अन्जना पौडेल ‘अनुश्रुति’
मेरा बा हुनुहुँदो हो त
मेरो मन अर्कै हुँदो हो
मेरा बा हुनु हुँदो हो त
कुरै अर्कै हुँदो हो
रनवन अर्कै हुँदो हो
मेरो जीवन अर्कै हुँदो हो
बाको मुख हेर्ने दिन विशेष-विशेष
म बालाई मनपर्ने फलफूल
मिष्ठान्न
किन्ने थिए होला
बालाई मनपर्ने आस्कोट किन्ने थिए होला
बालाई कर गरेरै
यो लगाउनु बा
त्यो खानु बा
भन्थे हुँला
बासँगै बसेर सेल्फी फोटो खिच्थे होला
टिकटक बनाउँथे होला
बाले फेरि आफ्ना लामा जुगामा ताउ लाउँदै
सोध्नुहुन्थ्यो होला
सानु तिमीलाई के लाउन मन छ नि तीजमा?
मैले हाँस्दै बुबाको आखामा हेर्दै भन्थे हुँला
मलाई केही चाहिंदैन बा!
हजुरले यतिसम्म सक्षम बनाइदिनुभो
योभन्दा राम्रो र महंगो उपहार के र बा?
मैले यस्तैयस्तै भन्थे होला!
बाले आमाको हातमा
खुसुक्क पैसा दिनुहुन्थ्यो होला
सानी छोरीलाई
केही त किनिदेऊ
भन्नुहुन्थ्यो होला।
बजार पुगेर
आमाले कर गरीगरी
मलाई मनपर्ने सामान
रोज्न लगाउनुहुन्थ्यो होला
बजारबाट घरमा आएपछि
बाको अगाडि
लगाएर म मक्ख पर्थे होला
मेरा बाआमा
मलाई हेरिहेरि दंग पर्नुहुन्थ्यो होला!
यस्तैयस्तै गरेर
बा र छोरीको
मनको लुकामारी
मनको दोहोरी
चलिरहन्थ्यो होला!
प्रकाशित: ११ भाद्र २०७९ ०७:१८ शनिबार