४ असार २०८१ मंगलबार
image/svg+xml
कला

नेपाली गजलका नवीनता र मोतीराम भट्ट

राजकुमार खड्गा

नेपाली गजल साहित्यका महानायक भनेर चिनिनुभएका मोतीराम भट्टको १५८औं जन्म जयन्तीको अवसरमा देशविदेशमा समेत विभिन्न कार्यक्रम गरी मनाइने  गरिन्छ। १९२३साल भाद्र २५ गते कुशे औशीका दिन जन्मिनुभएकाले मोतीराम भट्टको जन्मजयन्ती पनि आजकै दिन मनाइछ। शृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यको मूल फुटाउन सफल भएकाले मोतिराम भट्टलाई शृङ्गार कविको रूपमा पनि चिनिन्छन्।

कथा,कविता, नाटक, निबन्ध, लेखनमा पनि कलम चलाउनुभएको थियो। उहाँको मृत्यु ३० वर्षकै अल्पायुमा नै १९५३ सालको कुशे औसीकै दिन भएको थियो।

माध्यमिककालीन नेपाली शृङ्गारिक साहित्यका प्रेरक कवि मोतीराम भट्टको जन्म जयन्ती विभिन्न कार्यक्रम सहित विश्वव्यापी मनाउँदै आएको छ। उहाँ नेपाली सहितको माध्यमिक कालखण्डका मेरुदण्ड, निर्माता र पथप्रदशकको रूपमा रहनुभएको छ।

यस अवसरमा नेपाली साहित्यकारहरूले मोतीराम भट्टका कथा,कविता, निबन्ध र अझ खास गरी गजल लगायतका अन्य साहित्यिक रचनाहरू वाचन र चर्चा गर्छन्। भट्टकै साहित्यक धारणाका कारण १९४० देखि १९७६ सालमा नेपाली साहित्यमा बेग्लै प्रकारको बहाव र युगकार्य भएकाले यस समयलाई मोती युग समेत भन्ने गरिन्छ। मोतीरामका गजल र पिकदुत अनुवाद ग्रन्थ विशेष साहित्यिक कृति हुन्। मोतीराम भट्टले गजल विधलाई नेपाल भित्याएका थिए।

गजल के हो?

यहाँनेर गजलको आक्षरिक अर्थ दिंदा

ग+ज+अल=गजल भएको रहेछ।

ग=को अर्थ स्त्री वा नारी

ज=को अर्थ वार्ता वा वाणी

अल=को अर्थ भन्ने हुन्छ।

अत: समग्रमा गजलको शाब्दिक अर्थ नारीसँग गरिने वार्तालाप अर्थात् कुराकानी नै गजल हो। अथवा प्रेमिकासँगको प्रणय वार्ता भन्ने पनि बुझिन्छ।

गजलका तत्त्वहरूको बारेमा जानकारी दिम। गजल लेख्दा केके कुराहरूमा ध्यान दिनुपर्छ? कहाँ ?कसरी? प्रयोग अनुप्रयोग गर्नुपर्छ? यो तलको गजल पढ्नुहोस्।

शीर्षक म

शुद्ध एउटा प्रवासी खोज्दैछु,

खासमा बहुभाषी खोज्दैछु।

दुनियाँ सारै नै बेखबर भयो,

यहाँ करुणा राशि खोज्दैछु।

यहाँ यस्तो स्तम्भ चाहिएको छ,

बलात्कारीलाई फाँसी खोज्दैछु।

मान्छे जाति दुखमा सधैं रुन्छन्,

राजकुमार हाँसीहाँसी खोज्दैछु।

मान्छे-मान्छे बीच विभेद गर्छन् ,

मुलुकमा मुलुकबासी खोज्दैछु।

देश बनाउछु भन्ने त धेरै आए गए,

तर गाउँको अभिलाषी खोज्दैछु।

दासदासी मुक्त क्षेत्र भनिन्छ यहाँ,  

मुक्त भएका दासदासी खोज्दैछु।

 (राजकुमार खड्गा)

यहाँ माथिको नमुना गजल पढिसकेपछि बुझ्नुपर्ने कुरा केके हुन त? शुरूवातमा शीर्षक हुन्छ माथिको गजलमा ‘म’ शीर्षक हो। त्यसपछि हामीले सिधै हेर्दा १४ हरफ पाउँछौ। ती १४ हरफलाई गजलको भाषामा मिसरा वा मिस्रा भनिन्छ।

अत: यहाँ १४ मिसरा छन्। माथिको गजलमा रहेका २ मिसरालाई शेर भनिन्छ। अथवा २  मिसराको संयोजनबाट एउटा शेरको निर्माण  हुन्छ। त्यसैले यहाँ पूरा ७ शेर छन् भन्दा फरक पर्दैन। माथिको गजलमा प्रथम शेरको प्रथम मिसरालाई मिसरा ए-उला भन्निछ। दोस्रो मिसरालाई मिसरा ए-सानी भनिन्छ। माथिको गजलको पहिलो शेरलाई मतला/ मत्ला भनिन्छ र अन्तिम शेरलाई मकता/मक्ता भनिन्छ।

