम, मीनाक्षी, रामऔतार। म त प्लस टु सकेपछि डिभी हालेको हाल्यै गर्छु। ‘हुन्छ जा, देशको माया लाग्दैन भने।’

बाबुको अन्तिम वाक्यमा छोरो गम्भीर भयो। ‘हजुरलाई देशको माया छ र?’

बाबुले भन्यो, ‘नत्र म पनि त सोनाम र राम औतारको बाउजस्तै अमेरिकामा पुगिसक्थें नि मूला।’

यतिकैमा तीन कप चिया बोकेर श्रद्धा आइपुगी। छोराले सोध्यो, ‘ममी, डिभी भर्ने म्याद सकिनै लागिसक्यो। हामी पनि भरी हालौं न। बाबालाई त देशको माया लाग्छ रे। दिदी, म र हजुरको नाम मात्र राखेर भरौं हुन्न?’

बाबुको एउटा कान भावी प्रधानमन्त्रीले बाँडिरहेका सपनातिर र अर्को श्रद्धाको जवाफतिर थियो।

उसले भनी, ‘हुन्न छोरा। तेरो बाउलाई नि लैजानुपर्छ। तेरो बाउको मन साह्रै ठुलो छ। उनलाई एक्लै छाड्यो भने उनको मायाले धेरैको घर बगाउँछ। हैन त बुढा?’

३) मामा

उनी, म र छोरी थियौं बसमा। चन्द्रागिरि हिंडेका। बसबाट ओर्लिएपछि पछाडिपट्टिबाट अगाडि-अगाडि हिंडिरहेका कोही आफन्तको काया र कदमसँग दुरुस्त मेल खाने दृश्य आँखामा ठोक्कियो। सन्ध्याले नि देखिछे।

‘केदार मामा र माइजू होइन त्यो अगाडिको?’

छोरीले भनी, ‘हो त। ऊ भाइ र बहिनी पनि त आ’का रेछन्।’

मलाई टिकट नकिनुन्जेल मामा-माइजूको अगाडि परूँ कि नपरूँ भयो। सात चौका अट्ठाइस सयको मामिला थियो। छोरी हुत्तिंदै भाइबहिनीतिर गई। मैले सन्ध्यातर्फ फर्केर बिस्तारै भनें,‘अब मामाहरूको नि टिकट किन्नुपर्ने भयो। के साइतमा हिँडिएछ।’

‘के भो त, आफ्नै मामा माइजू हुन्। दसैंमा जाँदा कत्रो खातिर गर्छन्। कोसेली केके लाने भनेर सोध्छन्। विचरा,मामा  कति नै बाँच्लान् र, दमका रोगी!’

सन्ध्याले मन फराकिलो बनाई। मामाघरबाट प्राप्त हुने मासको दाल, गाईको घिउ, फापरको पिठो, सिलाम, तोरीको गुन्द्रुक, खुवा आदिमा उसको मन पग्लिएको हुनसक्थ्यो।

म अट्ठाइस सयमा हराइरहेको देखेर सन्ध्याले सोधी, ‘हजुरसँग कति छ? मसँग दुई हजार छ। लिस्योस्।’

मैले हातमा उनन्चास सय जम्मा गरें र दुई तीनपल्ट गनिरहें। उसले फेरि भनी, ‘छिटो गरिस्योस् न।’

टिकट किन्नुपर्छ भनेर भान्जा पछिपछि बसे भन्ने पर्छ।’ छोरी हामीतिर आई र भनी, ‘हजुरहरू के गरेर बसिसेको? मामाले हामी सबैको टिकट किनिसक्स्यो।’

४) छिटै घर आइस्यो बाबा

प्रहरी हिरासतमा परे पनि उसको अनुहारमा मैले कुनै बेचैनी वा भयको छाया देखिनँ। उसले मलाई धेरैपल्ट पढेको प्रख्यात कथा परिबन्दको याद दिलायो।

भन्यो, ‘दाइ, कसैको उद्धार र कल्याण गर्छु भन्न नहुने रहेछ।’

अफिसबाट फर्किँदा एकान्तकुनामा कुनै गाडीले हानेर बेहोस घाइते देखें। रातको १० बजेको थियो। मानवीय भावनाले अदेख गरेर हिंड्न सकिनँ। सकीनसकी गाडीमा राखेर अस्पताल पुयाएँ। इमर्जेन्सी कक्षमा डाक्टरले छुँदा नछुँदै घाइतेको ज्यान गयो।’

त्यसैबेला उसकी श्रीमती र ११ बर्से छोरी पनि त्यहाँ आइपुगे। च्यानल गेटभित्र कुनै भारतीय सिनेमामा देखाइने बन्दीको अवस्था सम्झाउने दृश्य पैदा भयो। हातमा बन्दूक लिएर एउटा सेन्ट्री उभिरहेको थियो। मायालाग्दो बन्दी र हामीबिच भएको कुराकानी सेन्ट्रीले चनाखो भएर सुनिरहेको थियो।

श्रीमती बुझ्थी कि लोग्ने निर्दोष छ र धरौटीमा भए पनि उनी रिहा हुनेछन्। थुनामा परेको बाबुलाई देखेर छोरीको मनोदशामा एकछिन डुबें म। स्कुलको युनिफर्ममै आएकी छोरीलाई बाबुले सोध्यो,‘स्कुलमा राम्ररी पढिराखेको छ नि?’