गजलमा मुख्य २ तत्व हुन्छन्। ती हुन् रदिफ र काफिया क्रमश: प्रवासीको ‘वासी’ ‘बहुभाषीको भाषी, रासी,फासी, हासी, बासी, अभिलाषीको ‘लाषी’,दासदासीको‘दासी’ छन्।

ती सबै काफिया हुन्। चौथो सेरको मिसरा ए सानीमा आएको ‘राजकुमार’ तख्लुस हो अर्थात् लेखकको नाम जोडिएको हुन्छ। त्यस्तै ‘खोज्दैछु’ रदिफ हो। यहाँ बुझ्नुपर्ने कुरा जहिल्यै काफिया रदिफभन्दा पूर्ववर्ती हुन्छ। काफियापछि आउने रदिफ हो। विशेषता काफिया दुई प्रकारको हुन्छन्।

१. पूर्ण काफिया,

२.आंशिक काफिया।

यहाँ पूर्ण काफियाको बनावट यस्तो हुन्छ-गर्छु, मर्छु, चर्छु, छर्छु भने आंशिक काफियाको बनावट यस्तो हुन्छ-गरेर,बनेर भनेर,जलेर आदि।

अन्य काफिया पनि प्रचलितमा छ्न ती हुन-

क. एकाक्षरीय र

ख. हम काफिया।

क) यहाँ एकाक्षरीय काफिया भन्नाले आंशिक काफियाजस्तै नै हो। जस्तैःभुलेर,खाएर,पिएर,तरेर,लुकेर इत्यादि।

ख) हम काफिया भन्नाले जबर्जस्त बनाइएको हुन्छ तर रेडियोमा गाइएको गजल सुन्नुभएको छ भने यो कफिया बढी प्रयोग हुने गरिएको हुन्छ। गर्छु,हिड्छु,बर्सन्छु,फुल्छु इत्यादि ...!

अब अर्को कुरा गजलको अन्तिमको शेरलाई मक्ता÷मकता भनिन्छ। यसको शाब्दिक अर्थ समाप्त हो भने गजलमा लेखकले आआफ्नो नाम प्रयोग पनि गर्छन्। त्यो नामलाई तखलुस भनिन्छ।

समग्रमा भन्नुपर्दा समध्वनि र समक्षर भएको नै पूर्ण र सवल गजल हुन्छ। परम्परागत रूपमा बहरे गजल, गैर बहरे गजल,मुससल गजल, गैर मुससल गजल लेखिंदै आएका छ्न। पछिल्लोपटक नेपाली गजलमा केही नयाँ र फरक केही तर्क पनि अघि सारिंदै आएको छ।

प्रारम्भमा गजलसम्बन्धी ती तथ्यहरू मनन गरौं।

१) गजल फारसी भाषाबाट हिन्दी हुँदै नेपालीमा आएको हो।

२) थालनीमा यो प्रेमभाव प्रकट गर्ने कलात्मक अभिव्यक्तिको रूप हो।

३) यो अत्यन्तै कम संख्याका सर्जकहरूले मात्रै रचना गर्न सक्थे,जसलाई शायर भनिन्थ्यो। यो उर्दूमा शायर भनेको कवि र शायरी भनेको कविता हो।

४) यो ठूलाठूला राजा महाराजा र नबावहरूलाई दरबार वा महफिलमा मात्रै मनोरञ्जनका लागि वाद्यवादन र नित्य भावभंगिमाका साथ प्रस्तुत गर्ने गरिन्थ्यो। यो सर्वसाधारण यसबाट लाभान्वित थिएन।

५) मोतीराम भट्टले नेपालीमा भित्याएपछि यसले सिँगार रसमा भक्ति रस समेत थपेर प्रस्तुत भयो।

६) प्रारम्भिक अवस्थामा गजलको पहिचान काफियाबाट हुने गरेको र अहिले पनि अलगअलग काफियाकै आधारमा गजललाई चिन्नु वा छुट्याउनुपर्ने बाध्यता छ।

७) मोतीराम भट्टको युगको तुलनामा अहिले हजारौं गुणा बढी गजल लेखिन्छ।

८) शिङ्गार र भक्ती रस मात्रै नभएर गजलबाट नौ बटै रस र आफुलाई लागेका जुनसुकै भाव व्यक्त गर्न सकिन्छ।

अब यी कुराहरू पनि बवचार गरौ।

१. एक भाषा वा क्षेत्रबाट अर्को भाषा वा क्षेत्रमा पुग्दा त्यहाको देश ,काल परिस्थितिसंग मिल्न गजलले परिवर्तन हुनु परेको छ।