छोरीले टाउको हल्लाई। ‘पर्सि मंगलवार तिम्रो जन्मदिन हो नि है नानु?’ छोरीले मुन्टो हल्लाएर हो भनी।

‘आइतबारसम्म म पनि छुटिसक्छु अनि तिमीलाई सरप्राइज गिफ्ट ल्याइदिन्छु ल?’

त्यो सुनेर पालोमा बसेको पुलिसको अनुहार अलि भावुक भयो। त्यसैबेला बन्दी पक्षको वकिल त्यहाँ आयो।

बन्दीले भन्यो, ‘वकिल साब, आइतबार ४ बजेसम्म म छुटिसक्छु नि होइन?’

सुनिरहेकी श्रीमतीले वकिलको अनुहारमा आशलाग्दो दृष्टि टाँसी। वकिलले भन्यो, ‘सबै कुरा मिल्यो भने सोमबार बेलुकासम्म छुट्नु होला। अदालतको बयानको पालो कतिबेला आउँछ, त्यसमा भर पर्छ। हतारमा छु। अहिले म गएँ।’

वकिल गइसकेपछि उनीहरू तीन जना र म मात्र थियौं। पुलिस घडी हेरिरहेको थियो। उसले छोरीको निराश आँखातिर हेर्‍यो। पत्नी पनि निशब्द थिई मजस्तै।

पुलिसले भन्यो, ‘ल, अब तपाईंहरूको समय सकियो।’

बाबुले च्यानलगेट भित्रबाट छोरीको कपाल सुम्सुम्यायो। उसले आँखाबाट तप्तप् आँसु झारी। बाउचाहिं पनि भिज्यो।

छोरीले भनी,‘हजुर छिटै घर आइस्यो बाबा! गिफ्ट नभए नि हुन्छ मलाई।’

५) घाटा कसलाई भयो?

नर्सरीबाट दुई हप्ताअगाडि लेराएको पहे)लो गुलाफ थियो गमलामा। चार सय पचहत्तरको फूल। चार सय पच्चिसको गमला। आवरण च्यातेर अलिअलि चिहाएर संसार हेरिरहेको कोपिला, अर्धविकसित कोपिला र यौवनोमत्त पीत गुलाफ। ती कोपिला र फूलहरूको प्रेमिल दर्शन गरिसकेपछि प्रेमा शाहको पहेंलो गुलाफ किन लेखियो होला भनेर कुनै कथाकार सहजै बुझ्न सक्थ्यो।

घरमा जो आगन्तुक आउँथ्यो, ऊ त्यो फूल देखेर मुग्ध हुन्थ्यो। एउटा सेल्फी खिच्थ्यो र त्यसको एउटा हाँगो माग्थ्यो। श्रद्धा थिई त्यसको पहरेदार र स्वामिनी। उसले धेरैलाई हिउँदको भाका राखी। म जान्दथें कि हिउँदसम्म धेरै कुरा बिर्सिसकिनेछन्। छिमेकीहरू (लिंग उल्लेख गर्नु आवश्यक छैन।) गेटभित्र छिरिसकेपछि त्यो गुलाफ स्पर्श नगरी फर्किंदैनथे। सायद घर दियो भने ती लिंदैनथे तर त्यो पहेंलो गुलाफ दियो भने कुटाकुट हुनसक्थ्यो।

वर्षौपछि भेटघाटमा आएका उसको मामाका दुई छोरीमध्ये कान्छीले भनी, ‘दिदी, कस्तो राम्रो गुलाफ रहेछ यो। हँसिया दिनुस् न। एउटा हाँगो लैजानुपर्‍यो।’

श्रद्धाले भनी,‘अहो मुना! अरू सबै फूल माग। यो पहेंलो गुलाफ नमाग।’

‘एउटा सानो हाँगा काट्दा के हुन्छ त?’ मुनाले अन्तिम प्रयास गरी। श्रद्धाले भनी, ‘म बरु तिमीहरूलाई पछि यस्तै एउटा बिरुवा किन्दिन्छु।’ श्रद्धाले हाँगा काट्न मन्जुर गरिन।

मलाई राम्रो लागिरहेको थिएन यो सब। आँखाले इसारा गरें श्रद्धालाई ‘एक हाँगा दिएर के भयो त?’

उसले मेरो कुरालाई इन्कारी गरी। आखिरमा मुनाले भनी,‘नमागी काट्नुपर्ने रैछ। बरु दिदीले नसोधी काटेर लानुभयो एउटा हाँगा। मैले बेक्कारमा सोधिछु।’

श्रद्धा गमलाको नजिकै पुगी र फेदैदेखि काटिएको हाँगोको डोब छामी। उसको मनमा के भइरहेको थियो मैले देखिनँ।

मुनाले भनी,‘भिनाजु, मलाई बसपार्कसम्म छोड्दिस्योस् न।’

घरबाट अलिपर पुगेपछि मुनाले भनी, ‘पहिला त्यो पहेंलो गुलाफ पाइने नर्सरीमा लैजानू भिनाजु।’

त्यहाँ उसले फूल र गमला दुवै किनाई मलाई।

प्रफुल्ल मुद्रामा उसले सोधी, ‘भिनाजु! घाटा कसलाई भयो? दिदीलाई कि मलाई?’

(‘बाको कोट’ लघुकथासंग्रहमा सङ्गृहीत।)

प्रकाशित: १३ भाद्र २०७९ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App