२. भावगत रूपमा पनि सिमित भाव प्रकट गरिल्याएकोमा विविध भाव प्रकट गर्नेमा रुपान्तरित भएको छ।

३. अत्यन्तै कम सर्जकहरूले रचना गर्दा काफियाले नै पर्याप्त पहिचान दिन सक्थे तर अब यो लाखौंको संख्यामा हुँदा सर्जकहरूका काफिया जुध्न सक्छन् र भाव निकटता भएर मौलिकतामाथि प्रश्न उठन सक्छ,नक्कल गरेको शंका हुन सक्छ। जस्तै, सुदूर पश्चिमकै विपिन सलामी/देवकी निरौला र चितवनकै पुष्प अधिकारी अञ्जली/गोर्खे साहिलो वा झापाका टंक आचार्य/सुमित्रा वाङ्देल चेली /धनगढीकै श्रेष्ठ प्रिया पत्थर,विराटनगरका भक्तिप्रसाद पौडेलकै/अमेरिकामा बस्ने पुष्कर बराल,नुवाकोटकै सुमित्रा सुमि / पाँचथरकी अधिकारी बिमला/शान्ता गौतम,पाँचथरकै गणेश भण्डारी र पोखराका प्रकट पंगेनी/धादिङकै सीता प्याकुरेल अथवा काभ्रेकी रेणुका भट्टराई हुन्/ पाँचथरकै राजकुमार खड्गा अथवा इलामकै रिता पोख्रेल /तेह्रथुमका विजय सुब्बा/केशु विरही आदिले गरेको,छरेको चरेको,परेको,मरेको जस्ता काफिया प्रयोग गरेका हुन सक्छन्।

४) काफिया समताले गर्दा कसको गजल वा कसकसको गजल भनेर सम्झिन पनि गजलको यो बाढीमा समस्यै पर्छ अनि लयात्मक र कवितासँग नजिकको धर्म निर्वाह गर्ने हुनाले पनि कविताको छुट्टै शीर्षकले पहिचान दिएझैं यसको पहिचान दिन पनि छुट्टै शीर्षक वा स्वतन्त्र शीर्षक चाहिन्छ  र गजललाई अब नेपाली पहिचान सहितको गजल बनाइनुपर्न भएको छ।

५. सीमित व्यक्ति,नबाब वा राजामहाराजहरूको मनोरञ्जनको साधन भएर सुन्दरीका नख-शिख वर्णन गर्ने कुरामा मात्र नरहेर यो अब आम साहित्यानुरागीको अभिव्यक्तिको माध्यम र विविध भाव व्यक्त गर्ने माध्यमको रूपमा परिवर्तित विकसित भैसकेको छ।

६.शृङ्गार भक्ति रसमा मात्रै नरहेर अन्य विविध भाव,रसहरूमा समेत पुग्नु र रहनु भनेको पनि परिवर्तन हो। क्षणक्षणमा नवीनतातिर जानु नै पनि रमाइलो हुनुको अर्थ हो। अर्थात् परिवर्तनतिर जानुपर्छ। कुनै पनि वस्तु यथास्थितिमा कहिल्यै रहँदैन। क्षणक्षणमा परिवर्तन भैरहेको हुन्छ। त्यसैले परिवर्तनलाई नपत्याउनेले नस्विकार्नेले धोका खानुपर्छ।

अबको गजलमा स्वतन्त्र शीर्षक हुन्छन् र हुनुपर्छ। गजलमा सवालजवाफ हुन्छ्न्। काफिया नै काफियाका गजल हुन्छन्। बालगजल,लोक गजल आदि गजलका नवीनता हुन्,हुनुपर्छ र हुन्छन् अब। आयातित गजल विधालाई छुट्टै नेपाली गजल विधामा विकास हुनुपर्छ र भएको छ। अब नेपाली गजललाई समृद्धितर्फ अगाडि बढाउनुपर्छ।

प्राज्ञ बुँद रानाको ‘बुँद’ तख्लुस प्रयोग गरिएको एउटा सशक्त नमूना गजल।

निम्तोबिना ढलक्कै ढल्केर बूँद आयो,

हो यो पुरानु बानी पल्केर बूँद आयो!

केको वसन्त कस्तो बर्खा कुरेर बस्नू,

प्यासी तमाम सम्झी छल्केर बूँद आयो!

पानी खन्याई आगो मार्छौ कमाल के भो?

सक्छौ भने निभाऊ सल्केर बूँद आयो!

प्यूनु पिएर आँसु सम्झेर रात रुन्चे,

एकाबिहान शीतमा झल्केर बूँद आयो!

मुर्छा खटाउँदै थ्यो बेजान बालुवामा,

माटो गलक्क गल्क्यो हल्केर बुँद आयो!

जल्ले निचोरी फाल्ने कसरत गरे मजाले,

तिन्कै निधारमाथि टल्केर बूँद आयो!                                           

प्रकाशित: ११ भाद्र २०७९ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App